खोपका बावजुद् युरोपमा फेरि फैलँदै कोरोना संक्रमण

कतै लकडाउन, कतै आन्दोलन
एजेन्सी

काठमाडौँ — कोभिड १९ विरुद्धको खोप विश्वव्यापी रुपमा वितरण भइरहँदा यूरोपका कतिपय देशमा भने महामारी फेरि तीव्र बन्न थालेको छ ।

खोपका बावजुद् युरोपमा फेरि फैलँदै कोरोना संक्रमण

पछिल्लो समय विभिन्न युरोपेली देशका प्रमुख तथा उच्च अधिकारीहरूका लागि संक्रमणको फैलावट फेरि टाउको दुखाइको विषय बनेको छ । प्रभावकारी रुपमा खोप वितरण गरिसकेपछि पनि संक्रमण फेरि फैलन थालेपछि उनीहरू अन्योलमा पुगेका छन् ।

केही देशमा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने कतै खोप विरुद्ध नागरिकहरूले प्रदर्शन नै गर्न थालेका छन् । आयरल्याण्डले यसै साता कर्फ्यू लगाएको छ । जवकि सबैभन्दा धेरै नागरिकलाई खोप लगाउने यूरोपेली देशमध्ये आयरल्याण्ड पनि एक हो ।

पोर्चुगल अर्को त्यस्तै देश हो जहाँ ८७ प्रतिशत नागरिकले खोप लगाइसके । तैपनि पछिल्लो केही सातादेखि पोर्चुगलमा तीव्र रुपमा संक्रमण फैलिँदा चिन्ता बढेको छ ।

नेदरल्याण्ड्समा फैलँदो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले प्रतिबन्ध लगाएको छ । तर प्रतिबन्ध तोड्दै आम मानिसहरू सडकमा उत्रिएका छन् । शुक्रबार प्रतिबन्धको विरोधमा यहाँ हिंसात्मक प्रदर्शनसमेत भयो ।

कतिपय देशहरू खोप लगाउनु मात्रै पनि समाधान नभएको निश्कर्षमा पुगेका छन् । त्यसैले ती देशले प्रतिबन्ध कडा पार्न थालेका छन् । अर्थात् अर्को उपाय नभेटिएसम्म उनीहरू फेरि कर्फ्यू वा प्रतिबन्धको सहारा लिन बाध्य देखिएका छन् ।

जर्मनी र अष्ट्रियामा त संक्रमण आकाशिएको छ । अष्ट्रेलियाले सोमबार देशव्यापी पूर्ण रुपमा लकडाउन गर्ने भएको छ । जवकि अष्ट्रियाले केही दिनयता नै खोप नलगाउनेहरूका लागि प्रतिबन्ध लगाएको छ।

यद्यपि विज्ञहरू खोपले प्रभावकारी रुपमा संरक्षण गर्नेमा विश्वस्त छन् । बेलायतस्थित इम्पेरियल कलेज लण्डनका सहायक निर्देशक तथा प्राध्यापक चार्ल्स बंघमका अनुसार डेल्टा भेरियन्ट अन्यको तुलनामा धेरै नै संक्रामक मानिन्छ ।

हमबर्ग विश्वविद्यालयमा महामारी विज्ञान र सार्वजनिक स्वास्थ्य निगरानीकर्ता तथा प्राध्यापक राल्फ रेन्त्जेसले पनि खोपको प्रभावकारिता बारे प्रतिक्रिया दिएका छन् ।

यद्यपि खोप एक्लैले मात्रै महामारी रोक्न नसक्ने हो कि भन्ने चिन्ता युरोपभर बढेको छ । जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, बेलायत र इटलीमा कोभिड विरुद्धको खोपका बावजुद अहिले सङ्क्रमण तीव्र बन्ने क्रम जारी छ ।

बीबीसीका अनुसार अस्ट्रियामा अहिले प्रति एक लाख जनसङ्ख्यामा १,०५० जनाको दरले सङ्क्रमण भएको तथ्यांक देखिन्छ । कुल ९० लाख जनसङ्ख्या भएको अस्ट्रियामा शुक्रबार थप १५,८०९ जनामा सङ्क्रमण पुष्टि भएको बीबीसले जनाएको छ ।

जर्मनीले भने खोप नलगाएकाहरूला सार्वजनिक रुपमा खुलेआम हिँड्न नदिने भनेको छ । हाल नेदरल्याण्डसहित केही देशमा त खोप विरुद्ध आन्दोलन नै भएका छन् । संक्रमण तीव्र बनेपछि शनिबार नेदरल्याण्ड्सले तीन सातासम्म कोभिड लकडाउन लगाएको छ ।

तर आम नागरिकहरूले सरकारको विरोध गर्दै प्रदर्शन गर्दैआएका छन् । प्रदर्शनको क्रममा सुरक्षाकर्मीसंग झडप हुँदा केही प्रदर्शनकारीहरू घाइतेसमेत भएका छन् ।

यहाँ खोप पास र नयाँ वर्षअघि पटकाको प्रयोगमा लगाइएको प्रतिबन्धविरुद्ध नागरिक आन्दोलित बनेका हुन् । यसरी संक्रमण रोक्न नसकिँदा अधिकांश युरोपेली देशहरू यतिबेला नयाँ उपायको खोजी गर्न थालेका छन् ।

प्रकाशित : मंसिर ५, २०७८ ००:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?