१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अमेरिकाका ५ राज्यमा ओमिक्रोन भेरिएन्ट देखियो, यात्रामा कडाइ

भारत र श्रीलंकासहित ३१ देशमा ओमिक्रोन भेरिएन्टको संक्रमण पुष्टि

काठमाडौँ — ओमिक्रोन भेरिएन्टका संक्रमित देखिन थालेपछि अमेरिकामा यात्रासम्बन्धी प्रावधानमा कडाइ गर्न थालिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका हुन् ।

अमेरिकाका ५ राज्यमा ओमिक्रोन भेरिएन्ट देखियो, यात्रामा कडाइ

राष्ट्रपति बाइडेनको योजनामा लकडाउन र कोरोना खोपसम्बन्धी विद्यमान प्रावधानमा परिवर्तन गर्ने कुरा भने नभएको बताइएको छ ।

अमेरिकाका क्यालिफोर्निया, कोलोराडो, मिनेसोटा, न्युयोर्क र हवाई राज्यमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट देखिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमण पुष्टि भएका व्यक्ति पछिल्लो समय कतै यात्रा गरेका थिएनन् । उनीहरूलाई हल्का लक्षण मात्र देखिएको पनि स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

नयाँ नियमानुसार सबै अन्तर्राष्ट्रिय यात्रुहरूले अमेरिका प्रवेश गर्नुअघि कोरोनाको नेगेटिभ परीक्षण रिपोर्ट पेस गर्नुपर्नेछ । त्यस्तै विमान, रेल र बसमा मार्चसम्मलाई मास्क अनिवार्य गरिएको छ । त्यस्तै अमेरिकी सरकारले परीक्षणको दायरा बढाउनका लागि घर-घरमै परीक्षणको व्यवस्था गर्ने पनि बताएको छ ।

अहिलेसम्म दक्षिण एसियाका भारत र श्रीलंकासहित विश्वका ३१ देशमा कोरोनाको यो भेरिएन्ट फैलिइसकेको छ । भारतमा बिहीबार नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएको थियो भने श्रीलंकामा शुक्रबार एक जनामा संक्रमण पुष्टि भएको हो । नाइजेरियाबाट नोभेम्बर २३ मा फर्किएका एक नागरिकलाई ओमिक्रोनको संक्रमण देखिएको श्रीलंकाली सञ्चारमाध्यम न्युजफर्स्टले जनाएको छ ।

३० पटकभन्दा बढी उत्परिवर्तित भएको भनिएको ओमिक्रोन भेरिएन्ट कति संक्रामक छ र खोप कति प्रभावकारी छ भन्नेबारे भने प्रस्ट भइसकेको छैन । ओमिक्रोन भेरिएन्टले कोरोनाको अर्को लहर निम्तिन सक्ने भन्दै विश्वका अधिकांश देशले अफ्रिकी देशहरूबाट हुने यात्रामा रोक लगाएका छन् । नेपाले पनि बिहीबार ९ देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ ।

कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को जोखिम बढेको भन्दै सरकारले दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । बिहीबार रातिदेखि लागू हुने गरी दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बावे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउन रोक लगाइएको हो।

अहिलेसम्म ओमिक्रोन देखिएका मुलुकहरू

  • श्रीलंका
  • भारत
  • दक्षिण अफ्रिका
  • बोत्सवाना
  • नेदरल्यान्ड्स
  • हङकङ
  • इजरायल
  • बेल्जियम
  • बेलायत
  • जर्मनी
  • अष्ट्रेलिया
  • इटाली
  • चेक गणतन्त्र
  • डेनमार्क
  • अस्ट्रिया
  • क्यानडा
  • स्विडेन
  • स्विजरल्यान्ड
  • स्पेन
  • पोर्चुगल
  • जापान
  • फ्रान्स
  • घाना
  • दक्षिण कोरिया
  • नाइजेरिया
  • ब्राजिल
  • नर्वे
  • अमेरिका
  • साउदी अरेबिया
  • आयरल्यान्ड
  • संयुक्त अरब इमिरेट्स

प्रकाशित : मंसिर १७, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?