कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जर्मनीका विभिन्‍न सहरमा कोभिड नियमविरुद्ध हजारौंको विरोध प्रदर्शन

ददी सापकोटा

पेरिस — जर्मनीको ह्याम्बर्ग र डसेलडोर्फलगायतका धेरै प्रमुख सहरहरूमा हजारौं मानिसहरूले सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध शनिबार प्रदर्शन गरेका छन् । महामारी अस्वीकार गर्नेहरूद्वारा भाइरस-सम्बन्धित नियमहरूसँग बढ्दो असन्तुष्टि देखिएको छ । क्रिसमसको मुखैमा अनावश्यक तरिकाले कोरोना भाइरस नियन्त्रणका नाममा नियमहरु लादेको भन्दै जर्मनीमा हजारौं प्रदर्शनकारीहरू सरकारी कोरोना भाइरस उपायहरूको विरोध गर्न सडकमा उत्रिएका हुन् ।

जर्मनीका विभिन्‍न सहरमा कोभिड नियमविरुद्ध हजारौंको विरोध प्रदर्शन

खासगरी खोप र जर्मन सरकारको कोरोना भाइरस नीतिहरूका विरोधीहरूले शनिबार धेरै जर्मन सहरहरूमा प्रदर्शन गरेका छन् । जर्मन सञ्चारमाध्यमहरुका अनुसार उत्तरी बन्दरगाह सहर ह्याम्बर्गमा हजारौं मानिसहरू सडकमा उत्रिएका थिए । त्यसपछि सहरको केन्द्र हुँदै धेरै चोकहरूमा मार्च गरेका छन् ।

जर्मन प्रहरीले लगभग ८ हजार सहभागीहरू दर्ता भएको उल्लेख गरेको छ । तर प्रदर्शनी आयोजकहरुले लाखौं मानिसले भाग लिएको दाबी गरेका छन् । "अनिवार्य खोप चाहिंदैन !, हाम्रा बालबालिकाको हात नबाँधियोस्, स्वतन्त्र हुन पाउनुपर्छ, हाम्रा बालबालिका तिम्रा हिरो होइनन् फाइजर" प्रदर्शनकारीहरुले जर्मन भाषामा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

डुसेलडोर्फको पश्चिमी सहरमा प्रहरीले अनुमानित ४ हजार प्रदर्शनकारीहरू सहरको केन्द्र हुँदै मार्च गरेको बताइएको छ । करिब एक हजार व्यक्तिले प्रहरीमा आफ्नो नाम दर्ता गराएका थिए । कोरोना भाइरसको नियमविरुद्ध प्रदर्शनीमा भाग लिनेका विरुद्ध पनि करिब दुई सय जनाले विरोध गरेको प्रहरीले उल्लेख गरेको छ ।

देशको शीर्ष खोप निकायले गरेको सिफारिसहरूलाई मान्यता दिँदै जर्मनीमा बालबालिकाका लागि खोपहरू सुरु गरिंदै छ । तर, अभिभावकहरू यस विषयमा विभाजित छन् । कोहि खोपका पक्षमा छन् भने कतिपय अभिभावकले यसको विरोध गरेका छन् । सरकारले अनिवार्य खोप नीति लागू गर्ने चर्चा चलेपछि खोप विरोधीहरुसमेत यो नितिका विरुद्ध उत्रिएका छन् ।फ्रान्कफर्ट एम मेनको वित्तीय केन्द्रका साथै दक्षिणपश्चिमी सहर कार्लस्रुहे र फ्राइबर्गमा पनि प्रदर्शनहरू भएका थिए ।

प्रहरीले करिब ३५ सय मानिसहरूले फ्राइबर्गको बीचमा नारा जुलुस गरेको उल्लेख गरेको छ । जुलुसमा सहभागीहरुले अनिवार्य गरिएको मास्क नलगाएका हुनाले उनीहरुले साना साना समूहमा जुलुस निकालेका थिए ।

अर्को सहर कार्लस्रुहेमा करिब ९०० मानिसहरू सडकमा उत्रिएका थिए । उनीहरुले विशेष गरी नर्स र अन्य स्वास्थ्यकर्मीहरूलाई अनिवार्य खोपको विरोध गरेका थिए । ओस्नाब्रुक, लोअर स्याक्सनीमा पनि मानिसहरूले "आधारभूत अधिकारहरुका विषयमा वार्ता हुन्न" भन्दै नारा लगाएका थिए ।

उत्तरी राज्य मेक्लेनबर्ग-भोर्पोमेर्नको राजधानी श्वेरिनमा प्रतिबन्धको विरूद्ध भएको प्रदर्शनमा करिब १ हजार ९ सय मानिसहरू सहभागी भएको भनाइ प्रहरीको छ । प्रदर्शनकारीहरूले सहरको केन्द्र हुँदै शान्तिपूर्ण र्‍याली गरेको बताइएको छ ।

सामाजिक एकताको लागि आह्वान

केन्द्रीय राज्य थुरिंगियाको ग्रीज सहरका संस्थाहरूले जारी विरोधको सामना गर्नुपर्ने भन्दै सामाजिक एकता र सम्मानको लागि संयुक्त आह्वान गरेका छन् । जर्मनीमा स्वास्थ्य नियम लागू भएसँगै हरेक हप्ता जस्तै विरोध प्रदर्शनहरु हुँदै आएका छन् । गत शनिबार साँझ आयोजना गरिएको यस्तै विरोध कार्यक्रममा १४ प्रहरी अधिकारीहरू घाइते भएको डीडब्ल्यू न्युजले उल्लेख गरेको छ ।

यसैबीच, बर्लिनका अधिकारीहरूले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । प्रदर्शनकारीहरूले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने लगायतका कोरोना भाइरस नियमहरू उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाउनुपरेको दाबी गरेको छ । तर, प्रहरीको निषेधाज्ञालाई तोड्दै जर्मनीमा धेरै पटक प्रदर्शन र भेलाहरु हुँदै आएका छन् ।

पूर्वी जर्मन राज्य सक्सोनीमा 'क्वेर्डेनकर' समूहले आयोजना गरेको प्रदर्शन प्रहरीले बन्द गरिदिएको छ । तर मानिसहरूले ड्रेसडेन सहरका धेरै भागहरूमा प्रदर्शन गरेका छन् । ब्रान्डेनबर्ग राज्यको राथेनोमा करिब ३६० प्रहरी अधिकारीहरूले मास्क लगाउनुपर्ने नियम तोडेको भन्दै शुक्रवार साँझ विरोध प्रदर्शन रोकिदिएका थिए ।

जर्मनीमा युरोपेली योजना अनुसार तुलनात्मक रूपमा खोप लगाउनेको दर कम छ । कुल जनसंख्याको ७० प्रतिशतले मात्र भाइरस विरुद्ध खोप लगाएको छ । यसमा दुबै मात्रा लगाउनेहरुको संख्या अझै कम रहेको बताइन्छ । जर्मनीमा महामारी सुरु भएदेखि करिब ६० लाख ७६ हजारमा कोरोना संक्रमित भैसकेको छ । करिब एक लाख आठ हजारको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

प्रकाशित : पुस ४, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?