कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जापानी राजकुमारी माकोले शाही पदवी त्याग्दै प्रेमी कोमुरोसँग गरिन् बिहे 

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । राजकुमारी माकोले मंगलबार शाही पदवी त्याग्दै कलेजका साथी तथा प्रेमी कोमुरोसँग विवाह गरेकी हुन् ।

जापानी राजकुमारी माकोले शाही पदवी त्याग्दै प्रेमी कोमुरोसँग गरिन् बिहे 

स्थानीय समयअनुसार मंगलबार बिहान १० बजे उनीहरूले विवाह दर्ताको फर्म बुझाएका थिए । विवाहपछि माको पनि न्युयोर्क सर्ने बताइएको छ । कोमुरो न्युयोर्कस्थित एक ल फर्ममा काम गर्दै आएका छन् । जापानको राजपरिवारको नियमानुसार सामानय नागरिकसँग विवाह गरेमा शाही पदवी छाड्नुपर्नेछ ।

राजकुमारी माको जापानका तत्कालीन शासक अकिहितोकी नातिनी हुन् । उनले २०१७ मा कुमारोसँग इंगेजमेन्ट गरेको घोषणा गरेकी थिइन् । तर पछिल्लो वर्ष उनीहरुले विवाह ढिला हुने प्रतिक्रिया दिएका थिए । उनीहरुले भविष्यको योजना तयारी गर्न आफूहरुलाई केही समय लाग्ने भन्दै छिट्टै विवाह गर्नेबारे पुनर्विचार गरेको बताएका थिए । उनीहरूबीच सन् २०१२ मा टोक्योस्थित इन्टरनेसनल क्रिस्चियन युनिभर्सिटीमा भेट भएको थियो ।

राजकुमारी माकोले शाही रीतिरिवाजलाई छाड्दै सामान्य रूपमा विवाह गरेकी हुन् । साथै परिवार छाड्दा आउने रकम लिन पनि उनले अस्वीकार गरिन् । यस्तो गर्ने उनी जापानी राजपरिवारको पहिलो महिला सदस्य हुन् ।

विवाहका लागि दरबार छाड्नुअघि उनका बुबाआमालाई पटक पटक झुकेर अभिवादन गरेको जापानी समाचार संस्था क्योदोले उल्लेख गरेको छ । साथै उनले दरबार छाड्नुअघि बहिनीलाई अँगालो हालेर बिदा मागेकी थिइन् ।

प्रकाशित : कार्तिक ९, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?