पेरुमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प- विश्व - कान्तिपुर समाचार

पेरुमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

एजेन्सी

लिमा — पेरुमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि यहाँका राष्ट्रपति पेद्रो क्यास्तिल्लो तेरोन्सले सबै नागरिकहरूलाई धैर्य रहन भन्दै भूकम्प प्रभावितहरूप्रति ऐकवद्धता जनाएका छन् ।

उनले प्रभावितहरूका लागि सहयोगको अपिल समेत गरेका छन् । आइतबार बिहान पेरुको अमेजन क्षेत्रमा ७.५ म्याग्निच्यूडको भूकम्प गएको हो । जसकारण स्थानीय आदिवासी समुदायका मानिसहरू सुरक्षित स्थानको खोजीमा सडकमा निस्किएका थिए ।

मानवीय क्षति नभए पनि केही भौतिक संरचनामा क्षति पुगेको बताइएको छ । घटनापछि राष्ट्रपति पेद्रोले सम्बन्धित मन्त्रालय र विभागहरूलाई सहयोग जुटाउन पनि निर्देशन दिएका छन् ।

स्थानीय मिडियाका अनुसार अमेजन क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । तैपनि राजधानी लिमा र अन्य छिमेकी सहरमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । भूकम्प ११२ किमि गहिराइसम्म गएको पनि बताइएको छ ।

भूकम्पपछि सुनामीको भने संकेत गरिएको छैन । आइतबार नै यसअघि ५.२ म्याग्निच्यूडको भूकम्पको महसुस गरिएको बताइएको थियो ।

प्रकाशित : मंसिर १२, २०७८ २३:५१
प्रतिक्रिया
पठाउनुहोस्

निर्वाचन कार्यतालिका: रातभर उम्मेदवारीको काम, सोमबार मतदान

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको दसौं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष विजय  सुब्बाले आइतबार राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । 

निर्वाचन कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशन आइतबार राति ११ बजेको समय राखिएको छ । त्यस्तै, मतदाता नामावलीउपर दाबी, विरोध र सुधारको समय १५ मिनेट राखिएको छ ।

सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली र त्यसमाथिको दाबीवरोध एवं सुधारको समय घर्किइसकेको छ ।

११ बजेर २० मिनेटपछि ५ मिनेटमा दाबी विरोध र सुधारका लागि परेको सूचना प्रकाशित गर्ने समय छुट्याइएकोमा ५ मिनेटमा दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने समय निर्धारण गरिएको छ ।

राति ११:३० देखि एक घण्टाको समय उम्मेदवारी दर्ताका लागि दिइएको छ । राति सवा २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ ।

सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।


प्रकाशित : मंसिर १२, २०७८ २३:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×