जो ४३ वर्ष जेल बसेपछि निर्दोष सावित भए- विश्व - कान्तिपुर समाचार

जो ४३ वर्ष जेल बसेपछि निर्दोष सावित भए

'मसँग अझै केही वर्ष बाँकी छन् । मोबाइल चलाउन बल्ल सिक्दैछु'
एजेन्सी

वासिङटन — केही महिनाको लकडाउनले त मान्छेलाई हैरान बनाउँछ । तर अमेरिकाको मिजोरीस्थित एक व्यक्ति ४३ वर्ष कठिन जेलजीवनबारे हामी अनुमान मात्रै गर्न सक्छौं । त्यो पनि विना गल्ति अभियुक्त बनेर जेल जीवन बिताउनु आफैंमा कठिन हुन्छ ।


केभिन स्ट्रिकल्याण्ड नामका ६२ वर्षीय अमेरिकी नागरिकले हत्या अभियोगमा ४३ वर्षसम्म जेलमा बसेर हालै रिहा भएका छन् । उनी निर्दोष सावित पनि भएका छन् ।

१९७९ मा उनी हत्या अभियोगमा मिजोरीस्थित जेल पुगेका थिए । जेलको लामो र कठिन समय बिताएर बाहिर निस्कँदै गर्दा त्यहाँका कहालीलाग्दा अनुभव उनले शेयर गर्न थालेका छन् । यसै क्रममा उनले जेलबाट निस्किएपछि मात्रै अहिले स्मार्टफोन चलाउन सिक्दै गरेको कुरा मिडियासामु बताएका छन् ।

गत मंगलबार मिजोरीका न्यायाधीशले स्ट्रिकल्याण्डमाथिको मुद्दा उल्ट्याउँदै उनलाई तुरुन्त रिहा गर्न आदेश दिएका थिए । आदेशको क्रममा न्यायाधीशले स्ट्रिकलल्याण्डमाथि गलत तरिकाले दोषी ठहर गरिएका प्रमाणसमेत उल्लेख गरेका छन् ।

उनले जेलबाट रिहा भएपछि सिबीएस न्युज च्यानलबाट अन्तर्वार्ता दिँदै भनेका थिए 'आज म बाहिर निस्किएँ । म एउटा अन्तरीक्ष युगमा प्रवेश गर्दैछु । र मलाई यसबारे केही थाहा छैन ।'

जेलमा रहँदा उनलाई राज्यले कुनै आर्थिक सहयोग नगरेको बताए । साथै उनले प्रयोग गर्ने ह्वीलचियर समेत खोसिएको बताए । यस्तै स्पाइनल स्टेनोसिसका बिरामी उनले त्यहाँ रहँदा उपचारको सुविधा पनि पाएनन् ।

पछिल्ला केही दिनयता परिवार, साथीभाइ र अरु व्यक्तिहरू उनको वरिपरी झुम्मिँदैछन् । जेलबाट रिहा भएपछि स्ट्रिकल्याण्डले चन्दावापत १ मिलियन अमेरिकी डलरभन्दा धेरै रकम प्राप्त गरिसकेका छन् । जुन रकम उनको उपचारका लागि प्रयोग गरिने बताइएको छ ।

रिहा भएपछिका उनको दैनिकी पनि नितान्त नयाँ र अनौठो तरिकाले बितिरहेको छ । उनले यसबीचमा आफ्नो दाह्री काटे । जुन उनले जेलमा रहँदा रिहा भएपछि मात्रै काट्ने वाचा गरेका थिए ।

उनी अहिले पनि आफ्नो कोठालाई सुरुङ जस्तो रुपमा बुझ्ने गरेको बताउँछन् । हरेक चिजलाई सशंकित रुपमा हेर्ने गर्छन् । 'हो म अहिले पनि त्यहीँ छु । मैले अझै हटाउन सकेको छैन । कसैले मसँग हात मिलायो । र मैले सोचें तिमी के चाहन्छौ ?' स्ट्रिकल्याण्डले सोधे । उनी पछिल्ला दिनमा आफ्नो सेल फोन चलाउन सिक्दै गरेको बताउँछन् । 'मलाई थाहा छैन यसलाई कसरी खोल्ने भनेर,' उनले भने ।

