अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णय- विश्व - कान्तिपुर समाचार

अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णय

डिसेम्बर १ देखि विद्यार्थी र दक्ष कामदार आउन पाउने
नारायण खड्का

सिड्नी — अस्ट्रेलियाले करिब २० महिनापछि आफ्नो अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार पत्रकार सम्मेलन गर्दै योग्य अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई डिसेम्बर १ देखि प्रवेश अनुमति दिइने बताएका हुन् ।

अस्ट्रेलियाको खोप लगाउन योग्य जनसंख्याको ८५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेपछि प्रधानमन्त्रीको यो निर्णय आएको हो । विद्यार्थीसहित अन्य विदेशीका लागि सीमाना खुला गरिएसँगै करिब २ लाख भिसावाहक केही महिनाभित्रैमा अस्ट्रेलिया भित्रिने सम्भावना रहेको छ । यद्यपि अस्ट्रेलिया आउने विद्यार्थीले क्वारेन्टाइन बस्न पर्ने वा नपर्ने निर्णय भने स्थानीय राज्य सरकारको हुनेछ ।

अस्ट्रेलियामा अहिलेसम्म सबैभन्दा बढी विद्यार्थी आउने राज्यहरु न्यु साउथ वेल्स र भिक्टोरियाले पूर्ण मात्राको खोप लगाइसकेका विदेशी नागरिकलाई क्वारेन्टाइन बस्न नपर्ने बताइसकेका छन भने राजधानी रहेको क्यापिटल टेरिटोरीमा आउन चाहनेले समेत क्वारेन्टाइन बस्न पर्नेछैन । विद्यार्थीले ३ दिनभित्रको कोरोना भाइरस नेगेटिभको प्रमाण भने पेस गर्नुपर्नेछ ।

गृह मन्त्रालयद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार २८ वटा विभिन्न शीर्षकका भिसावाहक विदेशी नागरिकले डिसेम्बर १ तारिखदेखि आउन पाउनेछन् । जसमा विद्यार्थीका साथै दक्ष कामदार, शरणार्थी, वर्किङ होलिडे, मानवीय, वर्क एन्ड होलिडे लगायतका छन् ।

यसअघि यहाँ आउनका लागि ‘एक्जेम्पसन’ का लागि आवेदन दिनुपर्ने प्रावधान राखिएको थियो । यो प्रावधान हटाएसँगै अब पूर्ण खोप लगाएका र उपयुक्त भिसा भएका हरेक विदेशीले अस्ट्रेलिया प्रवेश पाउनेछन् । प्रधानमन्त्री मरिसनले दक्ष कामदार र विद्यार्थीलाई भित्र्याउन पाउनु अस्ट्रेलियाको लागि महत्त्वपूर्ण भएको बताए । अस्ट्रेलियाको अर्थतन्त्र तथा कामदार परिपूर्तिका लागि यो अत्यन्तै महत्त्वको विषय भएको उनको भनाइ छ ।

६ राज्य तथा २ टेरिटोरी रहेको अस्ट्रेलियाका ४ राज्य तथा एक टेरिटोरीले अहिले पनि पूर्ण खोप लगाइसकेका विदेशीका लागि लगाइएको क्वारेन्टाइन मापदण्ड हटाएका छैनन् ।

नेपाली कहिले आउलान्?

विद्यार्थीको क्षेत्रमा काम गरिरहेका व्यवसायी सरकारको निर्णयसँगै ठूलो संख्यामा नेपाली विद्यार्थी डिसेम्बर १ तारिखदेखि आउनसक्ने बताउँछन् । सयौँ नेपाली विद्यार्थी भिसा हातमा लिएर अस्ट्रेलिया आउने तयारीमा रहेका छन् । कोरोना महामारीका कारण उनीहररू अस्ट्रेलिया आउन पाएका थिएनन् । उनीहरूले सरकारले तोकेको निश्चित मापदण्ड भने पूरा गर्नुपर्नेछ ।

दक्षिण अस्ट्रेलियाका व्यवसायी अञ्जल पाण्डेले डिसेम्बर १ तारिखदेखि भिसा लागेका र पूर्ण खोप लगाएका नेपाली विद्यार्थी सिड्नी, मेलबर्न र क्यानबेरामा अध्ययनका लागि आउन पाउने बताए । ‘नेपालमा महिनौंदेखि अड्किएर बसेका विद्यार्थीका लागि अत्यन्तै खुसीको खबर हो,’ उनले भने । तर पनि राज्य सरकार तथा केन्द्र सरकारद्वारा दिइएको सूचना तथा जानकारीलाई मात्र आधिकारिक मानेर निर्णय लिन उनले सुझाव दिए ।

