कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

रुसी राष्ट्रपति पुटिन आज दिल्ली आउँदै

पुटिन र मोदीबीच महत्त्वपूर्ण सुरक्षा सम्झौताहरु हुने
राजेश मिश्र

नयाँ दिल्ली — रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार भारत भ्रमणका लागि आउँदैछन् । दिल्लीमा केही घण्टा मात्रै व्यतित गर्ने पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।

रुसी राष्ट्रपति पुटिन आज दिल्ली आउँदै

साँझ ५: ३० बजे पुटिन र मोदीबीच शिखर वार्ता हुने बताइएको छ । यद्यपि पुटिन कति बजे नयाँ दिल्ली आइपुग्ने अझैसम्म सार्वजनिक गरिएको छैन । सुरक्षाको कारण दर्शाउँदै उनको कार्यसूचीलाई गोप्य राखिएको छ । मोदीसँगको वार्ता र रात्री भोजपछि राति नै पुटिनले नयाँ दिल्ली छाड्ने छन् ।

भारत र रुसबीच लामो समयदेखि स्थायी प्रकारको सम्बन्ध छ । भारतका लागि रुस महत्त्वपूर्ण सुरक्षा सहयोगी छ । रुस भारतका लागि महत्त्वपूर्ण हतियार आपूर्ति गर्ने देश हो । नयाँ दिल्लीमा हुने दुई देशबीचको शीर्ष तहको वार्तामा पनि आधुनिक हतियार खरिद तथा भारतमा हतियार उत्पादनको कारखाना चालू गर्ने सम्बन्धमा सहमति हुनसक्ने भारतीय सञ्चारमाध्यममा उल्लेख छ । यद्यपि भारतीय विदेश मन्त्रालयले यस विषयमा औपचारिक रुपमा केही जानकारी गराएको छैन ।

भारत रुसबाट अत्याधुनिक मिसाइल एस–४०० र एके–२०३ राइफल खरिद गर्न इच्छुक मानिएको छ । जुन सम्झौता ५ हजार १ सय करोड भारतीय रुपैयाँ बराबरको हुने बताइएको छ । उक्त राइफल उत्तर प्रदेशको अमेठीमा उत्पादन हुने हिन्दुस्तान टाइम्सले जनाएको छ । एके-२०३ राइफलले तीन दशक पुरानो इन्सास राइफललाई विस्थापित गर्नेछ । भारतीय सेनालाई करिब साढे ७ लाख संख्यामा उक्त राइफल उपलब्ध गराइने बताइएको छ । त्यस बाहेक दुई देशबीच व्यापार, उर्जा, संस्कृति, रक्षा, आंतरिक्ष तथा अद्यौगिक क्षेत्रमा कतिपय सम्झौताहरुको सम्भावना छ ।

पुटिन र मोदीबीच वार्ता हुनुपूर्व दुई देशका दुई–दुई जना मन्त्रीहरु (दुई जोड दुई) अवधारणा अन्तर्गत विभिन्न विषयमा बैठक गरी सहमति गर्नेछन् । उक्त वार्तामा भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकर तथा रुसका रक्षामन्त्री सेर्जेई शोइगु तथा विदेशमन्त्री सेर्जेई लाभरोभ सहभागी हुनेछन् । रुसका दुवैजना मन्त्री आइतबार राति दिल्ली आइपुगेका छन् । भारतले यसअघि अमेरिका, जापान र अस्ट्रेलियासँग दुई जोड दुई अवधारणाका बैठक गरिसकेको छ ।

भारतको चीनसँग खटपटपूर्ण सम्बन्ध छ । त्यस्तै, अफगानिस्तानमा तालिवानको नियन्त्रणपछि उसलाई हेर्ने नजर पनि फरक छ । यी दुवै देशसँग रुसको भने सम्बन्ध राम्रो छ । चीनसँग रुसको गहिरो र बलियो सम्बन्ध छ । त्यस्तै, तालिवान शासकलाई रुसले ‘उचित’ शासकको संज्ञा दिएको छ । अर्कोतिर अमेरिकासँग भारतको बढ्दो मित्रतालाई लिएर रुस सशंकित रहँदै आएको छ । यी सबै फरकफरक सम्बन्ध र मतभेदका बाबजुद भारत र रुसबीच द्विपक्षीय सम्झौताहरु हुनेछन् ।

द वायरकी कूटनीतिक संवाददाता देवी रुपा विभिन्न विषयमा दुवै देशका दृष्टिकोण फरक रहेपनि द्विपक्षीय मामिलामा दुवै मुलुक निकटतम मित्र रहेको बताउँछिन् । ‘अफगानिस्तानमा तालिवानको नियन्त्रणपछि त्यहाँको परिस्थितिलाई लिएर रुस र भारतको फरक फरक दृष्टिकोण छ,’ उनले भनिन् ‘त्यस्तै, इन्डो प्यासिफिक क्षेत्रलाई लिएर भारत अमेरिका, जापान तथा अस्ट्रेलियसँग जोडिएको विषयमा पनि रुसको मत फरक छ ।’ दुवै देशको अन्य देशसँग आ–आफ्नै खालका सम्बन्ध र खटपट भएपनि रुस र भारत दुवैले एक अर्काको सीमितता र निश्चित ‘रेड लाइन’ को ख्याल गरेर सम्बन्धलाई कायम राख्दै आएको उनले उल्लेख गरिन् ।

प्रकाशित : मंसिर २०, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?