उनी १९७९ मा तीनवटा हत्याको अभियोगमा जेल पठाइएका थिए । तर २०२१ को मे महिनामा स्थानीय अभियोजक जीन पेटर्स बेकरले उनी निर्दोष रहेको बताउँदै रिहाइका लागि भने राज्य महान्यायाधीवक्तासँग थप संघर्ष गर्नुपर्ने जनाएका थिए । उनलाई रिहाइका लागि भएको संघर्षलाई लिएर बेकरले 'आश्चर्यजनक, हतोत्साही र निराशाजनक' भएको प्रतिक्रिया दिएका थिए ।

उनी भन्छन्, 'जेलमा अरु कैदीहरूले भित्तामा पिट्दै मेरो नाम लिएर चिच्याउँदै गरेको आवाज अहिले पनि सुन्दैछु । उनीहरू तिमी बाहिर जाँदैछौ भन्दै मेरो नाम लिएर चिच्याउँदै थिए ।'

कुनै विस्मात छ कि छैन भनेर पत्रकारले सोध्दा उनी आफूले गल्ती नगरेकोले त्यस्तो महसुस नभएको बताए । 'छैन म यहाँ बसिरहेको छु । मैले त्यो गल्ती गरेको थिइनँ । मसँग अझै अरु केही वर्ष छन् । र म ती वर्षहरूलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नेछु,' उनले भनेका छन् ।

तर उनले अब आफूसँग केही योजना नरहेको प्रतिक्रिया दिएका छन् । तर आफ्नी छोरीसँग समय बिताउने उनले सोचिरहेका छन् । जवकि उनी पक्राउ पर्दा छोरी सात हप्ताकी मात्रै थिइन् ।

प्रकाशित : मंसिर १७, २०७८ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपा 'एकता महाधिवेशन' मा फुटको चिन्ता

मणि दाहाल

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षका लागि भइरहेको प्रतिस्पर्धाले तीव्र ध्रुविकरण देखिएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा छ । दुवै जना राप्रपा नेपालको पुष्ठभूमिका नेताहरु हुन् । राप्रपा नेपाल गठन भएदेखि नै अधिकांश समय अध्यक्ष रहेका थापालाई लिङ्देनले चुनौती दिएका छन् ।

उनले थापाकै नेतृत्वमा राप्रपा उँभो लाग्न नसक्ने दाबी गर्दै आएका छन् । थापा र लिङ्देन उनीहरुको समर्थकहरुबीच आरोप-प्रत्यारोप चलेको छ । प्रतिस्पर्धा तीव्र हुँदै जाँदा धेरै कार्यकर्ताहरुमा भने महाधिवेशनले राप्रपाको एकता कायम राख्छ कि राख्दैन भन्ने विषयमा चिन्तासमेत देखिएको छ । विगतमा पनि महाधिवेशनको विवाद समाधान हुन नसक्दा राप्रपा विभाजन भएको इतिहास छ । त्यसले अहिले दुवैतर्फ देखिएको प्रतिस्पर्धाले प्रतिनिधिहरुमा चिन्ता बढाएको छ ।

महाधिवेशनमा काठमाडौं ७ 'क' महाधिवेशन प्रतिनिधि राजकुमार थापा पनि नेतृत्वका लागि भइरहेको तीव्र प्रतिस्पर्धाले पार्टी विभाजन हुने हो कि भन्ने चिन्ता लागेको बताउँछन् । 'विगतमा पनि यस्तै देखिएको हो । अहिले पनि तीव्र प्रतिस्पर्धा छ । भोलि के हुन्छ भन्न सकिँदैन । राप्रपाको टुटफुटको इतिहास छ,' थापाले भने । पूर्वपञ्चहरुको राप्रपा गठन फुटबाट भएको थियो ।

२०७६ सालमा राप्रपा थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीले एकताको घोषणा गरेका थिए । ०७५ कात्तिकमा दुई राप्रपाको एकता प्रक्रिया फेरि सुरु भयो । त्यसअघि २०७३ मंसिरमा एकीकरण भएको राप्रपा २०७४ को साउनमा विभाजित भएको थियो । ०७४ साउनमा सरकार प्रवेशको विषयमा मतभेद भएपछि राप्रपा अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्यो र राणाले पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका थिए । 'यो एकताको महाधिवेशन हो । सहमतिबाट हुन नसकेपछि पनि प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने विधिमा गएका हौं । यो विधि बाटोबाट जाँदा पार्टी फुट्दैन, फुट्ने कुरा नै हुँदैन,' राप्रपाका प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले भने, 'यसले पार्टीलाई झनै एकताबद्ध बनाएर लैजान्छ । फुट्ने संभावना छैन । राप्रपा फेरि विभाजनतर्फ जान्छ कि भन्ने आशंकामात्रै हो । पराजित मानसिकता हो ।'

