शिर झुकाएर बस्न किन नपरोस्, नेपालसँग सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री सिंह- विश्व - कान्तिपुर समाचार

शिर झुकाएर बस्न किन नपरोस्, नेपालसँग सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री सिंह

राजेश मिश्र

नयाँदिल्ली — भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्धनलाई कुनै पनि हालतमा टुट्न नदिने बताएका छन् । मोदी सरकारमा वरिष्ठ मन्त्री रहेका सिंह भारतीय जनता पार्टी (भाजपा) का शीर्ष पंक्तिका नेता हुन् । बुधबार उत्तराखण्डको देहरादूनमा आयोजित एक कार्यक्रममा उनले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताएका हुन् । 

‘चाहे जेसुकै होस, हामीलाई शिर झुकाएर बस्न किन नपरोस्, नेपालसँगको सम्बन्धलाई कुनै पनि हालतमा टुट्न र बिग्रिने दिने छैनौं,’ उनले भने, ‘केही यस्तो तागत छ, जो भारत र नेपालबीचको सम्बन्धलाई खराब गर्न चाहेका छन् । तर, म भारत सरकारको प्रतिनिधिको नाताले भन्न चाहन्छु, त्यो कुनै पनि हालतमा हामी हुन दिने छैनौं ।’

उनले उत्तराखण्डको सीमाको प्रसंग जोड्दै नेपालको विषय उठाएका थिए । उनले नेपालसँग भारतको ‘रोटीबेटी’ र विशेष सांस्कृतिक सम्बन्ध रहेको विषय पनि दोहर्‍याएका थिए । सिंहले आफ्नो भाषणहरूमा नेपालसँगको सम्बन्धलाई महत्त्व दिएर बोल्ने गरेका छन् ।

कालापानी, लिपुलेक हुँदै नेपालको सीमा क्षेत्रमा पर्ने गरी भारतले दुई वर्ष अगाडि चीन सीमातर्फ जाने बाटो निर्माण गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको हो । भारत र नेपाल दुवैले कालापनी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो सीमामा राखेर नक्सा जारी गरेको छ । भारतले नयाँ नक्सा ल्याएपछि नेपालले पनि संविधान संशोधन गरेर नेपालको नक्सामा ती भूभागहरू समेटेको थियो । त्यसयता त्यस विषयमा दुई देशबीच वार्ता हुन सकेको छैन ।

त्यस्तै, केही महिनाअघि दार्चुलामा भारतीय सीमा सुरक्षा फौज एसएसबीका जवानले तुइन काटिदिएर एक जना नेपाली महाकाली नदीमा बेपत्ता भएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ । नेपालले भारतलाई त्यस घटनामा कूटनीतिक नोट पठाइसकेको छ । तर, भारतले त्यसको जवाफ अहिलेसम्म दिएको छैन ।

उत्तराखण्डमा सैन्यधाम परियोजनाको प्रारम्भ गर्दै रक्षामन्त्री सिंहले मानसरोवार जानलाई लिपुलेक हुँदै बाटो तयार भइसकेको समेत उल्लेख गरेका थिए । उनले हरेक मौसममा चालु रहने ‘वेदर रोड’ ले सीमा क्षेत्रमा खटिने सैनिक तथा सीमा क्षेत्रका बासिन्दाका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए । ‘त्यो रोडको सामरिक महत्त्व छ, सीमासम्म जानलाई कुनै व्यवधान हुने छैन,’ उनले भने ‘सीमा क्षेत्रका नागरिकप्रति पनि सेना जतिकै सम्मान छ ।’

धेरै क्षेत्रमा जस्तै रक्षा क्षेत्रमा पनि भारत आत्मनिर्भर बन्दै गएको चर्चा गर्दैर् उनले विगतमा ६५ देखि ७० प्रतिशत सैन्य सामग्र आयात गर्ने भारतले हाल ७२ देशमा सैन्यसामग्री निर्यात गर्ने गरेको जनाए । उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिष्ठा तीव्रताका साथ बढेको दाबी गरे ।

