१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तालिबानका तीन महिना : भोकमरीबाट १० लाख बालबालिका मृत्युको मुखमा

काठमाडौँ — मध्य अगस्टमा तालिबानले सत्ता कब्जा गरेयता तीन महिना बितिसकेको छ । यसबीचमा तालिबानले सरकार गठन गरिसक्यो । तर समय घर्किँदै गर्दा अफगानिस्तान गहिरो संकटतर्फ उन्मुख छ । अफगानिस्तानको अवस्था झन् बिग्रँदै गएको छ ।

तालिबानका तीन महिना : भोकमरीबाट १० लाख बालबालिका मृत्युको मुखमा

विशेषगरी चिसो मौसम सुरु भएसँगै यहाँका अधिकांश मानिसले खाद्य संकट सामना गर्नुपरेको छ । विभिन्न अधिकार समूह तथा संस्थाले यस्तो अवस्थाप्रति चिन्ता प्रकट गर्दै आएका छन् । यस्तो अवस्थाले विकराल रुप ल्याउने भन्दै चेतावनीसमेत दिइएको छ ।

जाडो सुरु हुने बित्तिकै लगभग २ करोड ३० लाख मानिसहरूमध्ये आधाभन्दा बढी जनसंख्या चरम स्तरको भोकमरीको सामना गरिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार ५ वर्षमुनिका कम्तीमा १० लाख बालबालिका भोकमरीका कारण मृत्युको जोखिममा रहेको बताइएको छ । जुन संख्या २० वर्षको युद्धमा मृत्यु हुने बालबालिकाको संख्याभन्दा धेरै हो ।

सिएनएनले यसबारे एक रिपोर्ट प्रकाशन गरेको छ । पछिल्लो संकट सामना गरिरहेका बालबालिकाको एक प्रतिनिधि पात्र हुन्, कमिला । झण्डै ३ वर्षकी उनको तौल जम्मा ११ पाउन्ड अर्थात् ५ केजी छ । अस्पतालमा उनको शरीर हाड छालामै सिमित देखिन्छ । कमिला पछिल्लो ८ महिनादेखि कुपोषित छिन् ।

दक्षिणी कानदहरस्थित एक अस्पतालमा उनकी हजुरआमा बिल्किसले उनको हेरचाह हेरिरहेकी छन् । बिल्किस आफ्नो परिवार गरिब भएको बताउँछिन् । र उपचारका लागि आर्थिक अभावको सामना गरिरहेको उनको दुखेसो छ । कमिलाकी आमा पनि बिरामी भएको उनकी हजुरआमा बताउँछिन् । यतिसम्म कि कमिलालाई स्तनपान गर्नसमेत उनले सक्दिनन् । कमिलाको परिवार आम अफगान परिवारको प्रतिनिधि परिवार हो । जसले आर्थिक संकट र चिसो मौसमसँगै उत्पन्न भएको खाद्य संकट विरुद्ध संघर्ष गरिरहेको छ ।

कमिला जस्ता ठूलो संख्यामा बालबालिकाहरू हाल अफगानिस्तानमा खाद्य संकटबाट गुज्रिनु परेको छ । सिएनएनको रपोर्टअनुसार ठूलो संख्यामा अधिकांश बालबालिकाले पछिल्लो समय कुपोषणको सामना गरिरहेका छन् । यस्तै उत्तिकै मात्रामा महिलाहरू जोखिमपूर्ण जीवनयापन गरिरहेका छन् ।

अनिकालको जोखिम कुनै समय ग्रामीण क्षेत्रहरूमा मात्र सीमित थियो । तर अहिले अफगानिस्तानका विकसित र सघन जनसंख्या भएका सहरसम्मै फैलिएपछि त्यसले धेरैलाई चिन्तित बनाएको छ । देशका अधिकांश सहरले खाद्य असुरक्षाको सामना गर्नु परेको बताइन्छ ।

तालिबान नेताहरू भने सबै सहरमा खाद्यान्न प्रसस्त भएको दाबी गर्छन् । तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार कोही पनि भोकै बस्नुपर्दैन । सहरहरू सबैमा खाद्यान्न प्रसस्त छ ।

त्यसो त तालिबान शक्तिमा आउनुअघि पनि खडेरी, द्वन्द्व, महामारी र आर्थिक मन्दीका कारण गरिबी, खाद्य असुरक्षा र बेरोजगारी जस्ता समस्या व्याप्त थियो । तर तालिबानले सत्ता कब्जा गरेको तीन महिनापछि यो संकट तीव्र रुपमा गहिरिएको छ । विदेशी विकास तथा दातृ संस्थाको अर्बौँ डलर रकम पनि रोकिएको छ ।

जाडो मौसमसँगै आधा जनसंख्या चरम भोकमरीको सामना गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । कम्तीमा ५ वर्षमुनिका १० लाख बालबालिकाहरू भोकमरीबाट मृत्युको जोखिममा छन् । सहरका अस्पतालसमेत यस्तो संकट भोग्दै छन् कि बिरामीलाई न्यानो बनाउन इन्धनका लागि पैसा अभाव भएपछि रुख काटेर दाउरा बाल्दै अस्पतालका कोठा न्यानो पार्दैछन् ।

अफगानिस्तानमा गहिरियो मानवीय संकट : भोक मेटाउन ५ सय डलरमा सानी छोरी बिक्री !

