नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा 'जिका भाइरस' संक्रमितको संख्या ७९ पुग्यो


काठमाडौँ — नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेश राज्यको कानपुरमा लामखुट्टेले सार्ने जिका भाइरस संक्रमित १३ नयाँ रोगी भेटिएका छन् । योसँगै उत्तर प्रदेश राज्यमा जिका भाइरस संक्रमित रोगीको संख्या ७९ पुगेको छ ।



कानपुरका स्वास्थ्य अधिकारीहरुले त्यस क्षेत्रमा जिका भाइरस तीव्रगतिमा फैलिएको र त्यसलाई नियन्त्रण गर्न विशेष सतर्कता आवश्यक रहेको बताएका छन् ।
'द हिन्दुस्तान टाइम्स'ले कानपुरका सबै अस्पतालमा जिका भाइरस संक्रमितको उपचारका लागि आवश्यक प्रबन्ध गरिएको र सबै बिरामीको स्वास्थ्य निरन्तर रुपमा निरीक्षण गरिएको बताएका छन् । कानपुर उत्तर प्रदेश राज्यको राजधानी लखनउबाट ८० किलोमिटर पश्चिमतर्फ छ।
जिका भाइरस सम्बन्धी रोगीहरु देखिन थाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरुलाई कानपुरमा सरसफाइको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री योगीले यस विषयलाई गम्भीरतासाथ लिन र परीक्षणलाई तीव्रता दिन निर्देशन दिएका छन् । मुख्यमन्त्रीको कार्यालयले अनुगमन समितिलाई पूर्ण रुपमा सहयोग हुने जनाएको छ ।
संक्रमित एडिज प्रजातिको लामखुट्टेले टोकेका व्यक्तिमा जिका भाइरस सर्छ । संक्रमित हुनेमा हल्का ज्वरो, डाबर आउने, आँखा रातो हुने, मासंपेशी र जोर्नीमा पीडा हुने र टाउको दुख्ने लक्षण हुन्छन्। यसले गर्भवती महिलामा भने असर गर्छ । संक्रमित गर्भवती महिलाबाट जन्मने सन्तानको उही उमेरका बालबालिका भन्दा टाउको सानो हुने माइक्रोसेफली हुन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार १९४७ मा सबैभन्दा पहिले युगाण्डा बाँदरमा पहिचान गरिएको थियो । पछि १९५२ मा तान्जानिया र युगाण्डामा मानिसमा भेटिएको थियो । यसअघि पनि एसिया तथा प्रशान्त क्षेत्र, अफ्रिका, अमेरिकामा जिकाले महामारीको रुप लिएको थियो ।
प्रकाशित : कार्तिक २१, २०७८ १४:४९