पटकाकाे धुवाँले दिल्लीमा घातक वायु प्रदूषण

सरकारी तथ्यांकअनुसार पिएम २.५ को स्तर शुक्रबार बढेर ७०६ माइक्रोग्राम पुगेको छ । प्रदूषणको मापन ३८० भन्दा माथि जानु नै गम्भीर मानिन्छ ।
२५ नोभेम्बर २०१९ मा भारतको सर्वोच्च अदालतले दिल्लीको प्रदुषणबारे एक फैसलामा भनेको थियो, 'दिल्ली नर्कभन्दा पनि खराब भएको छ ।' त्यसबेला न्यायाधीश अरुण मिश्रले 'बरु विस्फोटक वस्तु लिएर सबैको ज्यान लिनु उपयुक्त हुन्छ ' भनेका थिए ।
एजेन्सी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार जलवायुसम्बन्धी शिखर सम्मेलन 'काेप २६' मा भारतले २०७० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने घोषणा गरे । विज्ञहरू भने यसबारे टिप्पणी गर्दै यो लक्ष्य कम्तीमा पनि २० वर्ष ढिलो भएको बताउँदैछन् ।

पटकाकाे धुवाँले दिल्लीमा घातक वायु प्रदूषण

मोदीको उक्त घोषणा आएको एक साता नबित्दै नयाँ दिल्लीको आकाश पटकाको धुवाँले भरियो । विशेषगरी भारतमा व्यापक रुपमा मनाइएको 'दिवाली पर्व'को अवसरमा राजधानी दिल्लीमा यति धेरै पटकाको प्रयोग भयो कि त्यसबाट निस्केको धुवाँले दिल्लीको वायु नराम्ररी बिग्रिएको छ । पटका पड्काउन सरकारको प्रतिबन्धका बावजुद देशभर आतसबाजी भयो । दिल्लीमा व्यापक रुपमा पटका पड्काइयो । रातभरको पटकाको धुवाँले गर्दा बिहान थुप्रै मानिसमा स्वासप्रस्वास तथा आँखा पोल्ने जस्ता समस्या उत्पन्न भएको बताइन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार हालै दिल्लीका थुप्रै क्लिनिकहरूमा स्वासप्रस्वास तथा आँखा पोल्ने समस्याका बिरामीहरू बढेका छन् ।

दिल्लीको प्रदूषणको स्तर यति घातक रुपमा बढ्यो कि, सरकारी तथ्यांकअनुसार पिएम २.५ को स्तर शुक्रबार बढेर ७०६ माइक्रोग्राम पुगेको छ । जुनस्तर दिल्लीमा हालसम्मकै अत्याधीक प्रदूषणको अवस्थामध्येमा पर्छ । विश्व स्वास्थ्य संगठनले पनि ५ माइक्रोग्रामभन्दा माथिको रेकर्डलाई असुरक्षित मान्ने गरेको छ । दिल्लीको सन्दर्भमा विज्ञहरूले भने एक सातासम्म पनि प्रदुषणको यो अवस्था सुध्रने कुनै सम्भावना देखेका छैनन् । जवकि प्रदूषणको मापन ३८० भन्दा माथि जानु नै गम्भीर मानिन्छ ।

दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा मात्रै शुक्रबार बिहान पिएम २.५ को स्तर ९९९ मापन गरियो । जुन प्रदूषण मापनको अधिकतम सीमा मानिन्छ । उज्यालोको पर्वको रुपमा मानिने दिवालीलाई लक्षित गर्दै दिल्ली सरकारले पटकाको बिक्री वितरण र विस्फोटमा प्रतिबन्ध लगाएको थियो । तर बिहीबार रातभर खुला सडकमै अधिकांश मानिसहरूले पटका पड्काउन थाले ।

त्यसो त दिल्लीसँग जोडिएका अन्य सहरमासमेत पटका विस्फोटको असर देखिन थालेको छ । बिहीबार राति ९ बजे फरिदावादमा पिएमको स्तर ४२४ पुगेको थियो । गाजियावादमा ४४२, गुरुग्राममा ४२३ र नोएडामा ४३१ पुगेको बताइएको छ । उत्तर प्रदेशमा भने सबैभन्दा बढी प्रदूषित सहर नोएडा भएको बताइएको छ ।

