‘इन्द्रेणी राष्ट्र’ को सपना अधुरै

मन्डेलाको सधैं समर्थन गर्ने टुटु अधिकारका लागि हिंसा प्रयोगमा भने असहमत थिए
एजेन्सी

केप टाउन — दक्षिण अफ्रिकामा रंगभेद अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा आइतबार निधन भएको छ । राष्ट्रपति सिरिल रामाफोसाले इसाई आर्क बिसप टुटुको मृत्युको पुष्टि गर्दै ‘दक्षिण अफ्रिकाको स्वतन्त्रताका लागि टुटुले उल्लेखनीय सहयोग गरेको’ बताएका छन् ।

‘इन्द्रेणी राष्ट्र’ को सपना अधुरै

‘उनको मृत्यु उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको अध्याय हो,’ राष्ट्रपति रामाफोसाले भनेका छन् । उनले टुटु एक प्रतिष्ठित आध्यात्मिक नेता, रंगभेदविरोधी कार्यकर्ता तथा मानवअधिकारका वैश्विक प्रचारक भएको बताए ।

नेल्सन मन्डेलाका समकालीन टुटु दक्षिण अफ्रिकामा सन् १९४८ देखि १९९१ सम्म कायम रंगभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व थिए । सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेपछि टुटु देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत लोकप्रिय बनेका हुन् ।

सन् १९५३ मा विद्यालयमा रंगका आधारमा विद्यार्थी छुट्याउने कानुन बनेपछि टुटु शिक्षण पेसा छोडेर चर्च पसेका थिए । १९६० मा पादरी बने । सन् १९७६–७८ मा लेसोथोको बिसप, त्यसपछि जोहानेसवर्गका सहायक बिसप बनेका थिए । अर्को वर्ष उनी देशकै पहिलो अश्वेत आर्क बिसप बने ।

उनी सन् १९८६ देखि १९९६ सम्म आर्क बिसप थिए । चर्चको प्रभावशाली भूमिकामा रहँदादेखि नै टुटुले दक्षिण अफ्रिकामा हुने अन्याय र अत्याचारविरुद्ध आवाज उठाउन थालेका थिए । उनले आफ्नो व्यक्तित्व, विचार र कार्यका कारण सधैं श्वेत शासकहरूसँग संघर्ष गर्नुपरेको थियो । उनले भने जीवनभर आफ्नो संघर्षको उद्देश्य राजनीतिक नभई धार्मिक भएको बताइरहे । सन् १९९४ मा दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति बनेपछि मन्डेलाले अर्को वर्ष उनलाई रंगभेदकालीन समयमा दुवै समूहले गरेका अपराधको अनुसन्धान गर्न गठित सत्य निरूपण आयोगको प्रमुख नियुक्त गरेका थिए । श्वेत नेताहरूले ढाँटेको र अफ्रिकन नेसनल कंग्रेसले रंगभेदविरुद्धको संघर्षमा मानवअधिकार हनन गरेको उनको आरोपपछि भने दुवै पक्षले आयोगको प्रतिवेदन अस्वीकार गरेका थिए ।

रंगभेदी नीतिको अन्त्यपछि दक्षिण अफ्रिकाको बहुजाति मिश्रणलाई सम्बोधन गर्न टुटुले ‘इन्द्रेणी राष्ट्र’ को नाम दिएका थिए । पछिल्ला वर्षहरूमा भने उनले आफूले देखेको सपनाअनुसार दक्षिण अफ्रिका व्यवहारमा इन्द्रेणी राष्ट्र बन्न नसकेको बताउने गरेका थिए । अफ्रिकी चर्च प्रमुखका रूपमा उनले रंगभेदविरुद्धको अभियानलाई तीव्र पारेका थिए । सन् १९८८ मा उनले गरेको घोषणाले मानिसहरूका कान ठाडा भए । ‘हामी सरकारले जुत्ता पुछ्ने ढोकामा राखिने म्याटजस्तो हुन सक्दैनौं,’ त्यतिबेला उनले भनेका थिए । १९८८ मै उनले स्थानीय निर्वाचन बहिष्कारका लागि आह्वान गरेका थिए ।

फ्रेडरिक विलियम डी क्लेर्कले राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै गरेको सुधारसम्बन्धी घोषणाको भने टुटुले खुलेर स्वागत गरेका थिए । राष्ट्रपतिको घोषणामा अफ्रिकन नेसनल कंग्रेस (एएनसी) माथिको प्रतिबन्ध खुला गर्ने र सन् १९९० को फेब्रुअरीमा नेल्सन मन्डेलालाई जेलमुक्त गर्ने प्रतिबद्धता जनाइएको थियो । त्यसलगत्तै पादरीहरूले राजनीतिक दलमा आबद्ध हुन नपाउने टुटुको घोषणा भने अन्य चर्चहरूले आलोचना गरेका थिए । मन्डेलासहित नेताहरू जेलमा रहेका बेला टुटुले विभिन्न देशको भ्रमण गर्दै आफ्ना धारणा राख्ने गरेका थिए । उनले श्वेत रंगभेदको मात्रै नभई अश्वेत राजनीतिक सम्भ्रान्तको पनि चर्को आलोचना गर्थे ।

टुटुले सधैं मन्डेलाको समर्थन गरेका थिए तर अधिकार प्राप्तिका लागि हिंसा प्रयोग गर्ने विषयमा भने उनी सधैं असहमत थिए । पछिल्लो समय उनले ‘दक्षिण अफ्रिकाको नयाँ अश्वेत बाहुल्य सरकारले गरिबी निवारणमा कुनै चासो नदिएको’ भन्दै एएनसीको कडा आलोचना गरेका थिए ।

टुटुले ‘होटल र विमानस्थलमा धाउनभन्दा क्रिकेट हेर्दै चिया पिएर समय बिताउने’ भन्दै सन् २०१० मा सार्वजनिक जीवनबाट संन्यास लिए । सन् २०१४ मा स्वमृत्युवरणको पक्षमा बोलेपछि भने उनी विवादित बनेका थिए । अशक्त मानिसलाई आफूले चाहेका बेला मर्न पाउने अधिकार हुनुपर्ने उनको भनाइप्रति चर्चका अगुवाहरूले आपत्ति जनाएका थिए । सन् १९३१ मा उत्तरपूर्वी राज्यमा जन्मिएका टुटुले लन्डनको किङ्स कलेजमा अध्ययन गरेका हुन् । उनका श्रीमती र चार सन्तान छन् ।

प्रकाशित : पुस १२, २०७८ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?