भारतले अफगानिस्तानलाई ५० हजार टन गहुँ पठाउने- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतले अफगानिस्तानलाई ५० हजार टन गहुँ पठाउने

– पाकिस्तानले दियो आफ्नो स्थलमार्गको अनुमति
– गहुँ ढुवानीका लागि ५ हजार ट्रक आवश्यक पर्ने
राजेश मिश्र

नयाँदिल्ली — भारतले अफगानिस्तानी जनताका लागि ५० हजार टन गहुँ पठाउने तयारी गरेको छ । तालिवानले सत्ता कब्जा गरेपछि विदेशी सहायताहरू रोकिएको अवस्थामा भारतले मानवताको दृष्टिकोण राख्दै खाद्यान्न तथा औषधि पठाउने प्रस्ताव केही अगाडि नै गरेको थियो ।

ठूलो परिणामको खाद्यान्न पठाउन स्थलमार्ग प्रयोग गर्न भारतले पाकिस्तानसँग अनुमति मागेको थियो । अक्टोबर ७ मा भारतले अफगानिस्तानसम्म गहुँ पुर्‍याउन स्थलमार्ग उपलब्ध गराइदिन भन्दै पाकिस्तानलाई पत्र पठाएको थियो । पाकिस्तानले शुक्रबार पाकिस्तानको भूमिमा अफगानी ट्रकबाट गहुँ लैजान सकिने जवाफ भारतलाई पठाएको छ ।

तालिवानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएयता भारतले काबुलबाट आफ्नो दूतावास उठाइसकेको छ । अफगानिस्तानमा तालिवानको पुनरागमनले भारतमा आतंककारी गतिविधि बढ्न सक्ने संशय भारतलाई छ । तर यी सबका बाबजुद भारत तालिवानसँग ‘इङ्गेज’ हुन चाहेको देखिन्छ । वैदेशिक मामिलामा दखल राख्ने द इन्डियन एक्सप्रेसका एसोसिएट सम्पादक शुभजित रोय गहुँ पठाउने भारतीय तयारीले भारत सरकार अफगानी जनताको साथमा रहेको सन्देश दिएको बताउँछन् । गहुँ पठाउने विषयले नै भारत र तालिवानी अथोरिटीबीच नयाँ कूटनीतिक सम्बन्ध स्थापित भइनहाल्ने उनको टिप्पणी छ ।

तालिवानलाई अझै विश्वको फोरमले मान्यता दिएको स्थिति छैन । यद्यपि भारतले दिन खोजेको सहयोगलाई तालिवानी अथोरिटीले सकारात्मक मानेका छन् । त्यसका लागि उनीहरूले स्थलमार्ग उपलब्ध गराउन पाकिस्तान सरकारसँग पनि ‘लबिइङ’ गरेका थिए । भारत र तालिवानबीच औपचारिक कूटनीतिक सम्बन्ध कायम नरहेको अवस्थामा भारतले पठाउने गहुँ कसलाई हस्तान्तरण गर्ने र त्यसको वितरण कसरी हुने आफैंमा पेचिलो छ ।

५० हजार टन गहुँ ढुवानीका लागि ५ हजार ट्रक आवश्यक पर्ने अनुमान छ । भारतले अफगानी ट्रकलाई मात्रै आफ्नो भूमिमा अनुमति दिएकाले पञ्जाबको बागहा अटारी भारत पाकिस्तान सीमामा भारतीय ट्रकबाट अनलोड गरेर अफगानी ट्रकमा लोड गर्नुपर्ने हुन्छ ।

गहुँ तथा जीवनरक्षक औषधि अफगानिस्तान पठाउने विषय विशुद्ध मानवीय सहायता मात्रै रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताए । ‘यो कुनै सर्तअन्तर्गत होइन, हुनु पनि हुँदैन,’ उनले भने, ‘भारतले अफगानी जनतालाई गर्न खोजेको सहयोग मात्रै हो यो ।’ यसले तालिवानलाई लिएर भारतको पुरानो ‘स्ट्यान्ड’ मा कुनै परिवर्तनका रूपमा नलिन उनले उल्लेख गरे ।

अफगानिस्तासम्म गहुँ पुर्‍याउने र त्यसको वितरणको मोडालिटीबारे अझै ‘क्लियर’ भइनसकेको उनको भनाइ छ । भारत सरकार र तालिवानबीच औपचारिक सम्बन्ध नरहेकाले भारतले यूएन एजेन्सी वा कुनै गैरसरकारी संस्थामार्फत गहुँ वितरणको प्रस्ताव राख्न सक्ने सम्भावना छ । तालिवानी अथोरिटीसँग भारत कुनै न कुनै रूपमा ‘इङ्गेज’ रहेको पत्रकार रोय बताउँछन् । ‘केही महिनाअगाडि दोहामा औपचारिक वार्ता नै भएको बाहिर आइसकेको छ । त्यसबाहेक अनौपचारिक वार्ता चलेको बुझिन्छ,’ उनले भने, ‘तर अझै तालिवानलाई हेर्ने दृष्टिमा परिवर्तन आइनसकेकाले भारतले यूएन एजेन्सी वा अन्य संघसंस्थालाई नै गहुँ वितरणको जिम्मा दिन सक्छ ।’

प्रकाशित : मंसिर १८, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्

सोलुखुम्बुमा जिप भिरबाट खस्यो, चालक सख्त घाइते

भानुभक्त निरौला

सोलुखुम्बु — जिल्लाको साल्मेस्थित पहलमान भीरमा जिप खसेको छ । शनिबार बेलुकी पौने ८ बजेरित जिल्ला सदरमुकाम सल्लेरीबाट पत्ताले जाँदै गरेको जिप भिरबाट करिब ७ सय मिटर तल खस्दा चालक गम्भीर घाइते भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ८ स्थायी घर भएका ३७ वर्षीय चालक तिन्कु मगरलाई उपचारका लागि फाप्लु अस्पताल ल्याइँदै गरेको र उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कवित कटवालले जनाए ।

दुर्घटनाको खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरीले चालक मगरलाई घाइते अवस्थामा उद्धार गरेको जनाएको छ । गाडी क्षतविक्षत अवस्थामा सोलुखोला किनारमा फेला पारेको थियो । जिपमा अन्य यात्रु भने नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ २१:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×