दरबारले पञ्चायती व्यवस्था अन्त्यसँग पूर्वपञ्चहरुलाई संगठित गर्ने कोसिस गरेको थियो । एउटा शक्तिशाली पार्टी स्थापना गर्न मातृकाप्रसाद कोइरालालाई अघि सारेको थियो । २०४७ वैशाखमा गरेको दरबारको तयारीमा पूर्वप्रधानमन्त्रीहरू कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई उपाध्यक्ष राख्न खोजेको थियो । त्यसमा राणा, लोहनीलगायत नेता पदाधिकारी हुन्थे । तर जेठ १५ गते पूर्वपञ्चहरूको दुई फरक दल गठन भए । बौद्धस्थित छिरिङ तेन्जिङ शेर्पाको घरमा सूर्यबहादुर थापाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) र पशुपतिशमशेर राणाको घरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) जन्मभयो । शक्तिशाली दल नबन्ने देखेपछि पूर्वपञ्चहरु नेपाली कांग्रेसमा प्रवेश गर्न थाले ।

राप्रपा (थापा)को प्रवक्ता रहेका अर्जुननरसिंह केसी दलबलसहित २०४७ साल असारमा क्षेत्रपाटी चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमा आयोजित कार्यक्रममा कांग्रेसमा प्रवेश गरे । त्यसो त, २०४६ सालको जनआन्दोलनलाई प्रतिकार गर्न गठन गरिएको समितिका प्रमुख परशुनारायण चौधरीसहित धेरै नेता कांग्रेसमा प्रवेश गरे, जो 'चैते कांग्रेस' भनेर चिनिन्थ्यो।

पञ्चहरुबीचको विभाजन पञ्चायती व्यवस्थादेखि नै थियो । बहुदल आएपछि त्यो कायमै रह्यो । निर्वाचनमा पराजयपछि जुट्ने र शक्तिमा पुगेपछि फुट्ने क्रम चलिरह्यो । राप्रपाका नेता भरत पाठक विभाजन गर्न कसैलाई पनि छुट नभएको बताउँछन् । 'अध्यक्षको दुवै उम्मेदवारलाई पार्टी विभाजन गर्ने छुट पनि छैन र उहाँहरुले चुनावी परिणाम जे आए पनि स्वीकार गर्छु भन्नु भएको छ । हामीले विभाजनको धेरै पीडा खपिसक्यौं । स्थापनाकालमै जुम्ल्याहा भएर जन्मियो,' पाठकले भने, 'पञ्चायतकालदेखि व्यक्तित्वको टकरावले पहिले समस्या ल्याएको हो । त्यस समयका अधिकांश नेताहरु अहिले रिटायर्ड भइसक्नु भएको छ । त्यसैले पहिले जस्तै हुन्छ भन्नेमा विश्वास छैन ।'

२०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि दुवै राप्रपाबीच एकीकरण भयो । २०५० सालमा काठमाडौंमा एकता महाधिवेशन भयो । पार्टी अध्यक्ष थापा बने पहिलो मर्यादामा चन्दलाई राखियो भने सह-अध्यक्ष राजेश्वर देवकोटा भए ।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा राप्रपाले २० स्थान जित्यो । चन्दले राजीनामा दिएपछि १९ सांसद रहे । तर संसदीय दलको चुनावमा पहिलेदेखि रहेको मनोमालिन्य फेरि प्रकट भयो ।

डा. यादवप्रसाद पन्तको घरमा भएको संसदीय दल बैठकमा गोप्य मतदानबाट चन्दलाई संसदीय दलको नेता चुन्यो । थापाको एक मत कम आएको थियो । संसदीय समिकरणको कारण नयाँ सरकार गठनमा राप्रपाको सहयोग अनिवार्य भयो । एमालेको मनमोहन अधिकारीको नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि कांग्रेस र राप्रपा मिलेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गरे ।

