दिल्लीको प्रदूषणले बालबालिका बढी प्रभावित

एएनआई 

नयाँ दिल्ली — भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दिल्लीको प्रदूषणले बालबालिका बढी प्रभावित

वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गङ्गाराम अस्पतालका डा. धीरेन गुप्ताको भनाइ छ ।

'बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो,' उनले भने ।

बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ । विशेष गरेर बालबालिकामा श्वासप्रश्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए । साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामी आउने गरेको उनले जानकारी दिए ।

भारतको राजधानीसमेत रहेको नयाँ दिल्लीमा दीपावलीका पटाकाका कारण शुक्रबारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ ।

प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसले दिपावलीका बेला राति अबेरसम्म पटाकाहरु पड्काएका कारण आकाश नै धुम्म परेको अधिकारीको भनाइ छ ।

सवारीसाधन, औद्योगिक उत्सर्जन, धूलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ ।

हिउँदमा छिमेकी राज्यमा जलाइएका परालका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् ।

दिल्ली मात्रै नभई भारतका अरु पनि धेरै सहरहरु अति प्रदूषित सहरमा पर्दछन् । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन् ।

भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाउने गरेका छन् ।

प्रकाशित : कार्तिक २१, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?