महान फुटबल खेलाडी पेले अस्पताल भर्ना- विश्व - कान्तिपुर समाचार

महान फुटबल खेलाडी पेले अस्पताल भर्ना

सिन्ह्वा

रियो दि जेनेरियो — महान फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् । पेटको ट्युमरको उपचार जारी राख्न उनी अस्पताल फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए । चिकित्सकहरुले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए । ब्राजिलको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा बिरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ ।

सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई "हरेक दिन राम्रो" भइरहेको महसुस गरिरहेको बताएका थिए । चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए ।

तीन पटकको विश्वकप विजेता उनी सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन् । उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन् ।

गत वर्ष पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण "एक प्रकारको डिप्रेसन" सँग लडिरहेको बताएका थिए ।

पेलेले २१ वर्षको व्यावसायिक करियरमा १,३६३ खेलमा १,२८१ गोलको विश्व रेकर्ड बनाएका छन् । उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए र ७७ अन्तर्राष्ट्रिय स्तरमा गोल गरेका थिए ।

प्रकाशित : मंसिर २३, २०७८ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

जापानको प्रधानमन्त्रीमा पुनः किशिदा निर्वाचित

सिन्ह्वा

टोकियो — जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष  फुमिओ किशिदा पुनः निर्वाचित भएका छन् ।

संसद्को विशेष अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित भएका हुन् ।

गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका किशिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनले मन्त्रिपरिषद्को सदस्यमा पनि आफ्नो पहिलो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ ।

छोटो समयका लागि सञ्चालन गरिएको संसद्को विशेष अधिवेशनको अरु पनि केही महत्वपूर्ण कामहरु गरेको त्यहाँको संसद् सचिवालयले जनाएको छ । नयाँ सरकारले कोरोनाभाइरसको महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । अर्थतन्त्रलाई चलायमान गराउन सरकारले ‘गो टु ट्राभल’ अभियान समेत चलाउने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित : कार्तिक २४, २०७८ १९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×