प्रकाशित : मंसिर ६, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्

सहज छैन देउवालाई

आफ्नै समूहका विजय गच्छदार, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी सावद, रमेश लेखकलगायत नेताले पदाधिकारीमा दाबी गरेपछि मिलाउन सकस
प्रतिस्पर्धी कित्ताको अन्तरसंघर्षमा खेलेर लाभ लिने प्रयास
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार बनाउन सकस चलिरहेका बेला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा आफ्नो टिम घोषणाको गृहकार्यमा छन् । आफ्नो समूहका नेताहरूले टिम घोषणाको प्राधिकार देउवालाई दिइसकेका छन् । तर, उनलाई पदाधिकारी आकांक्षी मिलाउन चुनौती छ ।

प्रधानमन्त्रीमा रहेर प्रतिस्पर्धामा उत्रँदा देउवाले धेरै खालका दबाब र जोखिम महसुस गरिरहेको उनीनिकट नेताहरूले बताएका छन् । नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्रीमा रहेर चुनाव लड्दा लाभ र जोखिम दुवै हुने बताए । राज्यसत्ताको केन्द्रमा रहँदा नेता र कार्यकर्ता व्यवस्थापनमा सहज हुने भए पनि कार्यकर्ताको भावना र इतरसमूहले लिने ‘गठजोड’ का कारण देउवालाई जोखिमको डर उत्तिकै छ ।

‘प्रधानमन्त्री पदमा रहेरै चुनावमा लड्दा असफल भइयो भने धेरै खालका प्रश्न उठ्न सक्छन्, उहाँको राजनीतिक जीवन र व्यक्तित्वलाई समेत राम्रो गर्दैन,’ श्रेष्ठले भने, ‘यही देखेर जोखिम नलिनुहोस्, मलाई उत्तराधिकारी बनाएर उम्मदेवार बनाउनुहोस् भनेर भन्दै आएको छुँ । उहाँले छाड्दा आमकार्यकर्ताको भावना पूरा हुन्छ । साथीहरूबीच लोकप्रिय बन्नुहुन्छ ।’

देउवा अहिले पार्टीमा मात्रै नभई राष्ट्रिय राजनीतिकै केन्द्रमा छन् । तीन सातापछि हुने महाधिवेशनबाट पुनः सभापति निर्वाचित हुने र आगामी वर्ष हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नै नेतृत्वमा टिकट (पार्टीका उम्मेदवार) वितरण गर्ने योजना देउवाको छ । उनीनिकट एक नेताका अनुसार ‘कम्युनिस्ट’ पार्टीहरूको ‘टुटफुट’ का कारण बहुमत ल्याउन सक्ने, बहुमत नआए पनि कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन सुविधाजनक ‘पोजिसन’ हुने र छैटौं पटक प्रधानमन्त्री बन्ने देउवाको योजना छ ।

‘सभापति निर्वाचित हुन सक्नुभएन भने तत्कालका लागि गठबन्धन सरकारको नेतृत्व नै के हुने भन्ने असहज स्थिति उत्पन्न हुन्छ, प्रधानमन्त्री निरन्तर रहे पनि पार्टीको शक्ति सभापति हुने समूहसँग हुन्छ, सरकार चलाउन अप्ठ्यारो पर्न थाल्छ,’ देउवानिकट ती नेताले भने, ‘अर्कोतर्फ सभापति नहुँदा उमेर, स्वास्थ्य सबै दृष्टिले राजनीतिक जीवनबाटै ‘रिटायर्ड’ हुने अवस्था रहन्छ ।’

यस्ता सबै जोखिम नियालिरहेका देउवा यस पटक पनि आफूइतर कित्ताको अन्तरसंघर्षमा खेलेर लाभ लिने प्रयासमा लागिरहेका छन् । दुई दशक लामो सहकार्यबाट अलग भई उपसभापति विमलेन्द्र निधिले सभापतिकै उम्मेदवारी घोषणा गरेपछि देउवा उनको अभावमा हुने क्षति पूर्ति गर्न खोजिरहेका छन् । त्यसका लागि पौडेल समूहबाट सभापतिका आकांक्षी रहेका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहमध्ये एकलाई आफ्नो कित्तामा ल्याउने जोडबलमा समेत छन् ।