‘अब पहिलेको स्थिति फेरिएको छ, अन्तर्राष्ट्रिय मञ्चमा भारतको कुरा गम्भीरताका साथ सुनिन्छ,’ उनले भने ‘हामी कसैका सामुन्ने घुँडा टेक्ने बाला छैनौं ।’ उनले भारतले दुनियाँको कुनै पनि देशको एक इन्च पनि जमिन कहिल्यै कब्जा नगरेको बताए । तर, आफ्नो देशतिर आँखा देखाउने कोसिस गर्नेलाई भारतले कडा जवाफ दिने र त्यसलाई कसैले पनि रोक्न नसक्ने उनले चेतावनी दिए ।

प्रकाशित : पुस १, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

एजेन्डा कि भागबन्डा ?

आफ्नो गुटमा देउवा सर्वाधिकारसम्पन्न नेता हुन् र उनको निर्णय शिरोपर गर्ने पंक्ति यथावत् नै छ भन्ने सिद्ध भएको छ । आफ्नो गुटबाट अझै केही खतरा नभएपछि उनले गुटइतरका नेताहरूलाई तिनीहरूले इच्छाएको पद दिएर रिझाउने ठाउँ राखेको देखिन्छ ।
शंकर तिवारी

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अनेक अन्योल, आशंका र संशयबीच भएको छ । पार्टीहरूको आवधिक महाधिवेशन लोकतान्त्रिक व्यवस्थामा सामान्य कुरा हो तर केही महाधिवेशनले असामान्य महत्त्व बोक्ने सामर्थ्य राख्छन् । विक्रमाब्दको २०७८ को मंसिरमा भएका महाधिवेशनहरू भने नयाँ तरंगभन्दा नेतृत्वमा यथास्थितिको निरन्तरतालाई कायम राखेर सकिने सम्भावना बढ्दो छ ।

राप्रपाले कमल थापालाई विस्थापित गर्दै राजेन्द्र लिङदेनलाई नयाँ नेतृत्वमा चयन गरेको र नेकपा एमालेले केपी ओलीलाई निरन्तरता दिएका सन्दर्भमा कांग्रेसको महाधिवेशनले शेरबहादुर देउवालाई निरन्तरता दिन्छ कि नयाँ नेतृत्व चयन गर्छ भन्ने खुलदुली र कौतूहल कार्यकर्ता पंक्तिबाहिर पनि थियो । तर, नेपाली कांग्रेसको महाधिवेशनले सभापतिमा देउवालाई नै पुनः निर्वाचित गरेको छ । तेह्रौं अधिवेशनमा जस्तै देउवालाई सभापतिमा जित्न दोस्रो चरणको निर्वाचनमा जानुपर्‍यो । यसले के देखायो भने, लम्बिएर साढे पाँच वर्ष पुगेको कार्यकालमा उनले बहुमत कार्यकर्ताहरूको मन जित्न सकेका रहेनछन् । तर जसै दोस्रो चरणको निर्वाचनका लागि मञ्च तयार हुँदै थियो, देउवाले बन्दकोठामा आफ्ना प्रतिस्पर्धी साथीहरूलाई मिलाए र मतदान हुनुपहिले नै मनोवैज्ञानिक जित हासिल गरे ।

पार्टी पंक्तिबाहिर अलोकप्रिय देखिएका भए पनि उनले पार्टीभित्र आफ्नो व्यवस्थापनको कौशल र स्वीकार्यताको दायरा अरूको भन्दा फराकिलो भएको सिद्ध गरे । देउवालाई पुरानो सुवर्ण/किसुनजी गुटमा भित्र्याउने विमलेन्द्र निधिले नै गुटमा विद्रोह गर्दासमेत त्यो खाडल पुर्न कृष्ण सिटौलालाई आफ्नो समूहमा विलय गराएनन् मात्रै, उनले दुई घण्टाको अन्तरमा सभापतिका प्रतिस्पर्धी प्रकाशमान सिंह र विमलेन्द्र निधिको परिवर्तनको एजेन्डालाई बिर्साउँदै उनीसँगै एउटै लाममा बसेर आफ्ना लागि भोट माग्ने वातावरण बनाए ।