राप्रपाभित्र संसदीय दल मतदानको परिणाम राष्ट्रिय सभा चुनावमा देखियो । थापा पक्षले राजेन्द्र देवकोटालाई मत दिएनन् । चन्दले एमालेसँग मिलेर देवकोटालाई राष्ट्रिय सभामा पुर्‍याए । त्यसपछि चन्दले हरियो झन्डा देखाएपछि एमालेले देउवाविरुद्ध अविश्वास प्रस्ताव ल्यायो । त्यो सफल हुन सकेन । तर पछि विश्वासको मत लिने क्रममा कांग्रेसबाट देउवामाथि अन्तर्घात भयो । कांग्रेसका दुई सांसद अनुपस्थित भएपछि सरकार ढल्यो । त्यसपछि एमालेलाई साथ लिएर चन्दले सरकार बनाए । खिसी गर्नेहरूले 'चमाले' (चन्द र एमाले) भन्ने गरेको सरकारमै भन्दथे । सरकारमै सहभागी राप्रपाका केही मन्त्री अविश्वास प्रस्तावका पक्षमा लागेपछि उक्त प्रस्ताव पारित हुने भयो । कमल थापासहितका मन्त्रीले 'मुसा प्रवृत्ति' देखाएको भन्दै चन्दले राजीनामा दिए ।

त्यसपछि कांग्रेसको सहयोगमा सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन भयो । २०५४ सालमा प्रधानमन्त्री थापाले संसद् विघटनका लागि दरबारमा सिफारिस गरे । त्यस समयमा पार्टी फुट्यो र लोकन्द्रबहादुर चन्दले राप्रपा (चन्द) गठन गरे । २०५६ सालको आम चुनावमा राप्रपाले ११ स्थान जित्यो तर राप्रपा (चन्द) को पत्तासाफ भयो । चन्द राप्रपामा फर्किए तर राजेश्वर देवकोटा राप्रपा (चन्द) मै रहे।

२०५९ सालमा वीरगन्जमा भएको राप्रपा महाधिवेशनबाट पशुपतिशमशेर राणा अध्यक्षमा निर्वाचित भए । राजाको शासनकालमा सो दलभित्र विवाद देखियो । थापा प्रधानमन्त्री भएका बेला राणा र चन्दले महँगीसहितका विषयमा सडक आन्दोलन गरे र पार्टीभित्र चर्को विवाद निम्तियो । २०६० सालमा थापासहितका सरकारमा रहेकाहरूले राप्रपा छाडे । २०६१ सालमा सूर्यबहादुर थापा र प्रकाशचन्द्र लोहनीसहितका नेताले राष्ट्रिय जनशक्ति पार्टी खोले । राजाको माघ १९ को शाही कदमपछि कमल थापा गृहमन्त्री भए । राजा ज्ञानेन्द्रका कदमको विषयमा राप्रपाभित्र विवाद देखियो । थापाले राणालाई अध्यक्षबाट हटाए तर अदालतले राणालाई पुनर्स्थापित गरिदियो । कमल थापाले राप्रपा नेपाल खोले । राजाको प्रत्यक्ष शासनकालमा भएको स्थानीय चुनाव राप्रपाले बहिष्कार गर्‍यो तर राप्रपा नेपाल सहभागी भयो । राजेश्वर देवकोटा राप्रपा नेपालमा फर्किए ।

२०६२/०६३ मा लोकतन्त्र स्थापना भएपछि उनी राप्रपामा गए । राप्रपा नेपालले त्यस समयमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रका विपक्षमा आफ्नो एजेन्डा अघि सार्‍यो । पहिलो संविधानसभा चुनावमा राप्रपा नेपाल, राप्रपा र राजपाले छुट्टाछुट्टै चुनाव लडे । राजपा र राप्रपाले संघीयता र गणतन्त्रको लाइन लिए पनि राप्रपा नेपाल स्थानीय स्वायत्त शासनसहित हिन्दु राष्ट्रकै पक्षमा रह्यो।

२०६९ सालमा राजपा र राप्रपाबीच एकीकरण भयो। २०७० सालमा भएको महाधिवेशनमा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीच चक्रीय प्रणालीमा नेतृत्व गर्ने सहमति भयो। त्यसबाट असन्तुष्ट राजेश्वर देवकोटा बाहिरिए। २०७० सालमा राप्रपाले प्रत्यक्षमा तीन र समानुपातिकतर्फ दस स्थान जित्यो।