खासगरी दिवालीको अवसरमा केही दिनदेखि नै दिल्ली र अन्य सहरमा पटका पड्काउने र आतसबाजी गर्ने क्रम चल्दैआएको थियो । जसले गर्दा वायुको प्रदूषण ह्वात्तै बढ्न पुगेको हो । बिहीबार राति र शुक्रबार बिहान पटकाकै कारण यहाँको आकाश धुवाँले डम्म भरियो । दिल्लीमा एक्यूआई अर्थात् (वायु गुणस्तर सूचकांक)को अवस्था बिग्रिएर ४५१ पुगेको छ । जुन यस वर्षको अधिकतम रेकर्ड हो ।

विज्ञहरूका अनुसार पटकासँगै भारतका विभिन्न स्थानमा अन्नबालीका झार तथा पराल पोलेर निस्किने धुवाँले गर्दा वायुको अवस्था थप बिगार्न सक्छ । जुन हरेक वर्ष देखिने गरेको छ । दिवालीमा पटका पड्काउनेहरू विरुद्ध भने प्रहरीले पक्राउसमेत गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चेन्नइ प्रहरीले हालसम्म पटका बिक्री तथा पड्काएका कारण ७५८ जना र २३९ वटा पसलविरुद्ध मुद्दा दायर गरिएको छ ।

हरेक वर्ष जाडो महिनाहरूमा उत्तरी भारतमा प्रदूषणको स्तर बढ्छ, कम तापक्रम र हावाको गतिमा आएको कमीले हावा थप प्रदूषित हुने गरेको छ । जसले गर्दा हरेक वर्ष भारतमा स्वासप्रस्वास सम्बन्धी समस्याबाट लाखौंको संख्यामा बिरामी हुने गरेका छन् । तीमध्ये सबैभन्दा बढी असर हुने २ करोड जनसंख्या भएको सहर दिल्ली नै हो । जहाँ जाडो मौसममा वायु प्रदुषणकै कारण हप्तौँसम्म स्कुलसमेत बन्द गरिन्छ ।

पछिल्ला वर्षहरूमा दिल्लीको वायु प्रदूषणको अवस्था सुधार्नुपर्ने उत्तिकै चुनौती खडा भएको छ । यसका लागि दिल्ली सरकारले पछिल्लो समय केही प्रयास भने गरेको छ । सवारीमा प्रदुषण जाँच, द्रूत यातायातमा लगानी, पुराना सवारीको विस्थापन, जनचेतना अभियान लगायत प्रयास पछिल्लो समय गरिएका केही नीतिगत पहल हुन् । यस्तै कृषि प्रणालीमा सुधार, सफा यातायात जस्ता संरचनागत सुधारका पहल गर्नुपर्ने भन्दै विज्ञहरूले सुझाव दिँदैआएका छन् ।

विभिन्न प्रक्षेपण अनुसार दिल्ली २०३० सम्म विश्वकै सबैभन्दा बढी जनसंख्या भएको सहर हुनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार १६५० वटा वायु प्रदूषणका सहरमध्ये दिल्ली सबैभन्दा खराब सहरमध्ये पर्छ । यस्तै स्वासप्रस्वास सम्बन्धी रोगका कारण सबैभन्दा बढी मृत्युदर भएको सहर पनि दिल्ली नै हो । यहाँको खराब वायुले कम्तीमा २२ लाखभन्दा बढी अर्थात् ५० प्रतिशत बालबालिकाको फोक्सोमा असर पुर्‍याउँदैआएको छ ।

२५ नोभेम्बर २०१९ मा भारतको सर्वोच्च अदालतले दिल्लीको प्रदूषणबारे एक फैसलामा भनेको थियो, 'दिल्ली नर्कभन्दा पनि खराब भएको छ ।' त्यसबेला न्यायाधीश अरुण मिश्रले भनेका थिए 'बरु विस्फोटक वस्तु लिएर सबैको ज्यान लिनु उपयुक्त हुन्छ ।'

तर नरेन्द्र मोदी नेतृत्वको सरकारले अदालतको 'नर्क' घोषणा गरिदिएको अवस्थालाई सुधार गर्न दिगो र संरचनागत पहल गरेको छैन । दिल्ली सरकारका केही पहल वाहेक मोदी सरकारले दिल्ली सुधारमा कुनै पहल गरेका छैनन् । हरेक वर्ष बिग्रँदै गरेको दिल्लीको वायु प्रदूषणको अवस्था सिंगो भारत सरकारका लागि गम्भीर चुनौतीको रुपमा खडा भएको छ ।

प्रकाशित : कार्तिक १९, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?