देउवा पार्टीभित्र भागबन्डा मिलाएर आफ्नो हात माथि पार्न निपुण छन् भन्ने स्पष्ट भएको छ । आफ्नो गुटमा उनी सर्वाधिकारसम्पन्न नेता हुन् र उनको निर्णय शिरोपर गर्ने पंक्ति यथावत् नै छ भन्ने पनि सिद्ध भएको छ । आफ्नो गुटबाट अझै केही खतरा नभएपछि उनले गुटइतरका नेताहरूलाई तिनीहरूले इच्छाएको पद दिएर रिझाउने ठाउँ राखेको देखिन्छ । यसरी पार्टी पुरानो भागबन्डाकै शैलीमा चलाउने उनको इच्छा हुन सक्छ, तर कुरा त्यतिमै रोकिँदैन ।

अब पार्टीभित्रको आधिकारिक प्रतिपक्षका रूपमा शेखर कोइराला, गगन थापाहरू देखिएका छन् । उनीहरूलाई भागबन्डाले होइन, एजेन्डाले डोर्‍याउने भएकाले देउवालाई उनीहरूको एजेन्डा स्वीकार गर्दै अगाडि बढ्नेबाहेक अर्को विकल्प बाँकी रहनेछैन । आम मानिसले कांग्रेसको असल आत्मा कांग्रेसभित्रको युवा पंक्ति र बदलावको आवाजको नेतृत्व गरेका शेखर र गगनसँग रहेको सत्यलाई यस निर्वाचनबाट महसुस गरिसकेका छन् ।

२०७४ को पुसमा राष्ट्रिय मेलमिलाप दिवसका दिन ‘हामी बदलिन्छौं, कांग्रेस बदल्छौं’ भन्दै सात युवा नेताले वक्तव्य प्रसारित गरेर कांग्रेसको नवजीवनका लागि नयाँ तरंग पैदा गरेका थिए । योङ तुर्कजस्तै आफ्नो अन्तर्मनको आवाज सुनेर पार्टी नेतृत्वको खराब आचरण र कार्यशैलीको आलोचना गर्ने कांग्रेसभित्रका सप्तर्षिको संज्ञा पाएका ती नेताहरूले देउवाको पार्टी चलाउने शैलीविरुद्ध वक्तव्य निकालेका थिए । तीमध्येका प्रबल हस्तीहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरू देउवाको खेमामा एकै पटक विलीन भएपश्चात् उनीहरूमा रहेको प्रगतिशीलता र सडकका मुद्दाहरूसँग जोडिने रुचिमा गिरावट आउने खतरा पनि बढ्दै छ । आजसम्म कमाएको निष्ठा उनीहरूले सभापतिको निर्वाचनका क्रममा एक टेकमै गुमाएका छन् ।

चुनाव जित्नु वा हार्नु ठूलो कुरा होइन, तर राजनीतिको लामो क्यारिअरमा कसैले कमाएको विश्वसनीयतामा कुनै एजेन्डामा सम्झौता गरेपछि वा बाटो बिराएपछि दाग लाग्नु स्वाभाविक हो । त्यो दाग धोईपखाली गर्न निकै लामो समय लाग्नेछ । नेताको कद पदले होइन, उसले लिएका एजेन्डा, अडान र चालेका पाइलाले निर्धारण गर्छन् । एजेन्डा बिर्सेर पदलोलुप हुने नेता बनावटी हुन्छ, प्राकृतिक रहँदैन ।