पौडेल पक्षमा रहेका नेता अर्जुननरसिंह केसीलाई १३ औं महाधिवेशनमा देउवाले आफ्नो टिमबाट महामन्त्री उठाएका थिए । पहिलो चरणमा नेतृत्वका लागि देउवा, पौडेल र कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि ‘रिङआउट’ भएका कृष्णप्रसाद सिटौलालाई आफ्नो पक्षमा पारेर देउवा सभापति निर्वाचित भएका थिए । यस पटक पनि उनले संस्थापनइतर खेमाको असन्तुष्टिबाट लाभ लिन चाहिरहेका छन् ।

पार्टी र सरकार सञ्चालनको कार्यशैलीप्रति चर्को असन्तुष्टि राख्दै आएका सिंहले भने देउवासँग मिल्ने सम्भावना कहीँ, कतै नभएको बताए । देउवाप्रति शशांक केही नरम छन् तर आफैंले नेतृत्व गरेको कोइराला समूहको मूलप्रवाहलाई त्यागेर सम्झौता गर्ने पक्षमा उनी नरहेको निकटवर्तीहरूले बताउने गरेका छन् । संस्थापनपक्षीय नेता श्याम घिमिरेले १३ औं महाधिवेशनको तुलनामा यसपटक देउवाका लागि झनै सहज भएको दाबी गरे । ‘प्रधानमन्त्री पदमा रहेर चुनाब लड्दा जोखिम त हुन्छ तर कार्यकर्ता र नेता व्यवस्थापन गर्न यसले झनै मद्दत पुर्‍याउँछ,’ उनले भने ।

पार्टीभित्रका युवा नेताले यसै महाधिवेशनबाट नेतृत्व पुस्तान्तरण हुनुपर्ने मुद्दालाई अघि बढाइरहेका छन् । संस्थापन इतरपक्षबाट पौडेल उम्मेदवार नभएमा यो मुद्दालाई चर्काउन सहज हुने युवा नेताले ठानेका छन् । देउवा र पौडेल समकालीन नेता पनि हुन् । उमेरले देउवा ७६ र पौडेल ७७ वर्षमा छन् । संस्थापन पक्षका एक नेताका अनुसार देउवालाई पौडेल नै उम्मेदवार भइदिए हुन्थ्यो भन्ने छ । विधानले दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्था गरेकाले देउवाका लागि यो अन्तिम कार्यकाल बन्नेछ ।

निधि अलग भएपछि देउवाको उत्तराधिकारी को हुने भन्ने प्रतिस्पर्धा पनि उक्त समूहमा छ । त्यसका लगि उपसभापति विजयकुमार गच्छदार, नेता गोपालमान श्रेष्ठ, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एनपी सावद, रमेश लेखकलगायत नेता अघि बढ्न चाहन्छन् । श्रेष्ठबाहेक सबैले देउवालाई नै नेतृत्वमा अघि सार्ने र आफूहरू पदाधिकारी भएर अर्को महाधिवेशनको जोखना हेर्ने रणनीतिमा छन् ।

श्रेष्ठले यसै पटक देउवालाई सभापति नलड्न सुझाएका छन् । संस्थापनबाट गच्छदार र खड्का उपसभापतिका आकांक्षी हुन् । गृहमन्त्री खाँण, महत, कार्की, सावद र लेखकको दाबी महामन्त्रीमा छ । आफ्नो जोखिम कम गर्न इतरपक्षका प्रभावशाली नेतालाई उपसभापति र महामन्त्रीको ‘अफर’ गरेर तान्ने कसरत छ । यसैकारण पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई चुनौती छ । व्यवस्थापनकै लागि ८ वटा सहमहामन्त्रीलाई बढाएर ११ वटा बनाउने कसरतसमेत देउवाको छ ।