हरेक चिज बिक्रीमा

अफगानिस्तानमा मौसम प्रतिकुल बन्दै जाँदा खाद्यान्न अभाव पनि बढ्दो छ। विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का अनुसार अफगानिस्तानको ठूलो जनसंख्या आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छ । तर यस वर्षको खडेरीको ४० प्रतिशत फसल गुमेसँगै देशमा खाद्यान्न अभावको अवस्था आउने चेतावनी दिइएको छ ।

खाद्यान्न आपूर्ति घट्दै जाँदा गहुँ र रोटी जस्ता खाद्यान्नको मूल्य आकाशिएको छ। ग्रामीण क्षेत्रका कतिपय मानिसहरू खाद्यान्न अभावले गर्दा दैनिक रुपमा खाना समेत नपाएको गुनासो गर्छन् । सिएनएनमा प्रकाशित एक रिपोर्टअनुसार यहाँ कतिपय मानिसहरूले कहिलेकाहीँ खाने र कहिले भोकै बस्नुपरेको गुनासो गरेका छन् ।

'हामीसँग रोटी र पानी मात्रै छ । कहिलेकाहीँ हामीसँग खाने कुरा नै हुँदैन,' मुस्तफा नाम गरेका एक श्रमिकले सिएनएनलाई बताएकाछन् । यसै महिनाको सुरुमा उनले आफ्नी छोरीलाई घोर प्रान्तको राजधानी चागछरनस्थित एक अस्पतालमा लगे । उनकी ३ वर्षीया छोरी कुपोषित भएको ८ महिना भइसक्यो । अस्पतालमा खिचेका उनका तस्बिर हेर्दा हाड र करङका आकार शरीरको छालाबाहिरै प्रस्ट देखिन्छन् ।

उनलाई तेस्रो पटक अस्पताल लगिएको हो । 'केही काम छैन । आम्दानी छैन । खाना पनि छैन,' मुस्तफाले भने, 'हरेकपटक उनलाई हेर्दा म दिक्क हुन्छु ।'

अफगानिस्तानमा खाद्य तथा कृषि संस्थाका प्रतिनिधि रिचर्ड ट्रेन्चर्डकाअनुसार हाल भोकमरीको अवस्था विनाशकारी भएको छ । उनका अनुसार अधिकांश किसानहरूले यस वर्ष बाली भित्र्याउन पाएनन् । दैनिकी गुजारा चलाउन धेरै किसान गाई वस्तु बेच्न बाध्य भए । साथै कैयौं किसानहरू ऋणको बोझ आर्थिक अभावको सामना गरिरहेका छन् ।

त्यसो त तालिबानले सत्ता लिनुअघि पनि अफगानिस्तानका धेरै ग्रामीण क्षेत्रमा गरिबी सामान्य जस्तै थियो । तर हाल गरिबीका कारण मध्य वर्गीय र सहरवासीहरू समेत निराश बन्न थालेका छन् ।

सरकारी कर्मचारीहरू र स्कुलका शिक्षकहरूले समेत महिनौँदेखि तलब पाउन सकिरहेका छैनन् । पछिल्लो समय देशैभर अधिकांश मानिसहरूले खानाका लागि आफ्ना कपडा, गाईवस्तु, फर्निचर जस्ता वस्तु बिक्री गर्न थालेका छन् ।

रिपोर्ट अनुसार घना बस्ती भएका अफगानिस्तानका सहरी क्षेत्रमा पनि हाल हरेक ११ नागरिकमध्ये १० जनाले खाद्य असुरक्षाको सामना गर्नुपरेको छ । ग्रामीण भेगका कतिपय मानिसहरूसँग त बिक्री गर्नका लागि केही चिज समेत नभएको बतायन्छ । अघिल्लो महिना मात्रै खानाका लागि आफ्नै छोरी एक वृद्धलाई बेचेर पैसा लिएको रिपोर्ट सिएनएनमा सार्वजनिक भएको थियो ।

खर्च टार्न बेचिएकी ९ वर्षीया अफगान बालिकाको उद्धार

प्रकाशित : पुस ९, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?