दासी बालिकामाथि युद्ध अपराध गरेको भन्दै आईएस महिलालाई १० वर्ष जेल सजाय

एजेन्सी

बर्लिन — स्लामिक स्टेट सशस्त्र समूहमा संलग्न जर्मन महिलाविरुद्ध म्युनिख अदालतले १० बर्षको जेल सजाय सुनाएको छ । ५ वर्षीया दासी बालिकाको मृत्युमा उनले युद्ध अपराध गरेको ठहर गर्दै अदालतले सोमबार यस्तो फैसला सुनाएको हो ।

दासी बालिकामाथि युद्ध अपराध गरेको भन्दै आईएस महिलालाई १० वर्ष जेल सजाय

दक्षिणी जर्मन सहरस्थित उच्च क्षेत्रीय अदालतका प्रधानन्यायाधीश रेनहोल्ड बेयरले ३० वर्षीया जेनिफर वेनिसलाई याजिदी समुदायमाथि गरेको उत्पीडन सम्बन्धमा यस्तो सजाय तोकेको हो । इस्लामिक स्टेटको उत्पीडनबारे यहाँको अदालतले गरेको यो पहिलो फैसला हो ।

यससँगै वेनिसलाई दासत्वको स्वरुपमा मानवता विरुद्ध गरिएका दुई अपराधमा दोषी ठहर गरिएको हो । साथै उनले बालिकाको हत्यामा सहयोगी भूमिका खेलेको अर्थात् दुरुत्साहन गरेको अदालतको ठहर छ ।

२०१५ मा इराकको मोसुललाई आईएसले कब्जामा लिने क्रममा वेनिस र उनका आईएस लडाकू श्रीमानले याजिदी महिला र एक बालिकालाई घरेलु दासको रुपमा खरिद गरेको अदालतले जनाएको छ ।

ती याजिदी बालिका बिरामी भई तिर्खाएको अवस्थामा वेनिसका दम्पत्तिले घर बाहिर बाँधेर राखी मृत्युको मुखमा पुर्‍याएको अदालतको ठहर छ । उनीहरुले बालिकालाई बचाउन केही पहल नगरेको पनि बताइएको छ । वेनिसका पति ताहा अल जुमैलीले पनि फ्रांकफर्टमा अर्को मुद्दाको सामना गरिरहेका छन् ।

प्रकाशित : कार्तिक ८, २०७८ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?