राप्रपा नेपालले प्रत्यक्षतर्फ एक स्थान नजिते पनि समानुपातिकतर्फ २५ स्थान जित्दै आफूलाई दोस्रो संविधानसभामा चौथो राजनीतिक दलको रूपमा उभ्यायो । राप्रपाभित्र चक्रीय प्रणालीमा नेतृत्व गर्ने विषयले ठूलो विवादको रूप लियो। पार्टी अध्यक्षबाट राजीनामा दिए पनि थापाले राणालाई अध्यक्ष बनाउन सहयोग गरे । चन्दले आफू अध्यक्ष रहेको दाबी गरे पनि लामो कानुनी झमेला सुरु भयो ।

राप्रपा नेपालमा पनि सामानुपातिक सभासद छान्ने विषयमा विवाद भयो। यो विषयमा विवाद बढ्दै गएपछि केशरबहादुर विष्टलगायतले दल छाडे। पद्मसुन्दर लावतीसहितका नेता असन्तुष्ट थिए । यसरी विवाद देखिनुमा राजतन्त्रका विषयमा अध्यक्ष थापाले लिएका अडानबाट असन्तुष्ट पूर्वराजा ज्ञानेन्द्रको भूमिका रहेको तत्कालीन राप्रपा नेपालका नेताहरूले अनौपचारिक छलफलमा बताउने गरेका छन् ।

सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी राप्रपामा तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापा राणाको साथ छाडेर चन्दतर्फ लागे। त्यसपछि सो दलभित्र नयाँ ढंगले अघि बढ्न सहमति भयो। त्योसँगै राप्रपा नेपालसँग एकीकरणको विषय पनि अघि बढ्यो। दुवैतर्फ वार्ता समिति बने। एकीकृत दललाई हिन्दु राष्ट्रवादी दल बनाउने गरी दुवै दलबीच सैद्धान्तिक सहमति भयो। महाधिवेशनसम्म राष्ट्रिय अध्यक्षमा पशुतिशमशेर र पार्टी अध्यक्ष कमल थापालाई बनाउने सहमति भयो।

राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारको पक्षमा मतदान गर्‍यो भने राप्रपा नेपालले विपक्षमा मतदान गरेको थियो। यसबीच अन्तिम समयमा राणाले दुवै अध्यक्षको कार्यक्षेत्र र अधिकारका विषय प्रस्ट नभएको भन्दै एकीकरणलाई टारिदिए। राप्रपा सरकारमा सहभागी भयो भने राप्रपा नेपाल विपक्षमा बस्यो। तर, मंसिर ६ गते दुवै दलबीच एकीकरणको घोषणा भयो। फागुनको पहिलो साता राजधानीमा एकता महाधिवेशन भयो। एकीकरण हुँदा राप्रपा नेपालको 'गाई' भएको पार्टीको झन्डा बनाउने र चुनावचिह्न 'हलो' राख्ने सहमति भएको थियो।

महाधिवेशनले राप्रपा अध्यक्षमा कमल थापालाई निर्वाचितमात्रै गरेन, गाईलाई चुनावचिह्न बनाउने निर्णयसमेत गर्‍यो। यस विषयमा राणा नजिकका राप्रपा नेताहरू असन्तुष्ट थिए। महाधिवशेनलगत्तै अर्का वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले अध्यक्ष थापाको कार्यशैलीमाथि प्रश्नचिह्न उठाउँदै पार्टी छाडे। विपक्षमा मतदान गरेको दाहाल नेतृत्वको सरकारमा अध्यक्ष थापा स्वयं सहभागी भए । पहिलो चरणको स्थानीय चुनावको मुखमा पार्टी सरकारबाट बाहिरियो। राप्रपाले पनि शर्मनाक पराजय बेहोर्‍यो । पार्टीभित्रको विवाद फेरि सतहमा देखियो। वरिष्ठ नेता राणाले विज्ञप्ति निकालेर अध्यक्ष थापाको आलोचना गरे ।

राणा ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर जम्मा गरेर पार्टी फुटाउने अभियानमा लागेको थाहा पाएपछि अध्यक्ष थापाले असार २९ गते केन्द्रीय समिति विस्तार गरेर निर्वाचन आयोगलाई जानकारी गराए। त्यस समयमा राप्रपाको विभाजन टर्‍यो तर यो स्थितिले लामो समयसम्म निरन्तरता पाएन। केन्द्रीय सदस्य तथा सांसदको आवश्यक संख्या पुर्‍याएको भन्दै राणाले राप्रपा (प्रजातान्त्रिक) दल दर्ता गरेका थिए ।

प्रकाशित : मंसिर १७, २०७८ २०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×