संस्थापन पक्षमै रहेका नेता गोविन्द भट्टराईले निधिको उम्मेदवारीबाट देउवालाई चुनौती थपिएको बताए । ‘संस्थापनमा निधिजी दोस्रो स्थानमा हुनुहुन्थ्यो, उहाँ बाहिरिएपछि अप्ठ्यारो त परेको छ नै, त्यसमा पनि संस्थापनइतर पक्षमा एउटै उम्मेदवार भयो भने जोखिम हुन्छ,’ उनले भने, ‘कार्यकर्ता तथा नेता व्यवस्थापन गर्ने, भूमिका दिने सवालमा सभापतिको राम्रो पक्ष छ ।’ उनले पदाधिकारी व्यवस्थापनका लागि देउवालाई चुनौती नहुने बताए । ‘सभापतिजीले गरेको निर्णयलाई उहाँको समूहले नमान्ने अवस्था म देख्दिनँ, अघिल्लो महाधिवेशनमा अर्जुनरसिंह केसीलाई महामन्त्री उठाउँदा सहजै स्विकारेको समूहले अहिले पनि उहाँको निर्णय नमान्ने अवस्था आउँदैन’ उनले भने, ‘अहिले त पार्टी सभापति मात्रै नभएर मुलुकको प्रधानमन्त्री र राष्ट्रिय राजनीतिकै केन्द्रबिन्दुमा रहेको अवस्था छ । कहाँको क्षतिपूर्ति कहाँबाट पूर्ति गर्ने भन्नेबारेमा रणनीतिक योजना बनाउन सभापति सिपालु हुनुहुन्छ ।’

पौडेल नेतृत्वमा रहेको संस्थापनइतर पक्षले सभापतिमा साझा उम्मेदवार बनाउन सके मात्रै देउवाका लागि चुनौती हुने बुझाइ संस्थपन इतरपक्षकै नेताहरूले बताएका छन् । ‘एउटै उम्मेदवार हुन नसके देउवालाई नै सभापति बुझाइदिए हुन्छ’ भन्ने टिप्पणी केही दिनअघि महामन्त्री शशांकले गरेका थिए । देउवासँग प्रतिस्पर्धामा उत्रन संस्थापनइतरमा पौडेल, शशांक, सिंह र शेखर कोइराला दौडमा छन् । देउवाले टिम बनाउने गृहकार्य थालेपछि पौडेल समूहलाई साझा उम्मेदवार बनाउन दबाब बढेको छ । पौडेल–शशांक, शशांक–प्रकाशमानबीच शनिबार यसै विषयमा छलफल भएको थियो ।

गत बुधबार पत्रकार सम्मलनमार्फत दाजु शेखरलाई समर्थन गर्न खोजेका शशांक अचानक ‘युटर्न’ भएका थिए । आफूले दाबी नछाडेको भन्दै त्यसै दिन पूर्वसांसद एवं व्यवसायी दीपक खड्काले हेलिकप्टर रिजर्भ गरी संखुवासभा पुर्‍याएका शशांक शुक्रबार फर्केका थिए । शनिबारदेखि उनले एकाएक सक्रियता देखाउन थालेका छन् । पौडेलसँगको भेटमा मिलेरै अघि बढ्नुपर्ने बताएका शशांकले प्रकाशमानसँगको भेटमा भने साताअघि आफैंले दिएको विवादास्पद अभिव्यक्तिको प्रस्टीकरण दिन खोजेका थिए ।

सर्लाहीको हरिवनमा अघिल्लो साता कार्यकर्तालाई सम्बोधन गर्दै प्रकाशमानलाई काठमाडौं बाहिर कसैले चिन्दा पनि नचिन्ने भन्दै उनी बलियो उम्मेदवार नभएको बताएका थिए । आफ्नो भनाइको गलत अर्थ लगाइएको भन्दै शशांकले सिंहसँग प्रस्टीकरण दिन खोजेका थिए । ‘आफूले बोलेका कुराहरूमा प्रस्टीकरण दिन आउनुभएजस्तो लाग्यो, अरू धेरै कुरा भएन, मैले आफ्नो अडान छाडेको छैन,’ सिंहले भने, ‘हाम्रो ग्रुप बैठकमा जे भनेको छु, त्यही कुरा पौडेल दाइ, शशांक र शेखरजीलाई पनि भनेको छु ।’

सिंह र शेखरबीच पनि शुक्रबार भेटवार्ता भएको थियो । शशांकले शनिबारै प्रधानमन्त्री देउवासँग उनकै गृहजिल्ला डडेलधुरामा भएको विवाद, महाधिवेशन निष्पक्षतामाथि उठेका प्रश्न र क्रियाशील सदस्यताका विवादबारे छलफल गरेका थिए ।

प्रकाशित : मंसिर ६, २०७८ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही विश्वबाट
×