अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय रद्द, विदेशी विद्यार्थी तत्काल आउन नपाउने- विश्व - कान्तिपुर समाचार

अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय रद्द, विदेशी विद्यार्थी तत्काल आउन नपाउने

यो निर्णयसँगै यही बुधबारदेखि अस्ट्रेलिया आउनका लागि तयारी अवस्थामा बसेका सयौं नेपाली विद्यार्थी समेत प्रत्यक्ष प्रभावित बनेका छन् ।
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले यही बुधबारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले दुई साता सीमानाका बन्द गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री स्कट मरिसनले केहीदिनअघि यही बुधबारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया भित्र्न दिने निर्णय गरेका थिए । 

सरकारले अफ्रिकी मुलकबाट भित्रिएको ओमिक्रोन भेरियन्टका बारेमा थप जानकारी लिनका लागि यो निर्णय लिइएको जनाएको छ । सरकारको यो निर्णयसँगै यही बुधबारदेखि अस्ट्रेलिया आउनका लागि तयारी अवस्थामा बसेका सयौं नेपाली विद्यार्थी समेत प्रत्यक्ष प्रभावित बनेका छन् । डिसेम्बर १ तारिखदेखि सीमा खोल्ने निर्णय भएसँगै टिकट काटेर बसेका विद्यार्थीले अहिलेको सरकारको निर्णय अनुसार कम्तिमा पनि डिसेम्बर १५ तारिखसम्म अस्ट्रेलिया प्रवेश पाउने छैनन् ।

सरकारको यो निर्णय अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका विदेशी नागरिकलाई लागू भएपनि अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, उनीहरुका नजिकका नातेदार लगायतलाई भने लागू नहुने समाचारमा जनाइएको छ ।

अस्ट्रेलियाले आफ्नो योग्य जनसंख्याको ८५ प्रतिशतभन्दा धेरैले दोहोरो खोप लगाएपछि बुधबारदेखि विभिन्न २८ किसिमका अस्ट्रेलियाली भिसा भएका र मान्यता प्राप्त दोस्रो खोप लगाइसकेका विदेशीलाई अस्ट्रेलिया आउन दिने निर्णय गरेको थियो । जसमा विद्यार्थीका साथै दक्ष कामदार, शरणार्थी, वर्किङ होलिडे लगायतका थिए । तर, सोमबार बसेको राष्ट्रिय सुरक्षा कमिटीको बैठकले यो निर्णयलाई तत्कालका लागि रोक्ने निर्णय गरेको हो । यस समयभित्रमा नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा जानकारी लिनुका साथै खोपको प्रभावकारीता, यस भाइरबाट हुनसक्ने प्रभाव र संक्रमणको दर लगायतका बारेमा अध्ययन गरिने उल्लेख गरिएको छ ।

अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीले नेपालबाट आउनका लागि टिकट लिइसकेका विद्यार्थीलाई सरकारको आदेशको पालना गर्न सुझाव दिएका छन् । उनीहरुले नेपालबाट अस्ट्रेलिया आउनका लागि सयौं विद्यार्थीले टिकट लिइसकेको भएपनि यहाँस्थित सरकारको निर्णय र नेपालमा रहेको अस्ट्रेलियाली दूतावासको सूचनालाई आधिकारिक मानेर निर्णय गर्न समेत सुझाएका छन् । सिड्नीका व्यवसायी अर्जुन थपलियाले अस्ट्रेलिया आउनका लागि हत्तारिनुभन्दा पनि सरकारको निर्णय र सर्तलाई पालना गरेर अस्ट्रेलिया आउन आग्रह गरे । ‘हो धेरै विद्यार्थीले टिकट लिइसक्नुभएको छ तरपनि अहिलेको परिस्थितीमा कम्तिमा पनि दुई साता अस्ट्रेलिया आउन सम्भव छैन भन्ने बुझ्न आवश्यक छ, ’ उनले कान्तिपुरसँग भने ।

प्रकाशित : मंसिर १३, २०७८ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्

भेट्रान कपको उपाधि एकेएफसीलाई

नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा पहिलोपटक शनिबार आयोजना गरिएको भेट्रान फुटबल कपको उपाधि एडिलेड खुकुरी फुटबल क्लब (एकेएफसी) ले जितेको छ । प्रतिस्पर्धी नेपाली पाठशालाको निलो टीमलाई ७–१ ले हराउँदै उक्त क्लबले उपाधि चुमेको हो ।

यहाँ रहेको नेपाली तथा नेपालीभाषी ३५ वर्षमाथिकाको ६ वटा क्लब सम्मिलित प्रतियोगिता लिग चरणमा खेलाइएको थियो । प्रतियोगितामा विजयी टीम एकेएफसीका साथै आयोजक नेपाली विद्यालयको दुई टिम, एडिलेड ड्रागन स्पोर्टिङ क्लब, ब्रदर्स युनाइटेड फुटबल क्लब र नेपाली समाजले सहभागिता जनाएका थिए । अन्तिम समयमा समाजले खेलबाट हात झिकेपछि एकेएफसी र नेपाली विद्यालय निलो सोझै सेमिफाइनलमा पुगेका थिए ।

प्रतियोगितामा एकेएफसीका दिनेश ढुंगानाले बेष्ट प्लेयर, हाई स्कोररको उपाधि जितेका थिए । यसका साथै उत्कृष्ट गोलकिपर थिर गुरुङ, उत्कृष्ट मिडफिल्डर राजन लामिछाने र उत्कृष्ट डिफेण्डर शिशिर गौतम बनेका थिए । प्रतियोगितामा बालबालिकाको समेत प्रतियोगिता आयोजना गरिएको थियो जसमा नेपाली विद्यालयलाई हराउँदै नेपाली पाठशालाका बालबालिकाको टिम विजयी बनेको थियो ।

दोस्रो पुस्ताका नेपालीलाई नेपाली भाषा सिकाउँदै आएको नेपाली पाठशालाले पहिलोपटक प्रतियोगिताको आयोजना गरेको थियो । कोरोना भाइरसका कारण नेपाली खेल प्रतियोगिता हुन नपाइरहेको अवस्थामा पाठशालाले सबैलाई एकैस्थानमा ल्याउने र आपसी भाइचारा बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको आयोजक संस्थाका प्रमिल दहालले बताए । उक्त प्रतियोगिताका विजयीलाई मेडल र ट्रफी दिइएको थियो भने अन्य विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित : मंसिर ११, २०७८ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×