अफगानिस्तानमा गहिरियो मानवीय संकट : भोक मेटाउन ५ सय डलरमा सानी छोरी बिक्री !

कान्तिपुर संवाददाता

काठमाडौँ — गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।

विश्वका प्रमुख दाताराष्ट्रले तालिबानी सत्तासँग कस्तो सम्बन्ध राख्ने भन्ने स्पष्ट नपारेकाले पनि अफगानिस्तानमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको अभाव भएको छ ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ । त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ । तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।

अफगानिस्तानको यतिसम्म संकट उत्पन्न भएको छ कि अभावले ग्रस्त परिवारले आफ्ना छोराछोरी बिक्री गरिरहेका छन् । बीबीसीको एउटा रिपोर्टका अनुसार भर्खरै एक महिलाले परिवारका अन्य सदस्यलाई बचाउन नवजात शिशु बिक्री गरेकी छिन् । उनले सानी छोरीलाई ५ सय अमेरिकी डलर (करिब ६० हजार नेपाली रुपैयाँ) मा बिक्री गरेकी हुन् । सुरक्षाका हिसाबले पहिचान गोप्य राखिएकी ती महिला भन्छिन्, ‘मेरा अरु छोराछोरी भोकले मर्दैछन्, त्यसैले हामी छोरी बेच्न बाध्य भयौं । म किन दु:खी हुन्थिनँ र । उ मेरै बच्ची हो ।’

उनका श्रीमान् कबाडी संकलनको काम गर्थे, तर त्यसबाट केही आम्दानी नै हुँदैन । उनी भन्छन्, ‘हामी भोकले मरिरहेका छौं । हामीसँग अहिले न त पिठो छ न त तेल । हामीसँग केही पनि छैन ।’ उनी अगाडि भन्छन्, ‘मेरी छोरीलाई उसको भविष्य कस्तो हुन्छ भन्ने थाहा छैन । उसले केही थाहा पाउने अवस्था पनि छैन । तर मैले भने यस्तो कदम चाल्न बाध्य भएँ ।’

अहिले ती बालिका हेरातस्थित एउटा अस्पतालमै रहेकी छिन् । उनी हिँड्न सक्ने भएपछि खरिद गर्ने व्यक्तिले आफ्नो घर लैजाने भनेका छन् । ती व्यक्तिले पछि आफ्ना छोरासँग ती बालिकाको बिहे गरिदिने वचन पनि दिएका छन् । तर त्यसमा ढुक्क हुने अवस्था भने रहेको छैन ।

प्रकाशित : कार्तिक ९, २०७८ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यकर्मीलाई तलब न भत्ता

कोभिड कोषको खाता स्वास्थ्य मन्त्रालयको नाममा नआउँदा समस्या
दीपक परियार

पोखरा — गण्डकी प्रदेश सरकारले कोभिड कोषबाट तलब भत्ता बेहोर्ने गरी गत वैशाख र जेठमा ४ सय ४४ कर्मचारी करारमा भर्ना गर्‍यो । स्वास्थ्यकर्मीसहितका कर्मचारीले साउनदेखि असोजसम्मको न तलब पाएका छन् न जोखिम भत्ता नै । 


तत्कालीन सामाजिक विकास मन्त्रालयले प्रदेशभर विभिन्न जिल्लामा रहेका कोभिड अस्पतालमा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, फार्मेसिस्ट, मेडिकल रेकर्डर र कार्यालय सहयोगी करारमा भर्ना गरेको थियो । जेठ २९ मा प्रदेश सरकार परिवर्तन भएपछि सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छुट्टियो । कोभिड कोषको खाता भने स्वास्थ्य मन्त्रालयको नाममा जान समय लाग्यो ।

प्रदेशअन्तर्गतको संक्रामक तथा सरुवा रोग अस्पतालमा ६० स्वास्थ्यकर्मी करारमा थपिएका छन् । दसैंअघिसमेत स्वास्थ्यकर्मीले तलब नपाउने स्थिति बनेपछि आन्तरिक कोषबाट पेस्की दिइएको अस्पतालका निर्देशक डा. विकास गौचनले बताए । उनका अनुसार करार र दरबन्दीका स्वास्थ्यकर्मीले प्रदेशबाट हालसम्म जोखिम भत्ता पाएका छैनन् । अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिले निर्णय गरेपछि आन्तरिक स्रोतबाट दसैंअघि प्राविधिक कर्मचारीलाई २० हजार रुपैयाँ र कार्यालय सहयोगीलाई १९ हजार रुपैयाँ दिइएको थियो । ‘तलब र जोखिम भत्ता आएपछि त्यसबाट सोधभर्ना गर्ने गरी पेस्की दिएका हौं,’ उनले भने । अन्यत्र खटिएका करारका स्वास्थ्यकर्मीको तलब व्यवस्थापनका विषयमा भने आफू जानकार नरहेको उनले बताए ।

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको कोभिड कोषको खाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा ल्याउन प्रक्रिया अघि बढिसकेको मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले बताए । ‘मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयले विवरण पठाउनासाथ स्वास्थ्य मन्त्रालयको नाममा आउँछ ।’ करारका कर्मचारीको असोजमा म्याद सकिएको भए पनि प्रदेश सरकारले एक महिना थप गरेको छ । प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले कात्तिकपछि संक्रमितको चापलाई मध्यनजर गर्दै करारका स्वास्थ्यकर्मीको म्याद थप्ने नथप्ने निर्णय हुने बताए । खाता सर्नेबित्तिकै करारका स्वास्थ्यकर्मीको तलब निकासा हुने उनले जनाए । ‘स्वास्थ्यमन्त्री आफैं संक्रमित हुनुभएकाले केही निर्णय हुन ढिलाइ भएको हो,’ उनले भने, ‘तलब निकासामा समस्या हुँदैन ।’

संघअन्तर्गतको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीले पनि जोखिम भत्ता पाएका छैनन् । कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले भत्ता नपाउँदा उत्प्रेरित गर्न नसकिएका अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बराल बताउँछन् । ‘कोभिड संक्रमण उच्च हुँदासमेत स्वास्थ्यकर्मीले मनोबल नगिराइ काम गरे,’ उनले भने, ‘अहिले पनि खतरा टरिसकेको छैन । यस्तो अवस्थामा कत्ति पनि जोखिम भत्ता नपाउँदा काममा प्रेरित गर्न गाह्रो हुन्छ ।’ जोखिम भत्ता दिनेबारे तयारी भएको सुने पनि कहिलेसम्म पाउने भन्ने यकिन नभएको उनले सुनाए । उनका अनुसार दसैंअघि अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको संख्या न्यूनतम १३ मा झरे पनि फेरि उकालो लाग्न थालेको छ । हाल दैनिक २०–२२ जना संक्रमितको उपचार भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा आइतबार ४२ संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३ सय ५० रहेको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×