कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

युरोपमा कोरोनाको पाँचौं लहर, फ्रान्समा तेस्रो खोप लगाउनुपर्ने घोषणा

ददी सापकोटा

पेरिस — फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोंले युरोपभरि कोरोना भाइरसको पाँचौं लहर आएको घोषणा गर्दै फ्रान्समा कोरोनाको तेस्रो डोज लगाउनुपर्ने बताएका छन् ।

युरोपमा कोरोनाको पाँचौं लहर, फ्रान्समा तेस्रो खोप लगाउनुपर्ने घोषणा

राष्ट्रपतिले फ्रान्समा संक्रमणको संख्यामा भएको वृद्धिलाई रोक्न वृद्धवृद्धाहरूलाई कोरोना भाइरसविरुद्ध तेस्रो खोप लगाउन प्रोत्साहित गर्ने नयाँ उपायहरूको घोषणा गरेका हुन् ।

राष्ट्रिय टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने, 'डिसेम्बरको मध्यदेखि ६५ वर्ष भन्दा माथिका मानिसहरूलाई उनीहरूको स्वास्थ्य पासहरू विस्तार गर्नको लागि 'बुस्टर डोज' आवश्यक हुने छ । जसले तेस्रो खोप लगाउँदैनन् तिनको स्वास्थ्य पास रद्द गरिने छ ।'

सेप्टेम्बरदेखिनै एक-डोज बुस्टर ज्याबहरू वृद्धवृद्धा, स्वास्थ्यका हिसावले सबैभन्दा कमजोर, दिर्घ रोगी, वृद्धवृद्धा र रोगीको हेरचाहकर्ता र स्वास्थ्यकर्मीहरूका लागि उपलब्ध गरिएको थियो । तर यसको प्रभावकारिता भने अत्यन्तै ढिलो भएको थियो ।

फ्रान्समा तेस्रो डोज लगाउन योग्य नागरिक ७७ लाख भएको र गत सातासम्म जम्मा ३४ लाखले मात्रै तेस्रो डोज लगाएको युरोन्युजले उल्लेख गरेको छ ।

राष्ट्रपति म्याक्रोंले कोरोना खोपले विकास गर्ने रोग प्रतिरोधी क्षमता छ महिनापछि घट्दै जाने हुनाले त्यो क्षमतालाई बढाउन तेस्रो डोज लगाउनुपर्ने उल्लेख गरेका हुन् ।

'हामीले कोरोना संक्रमण रोकथामका उपायहरुलाई गतिदिन आवश्यक छ,' म्याक्रोंले भने 'डिसेम्बर १५ देखि आफ्नो स्वास्थ्य पासलाई नवीकरण गर्न तेस्रो डोज लगाएको प्रमाण चाहिन्छ ।'

गत गर्मीयामदेखि फ्रान्समा होटेल, रेस्टुरेन्ट, बार, सिनेमा घर, हजाम पसल, विमान यात्रा आदिको लागि स्वास्थ्य पास अनिवार्य गरिएको छ । स्वास्थ्य पासले पूर्ण खोप स्थिति, हालैको कोरोना नेगेटिभ परीक्षण वा कोरोना लागेर निको भएको प्रमाण देखाउँछ ।

म्याक्रोंले ५० देखि ६४ वर्षका वृद्धहरू डिसेम्बरको सुरुदेखि बुस्टर खुराकको लागि योग्य हुनेसमेत बताएका छन् ।

कोरोना भाइरस संक्रमणका रोगी हप्तैपिच्छे ४० प्रतिशतले बढेको र हाल अस्पताल भर्ना भएका मध्ये ८० प्रतिशत विरामी ५० वर्ष माथिका रहेकाले डिसेम्बरको सुरुदेखिनै ५० देखि ६४ वर्षका नागरिकलाई तेस्रो डोज (बुस्टर डोज) अभियान गरिने बताएका हुन् ।

स्वास्थ्य सेवा विभागले मंगलबार जारी गरेको तथ्यांकअनुसार फ्रान्समा गत २४ घण्टामा १२ हजार चार सय ७६ नयाँ व्यक्तिमा कोरोना संक्रमण भएको छ । कोरोनाको खोप नलगाएका व्यक्तिमा ११ गुणा बढी कोरोना संक्रमित हुने देखिएको छ ।

आगामी दिनहरूमा व्यवहारिक विधिहरू र समयसीमा पालना गर्न संकेत गर्न सकुन् भनेर सरकारले वैज्ञानिक अधिकारीहरूलाई सचेत गराएको उनले उल्लेख गरेका छन् ।

फ्रान्सले जनवरीबाट छ महिनाको ईयूको अध्यक्षता लिने र विश्वका चुनौतीहरूको सामना गर्न युरोपसँग मिलेर काम गर्ने आशा राखेको तथ्य पनि उनले उजागर गरेका छन् ।

म्याक्रोंले कोरोनाले विश्वभरिनै पीडित बनाएकाले विश्वभरिकै जनताले खोप लगाएर रोग प्रतिरक्षा बढाएपछि मात्रै सबै सुरक्षित हुने बताएका छन् । 'त्यसैले हामीले कोभाक्स अभियान अन्तर्गत बिपन्न देशहरुलाई खोप निःशुल्क उपलब्ध गराएका छौं । विश्वका सम्पूर्ण जनताले खोप लगाएर सुरक्षित नबनेसम्म हामी सबै कोरोना भाइरससितै लडेर बाँच्न सिक्नुपर्छ ।'

फ्रान्सले महामारीदेखि आतंकवादसम्म संकटको अभूतपूर्व समयसँग लडिरहेका बेला जनताको चिन्ता र आक्रोशलाई स्वीकार गरेको समेत बताए । तर उनले मानिसहरूलाई फ्रान्स र यसको मूल्यमान्यतामा विश्वास गर्न र कट्टरपन्थी वा राष्ट्रवादलाई नफर्काउन आग्रह गर्दै नडराऊन आग्रहसमेत गरेका छन् ।

म्याक्रोंको सम्बोधन सन् २०२२ को राष्ट्रपतिय निर्वाचनको पहिलो चरणको पाँच महिना अघि आएको छ । आफ्नो राष्ट्रपतीय उम्मेदवारीलाई प्रभाव पार्न, अतिवादी, कट्टरपन्थीहरुलाई मतदान नगरुन भनेर प्रभाव पार्न पनि उनले त्यस्तो बताएको फ्रान्सेली मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रकाशित : कार्तिक २४, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?