भारतको कर्नाटकमा भेटिए 'ओमिक्रोन' भेरिएन्टका २ संक्रमित- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको कर्नाटकमा भेटिए 'ओमिक्रोन' भेरिएन्टका २ संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमित भेटिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार कर्नाटकमा २ जनामा ओमिक्रोन संक्रमित भेटिएको जनाएको छ ।

मन्त्रालयले संक्रमितहरु ६६ वर्ष र ४६ वर्षका पुरुष भएको र उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको र अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको जनाएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालका अनुसार जेनाेम सिक्वेन्सि‌ङद्वारा पत्ता लगाइएकाे हाे । स‌ंक्रमित दुवैमा कुनै गम्भिर लक्षणहरु नदेखिएकाे उनले बताए ।

सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा याे भेरिएन्टको कोरोना पुष्टि भएको थियाे ।विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घाेषणा गरिसकेकाे छ । भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएकाे र तीव्र रूपमा फैलिने भन्दै सतर्क रहन स‌ंगठनले चेतावनी दिएको छ ।

नयाँ भेरिएन्ट भारतसहित २९ वटा देशमा फैलिसकेकाे छ । हालसम्म ३ सय ७३ जना संक्रमित भएका छन् । अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, बोट्सवाना, जर्मनी, इजरायल, बेलायत, बेल्जियम आदि देशमा याे भेरिएन्ट देखा परिसकेकाे छ ।

प्रकाशित : मंसिर १६, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्

भारतबाट तेलको मूल्य घटेर आयो, घाटा रहेको भन्दै आयल निगमले नघटाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । निगमलाई आएको पछिल्लो सूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको छ । डिसेम्बर १ (बुधबार) पठाइएको नयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढेको निगमले जनाएको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेपछि पेट्रोल/डिजेलमा सामान्य घटेको छ । तर, ग्यासको मूल्य झन् बढेर आएको छ,’ निगमका एक अधिकारीले भने, ‘समग्रमा हेर्दा १५ दिनको नोक्सानी करिब २ अर्ब रुपैयाँ छ । नोक्सानीको अवस्था रहेकाले तत्काल मूल्य घटाउन नसकिने ती अधिकारीले बताए । उनका अनुसार आइओसीले पठाएको नयाँ मूल्य अनुसार पनि निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १०.३५ रुपैयाँ, डिजेलमा ७.४४ रुपैयाँ घाटा छ । त्यस्तै एलपी ग्यासमा प्रतिसिलिन्डर ७ सय ५८.२५ रुपैयाँ नोक्सानी छ ।

विक्रीबितरणको आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । यस्तै, ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ । तर, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा छ । ‘ती सबै जोड्दा १५ दिनको नोक्सानी १ अर्ब ९७ करोड ६७ लाख देखिन्छ,’ ती अधिकारीले भने । कच्चा तेलसँगै डलरको मूल्यले नेपालको मूल्यमा असर पर्दछ । असर पार्ने अर्को कारण भने भन्सार दर हो । इन्धनमा लाग्ने उच्च भन्सार दरले पनि इन्धनको मूल्य उच्च छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारतले कर घटाएर सर्वसाधरणलाई राहत दिएको थियो । तर, नेपालमा कर घटाइएको छैन । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ ।



प्रकाशित : मंसिर १६, २०७८ १६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×