चीनमा तीन सन्तान नीतिका लागि तयारी, पुरूषलाई अझ धेरै सुत्केरी बिदा- विश्व - कान्तिपुर समाचार

चीनमा तीन सन्तान नीतिका लागि तयारी, पुरूषलाई अझ धेरै सुत्केरी बिदा

लक्ष्मी लम्साल

बेइजिङ — आगामी वर्षदेखि लागू हुने गरी तेस्रो सन्तानको नीति अघि सारेको चीनले नीति सफलताका लागि अनेकन योजनाहरू सार्वजनिक गरेको छ। सन् २०२२ को जनवरीदेखि लागू हुने गरी अधिकांश प्रान्त तथा नगरपालिकाहरूले विदा तथा सेवासुविधाका योजनाहरू सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फाइल तस्बिर : रोयटर्स

मातृत्व बिदालाई ६० वा सोभन्दा बढी बनाउनेदेखि पुरूष र दम्पति विदा, विवाह, घुमघाम, ३ वर्षसम्मका बच्चाको स्याहारसुसार बिदासहित सबैभन्दा लामो बिदासम्मका अनेकन ‘स्किम’हरू अघि सारिएको छ । त्यस्तै अपांगता, अक्षमता भएका वा बच्चा गुमाएका अभिभावकको सहायता रकम १० हजार युआनदेखि विशेष सहायता कोष पनि घोषणा गरिएको छ ।

सबैभन्दा घना मानिने केन्द्र शासित छोङछिङ नगरपालिकाले सुत्केरी आमा र दम्पतिकै लागि वार्षिक विदाहरू चीनकै सबैभन्दा लामो भनेर घोषणा गरिसकेको छ । यसैगरी चीनका धेरै प्रान्त र सहरहरूले जन्मदरको लक्ष्यलाई साकार तुल्याउन अनेकन सुधारका कदमहरू चालेका छन् । हनान, च्याङ्सी, सिचुआन, चच्याङ लगायत अन्य प्रान्तहरूले तीन वर्षभन्दा कम उमेरका बच्चाहरू भएका दम्पतीहरूलाई प्रत्येक वर्ष १० दिनको अभिभावकीय बिदा दिने व्यवस्था गरेका छन् । आन्हुई प्रान्तले ६ वर्षभन्दा कम उमेरका बच्चाका आमाबाबुका लागि बिदा विस्तार गरेर दुवै पक्षका लागि वार्षिक १० दिन बिदा थपेको छ ।

बेइजिङमा नोभेम्बर २६ तारिख बसेको १५ औं बेइजिङ ‘म्युनिसिपल पिपुल्स कंग्रेस’ स्थायी समितिको ३५औं बैठकले बेइजिङको जनसङ्ख्या र परिवार नियोजन नियमावलीलाई संशोधनसहित पारित गरेको छ । संशोधित नियमहरूले जन्म प्रतिबन्ध सम्बन्धी नियम खारेज गरेर एक जोडीले तीनवटा बच्चा जन्माउन सक्ने बनाएको छ । राज्यले तोकेको सुत्केरी बिदाको अतिरिक्त महिलाले पाउने सुत्केरी बिदा ३० दिनबाट बढाएर ६० दिन पुर्‍याएको छ । पुरुषले १५ दिनको सुत्केरी बिदा पाउनेछन् । पेकिङ युनिभर्सिटी जनसंख्या अध्ययन विभागका प्रोफेसर लु च्येह्वाले भने, ‘चीनले परिवार नियोजनमा खुकुलो नीति लिनुपर्ने कारणमध्ये घट्दो जन्मदर र युवापुस्ताको अभाव नै हो ।’

गत जुनमा बसेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको बैठकले प्रति दम्पती तीन सन्तानको नीति प्रस्तुत गरेको थियो । चीनमा बुढ्यौली उन्मुख जनसंख्यालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो । चीनमा सन् १९८० को दशकमा चीनमा एक सन्तान नीति लागू भएको थियो भने १५ नोभेम्बर २०१३ मा एक मात्र बच्चा भएको दम्पतीले दुई बच्चा जन्माउन सक्ने नीति ल्याइएको थियो । तर त्यो त्यति प्रभावकारी नभएपछि सन् २०१६ देखि कुनै पनि दम्पतीले दुई सन्तान जन्माउन सक्ने नीति ल्याइयो । प्रजनन दर सोचेजस्तो प्रभावकारी नभएपछि अनेकन ‘स्किम’का साथ चीनले २०२२ देखि तेश्रो सन्तानको नीतिलाई प्रश्रय दिन थालेको छ ।

प्रकाशित : मंसिर ११, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको प्रचारप्रसार समितिले पायो पूर्णता

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशन प्रचारप्रसार समितिले पूर्णता पाएको छ । प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्मा संयोजकत्वको समितिलाई शर्माले पूर्णता दिएका हुन् ।

संयोजक शर्माले समितिमा केन्द्रीय सदस्यहरू जीवन परियार, किरण यादव, किरण गिरी र अभिषेक प्रताप शाहलाई मनोनीत गरेका छन् । त्यस्तै, आमन्त्रित केन्द्रीय सदस्यहरु जनकराज कलौनी र दिलीप राई पनि प्रचारप्रसार समितिमा मनोनीत भएका छन् ।

समितिको सदस्यका रुपमा पार्टीको सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरु, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरु, प्रेस युनियनका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु, पूर्वकेन्द्रीय अध्यक्षहरु, केन्द्रीय समितिका सल्लाहकारहरु र जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरु पनि सदस्य रहनेछन् ।


प्रकाशित : मंसिर ११, २०७८ १८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×