प्रकाशमान र विमलेन्द्रले जुन अडान र अठोटका साथ परिवर्तनको कुरा गरेका थिए, दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेलगत्तै उनीहरूको त्यो अडान परालको खुट्टा साबित भएको छ । विशेष गरी प्रकाशमानले जुन दृढताका साथ देउवाको विरोधमा निरन्तर एक किसिमको सन्देश दिएका थिए, त्यसमा एकाएक लगाम लागेको छ । त्यो अस्वाभाविक विरामलाई परिवर्तनका पक्षमा उभिएका कार्यकर्ताहरूले भने निको मानेका छैनन् । संस्थापनइतर समूहमा पहिलो चरणमा सबैले प्रतिस्पर्धा गर्ने तर दोस्रो चरणमा पहिलो हुनेलाई समर्थन गर्ने प्रकाशमानकै अडान थियो । पार्टीको महामन्त्री, उपसभापति एवं सरकारको उपप्रधानमन्त्री भइसकेका प्रकाशमानसँग रामचन्द्र पौडेल र शशांक कोइरालाले मैदान छाडिसकेपछि संस्थापनतर्फका दुई दर्जनभन्दा बेसी जिल्ला सभापतिमध्ये काठमाडौंका सभापति मात्र साथ हुनु संगठनमा उनको पकड मजबुत नभएको यथार्थको प्रमाण हो । पार्टीको नेतृत्व बदल्छौं भनेकाहरू यसरी रातारात आफैं बदलिएका छन् र आफूहरूले बदलिनुको भरपर्दो कारण उनीहरूले कार्यकर्ताहरूलाई दिन सकेका छैनन् ।

नेपाली कांग्रेसमा देउवाइतर खेमामा विश्वासिलो र सबैको भरोसायोग्य नेतृत्व नभएकाले यो समूहले विजय हासिल गर्न नसकेको हो । देउवाको कार्यकालभरि पार्टीभित्रको विपक्षका रूपमा काम गर्ने जिम्मेवारी पाएका रामचन्द्र र शशांकको जिम्मेवारी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिर रहेर मात्रै पूरा हुने थिएन । तर उनीहरूले नेतृत्वको प्रतिस्पर्धाबाट बाहिर रहनुलाई मात्रै जिम्मेवारी ठाने र त्यसमै रमाएर बसे । रामचन्द्रले आयोजना गरेको चियापानमा भएको हुटिङले अर्कैतर्फ संकेत गरिरहेको थियो ।

२०६२–६३ सालको जनआन्दोलनपश्चात् भएका नेपाली कांग्रेसका तीनवटा महाधिवेशनमा उदाएको पुस्ता पार्टीमा आफ्नो पक्षलाई बढाउँदै लगेर झन्डै बहुमत हाराहारीमा पुग्दै छ । यो पुस्ताले महामन्त्रीमा आए नेपाली कांग्रेसको राजनीतिलाई सदाका लागि बदल्ने पक्कापक्की छ । बाह्रौं महाधिवेशनमा केन्द्रीय सदस्यमा गगनले लोकप्रिय मत पाएर निर्वाचित भएपछि नेपाली कांग्रेसमा परिवर्तनको त्यो संकेत गडगडाएर अगाडि बढिरहेको थियो । उनले त्यो आवाजलाई तेह्रौं महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेर निरन्तरता दिएका थिए । अहिले त्यसैले गर्दा गगन, प्रदीप र विश्वप्रकाशहरूले एकै पटक महामन्त्रीमा प्रतिस्पर्धा गर्ने अवस्था बन्न पुगेको हो ।

पञ्चायतको सुरु र मध्यमा उदाएको पुस्ता पार्टीको शीर्ष नेतृत्वबाट एकै पटक विस्थापित हुने कुरा झट्ट हेर्दा असामान्य लागे पनि युवा पंक्ति प्रभावकारी हस्तक्षेपसँगै सामान्य भएको छ । आज त्यसैले गर्दा कांग्रेसको देशभरको नेतृत्व पंक्तिमा, चाहे क्षेत्रीय सभापतिमा होस् वा पालिका सभापतिमा, २०६२–६३ मा आन्दोलनमा होमिएको पुस्ताको बहुमत पुगिसकेको छ । नेपाली कांग्रेसको आन्तरिक जीवनमा आएको यो भारी बदलावले नवनिर्वाचित सभापतिलाई पुरानै शैलीबाट चल्ने छुट भने दिनेछैन ।

नेपाली कांग्रेसको इतिहासमा पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुने वा अलग–अलग भन्ने द्वन्द्व आजसम्म निरूपण हुन सकेको छैन । त्यसको व्यवस्थापन सहज तरिकाले भएको नजिर छैन । २००८ सालमा बीपी कोइराला र मातृका कोइरालाबीचको द्वन्द्व एवं २०४६ सालपछि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको द्वन्द्व एवं गिरिजाप्रसाद र देउवाबीचको द्वन्द्वले सहज निकास पाएको थिएन । पार्टी दुई पटक टुक्रिएको थियो । पार्टी एकताको भविष्य सोचेका कार्यकर्ताका लागि देउवाले एकाएक प्रधानमन्त्रीका रूपमा पार्टी सभापतिमा प्रतिस्पर्धा गरेको क्षण गम्भीर बनिदिएको थियो । अधिवेशनको उद्घाटन सत्रमा देउवाले त्यतातर्फ प्रस्ट संकेत गरेका थिए । देउवाइतरका नेताहरूले आगामी निर्वाचनसम्म उनकै नेतृत्वमा कांग्रेस सरकारमा रहने कुरा गर्दा पनि उनी विश्वस्त हुन सकिरहेका थिएनन् । पार्टी सभापतिमा देउवाको जितसँगै नेपाली कांग्रेस एउटा गम्भीर संकटबाट भने बचेको छ ।

त्यसै गरी पार्टी सभापति देउवाले आफूसँगै निर्वाचित हुने महामन्त्रीहरूलाई कति स्पेस र काम गर्ने वातावरण दिन्छन्, त्यसले समेत उनको कार्यकाल मूल्यांकन गर्न सहज हुनेछ । झट्ट हेर्दा देउवाको प्रधानमन्त्रीको कुर्सी सुरक्षित देखिएको छ, सभापतिको ताज थप चार वर्षका लागि पक्का भएको छ तर त्यतिमै नेपाली कांग्रेसको पार्टी सभापतिको भूमिका सकिँदैन । नेपालको सबैभन्दा बूढो पार्टीलाई सबैभन्दा जवान पार्टी कसरी बनाउने, समसामयिक र सडकमा उठेका आन्दोलन कसरी सम्बोधन गर्ने र पार्टीभित्र क्रियाशील सदस्यताको कहिल्यै नटुंगिने विवादलाई कसरी सुल्झाउने भन्ने कुराले सभापतिका रूपमा देउवाको दोस्रो कार्यकालको परख हुनेछ ।

२०७४ सालको आम निर्वाचनमा क्रियाशील सदस्यहरूले नै रूख चिह्नमा मतदान नगरी अन्यत्र मतदान गरेको कुरा अरू कसैले नभई देउवाले नै बोलेका थिए । उनले त्यो समस्याबाट पार्टीलाई बाहिर निकाल्न सक्छन् ? यी यावत् चुनौतीका चाङबीच सभापतिको ताज दोस्रो पटक पहिरिँदै गर्दा उनको विजयमा कुनै उज्यालो नदेख्नेहरूलाई उनले असल कार्यहरूमार्फत जवाफ फर्काउन सकून् । उनका पाइलाहरू पार्टीको आन्तरिक जीवनको गतिहीनता रोक्न सक्षम बन्न सकून् । अहिलेलाई देउवालाई बधाई तथा शुभकामना !

प्रकाशित : पुस १, २०७८ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×