कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बेइजिङमा देखाइयो तिब्बतको बदलिएको अनुहार

लक्ष्मी लम्साल

बेइजिङ — बेइजिङ्स्थित विभिन्न मुलुकका कूटनीतिज्ञहरूले तिब्बतको फेरिँदो अनुहारको अवलोकन गरेका छन्। चिनियाँ परराष्ट्र मन्त्रालयले चीनको नयाँ यात्रा: सुखी तिब्बत विकासको नयाँ सूचिपत्र विषयसहित बुधबार बेइजिङमा आयोजना गरेको तिब्बत ग्लोबल प्रवर्द्धन कार्यक्रममा नेपालसहित बेइजिङमा रहेका विभिन्न देशका कूटनीतिज्ञहरूले परिवर्तित तिब्बतको अवलोकन गरेका हुन्।

बेइजिङमा देखाइयो तिब्बतको बदलिएको अनुहार


चिनियाँ विदेशमन्त्री वाङ यीले यस वर्ष तिब्बतको विकास प्रक्रियामा महत्वपूर्ण वर्ष भएको बताए। उनले भने, "सत्तरी वर्ष पहिलेको तिब्बतलाई अहिलेको अवस्थामा ल्याउन चिनियाँ कम्युनिष्ट पार्टीको निरन्तर प्रयास रह्यो। तिब्बतले शान्तिपूर्ण मुक्ति हासिल गर्दै दासताको युगबाट सीधै समाजवादको यात्रामा राजनीतिक चमत्कार सिर्जना गर्‍यो ।"

कार्यक्रममा तिब्बती सीमा जोडिएको नाताले नेपाल, रसिया र अफ्रिकी मुलुकको तर्फबाट राजदूतहरूले बोलेका थिए । केही समयअघि बेइजिङबाट गएको राजदूतहरूको टोलीले तिब्बतको भ्रमण पनि गरेको थियो। कार्यक्रममा सहभागी भएका चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेले तिब्बतमा भएका विकास निर्माणका कुराहरू देखाइएको सुनाए। उनले भने, "तिब्बतको बँधुवा मजदुर भएर सिक्रीले बाँधेको अवस्थादेखि अहिलेको खुला समाजसम्मको चित्रण गरिएको थियो।"

एक महिनाअघि गत सेप्टेम्बर पहिलो साता तिब्बतको भ्रमण गरेका राजदूत पाण्डेले सो कार्यक्रममा तिब्बतको अकल्पनीय परिवर्तनबारे मन्तव्य राखेका थिए। उनले तिब्बतमा शोषण, अन्याय, अत्याचार, बँधुवा मजदुर लगायतबारे पढेका कुरा इतिहास बनेको भन्दै तिब्बतको त्यो अनुहार पूर्णतया परिवर्तन भएको सुनाए। उनले भने, "तिब्बत पूर्वाधार निर्माणमा धेरै अघि बढेको छ। ऐतिहासिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गरेर पर्यटकीय तत्वहरू थपेको छ। नेपालसँग जोडिएका तिब्बती प्रिफेक्चरका मानसरोबर, कैलाश पर्वत, पुलानका बुद्धिस्ट मन्दिर पर्यटनको आकर्षण बनाएको छ।"

भ्रमणका क्रममा उनले उजाड तथा विकट स्थलहरूमा बस्तीहरू विकास गर्नुका साथै वृक्षारोपणका अभियानहरू तिब्र पारिरहेको बताए। उनले भने, "तिब्बतको भविष्य सुन्दर छ। १५ वर्षसम्म सबैलाई निःशूल्क शिक्षा, पाको पुस्ताको खाने, आराम गर्ने, घुम्ने, रमाउने, लोभलाग्दो जीवनशैली तिब्बतमा देख्न सकिन्छ।"

मन्तव्यका क्रममा नेपालसँग जोडिएका दुईवटा नाकाको सक्रिय संचालनका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेलामा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषय प्रस्तुत गरेको राजदूत पाण्डेले कान्तिपुरसँग बताए।

कार्यक्रममा परराष्ट्रमन्त्री वाङ यी, नेपाली, रसियन, नाइजेरियन राजदूतका अलावा तिब्बत स्वायत्त प्रदेशका पार्टी सचिव वाङ च्वीनचङ र तिब्बत स्वायत्त प्रदेशका कार्यवाहक अध्यक्ष यान चिनहाई लगायतले बदलिँदो तिब्बतबारे चर्चा गरेका थिए।

चीनले तिब्बतलाई दक्षिण एसिया प्रवेशको "गेटवे" बनाउन खोजेको छ। आजको तिब्बत चीनको फड्को मार्ने विकासको सफलताको प्रतीक बनेको बताउँदै परराष्ट्रमन्त्री मन्त्री वाङ यीले पनि चीनको प्रजातन्त्र र मानवअधिकारको प्रगतिको ज्वलन्त चित्रण र चीनका लागि बाहिरी संसारसँग खुल्ने एउटा महत्त्वपूर्ण झ्यालको रूपमा तिब्बतलाई लिइएको बताएका थिए।

तिब्बतले यस वर्ष निर्धारित समय अनुसार सर्वांगीण समृद्ध समाज हासिल गर्ने विश्वास व्यक्त गर्दै उनले सबै जातीय समूहका मानिसहरूले राजनीतिक, आर्थिक र सामाजिक पक्षमा पूर्ण र समान अधिकारको उपभोग गरेको चर्चा गरे।

धार्मिक आस्था र जातीय अल्पसंख्यक संस्कृतिको स्वतन्त्रता पूर्ण रूपमा सुरक्षित र निरन्तर विकसित भएको दाबी गर्दै उनले हिमालयन अन्तर्राष्ट्रिय सहयोग मञ्च जस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरुको श्रृंखलाका साथ "बेल्ट एण्ड रोड" को निर्माणमा छिमेकी देशहरुसँगको सहयोगले पनि फलदायी परिणामहरु निकाल्न लागेको प्रष्ट्याए।

यस वर्षको जुलाईमा चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको विशेष भ्रमण गरेका थिए। त्यस क्रममा उनले नयाँ युगमा तिब्बती शासन परिपाटीलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने र दीर्घकालीन स्थायित्व र उच्च गुणस्तरको नयाँ अध्याय लेख्ने बताएका थिए।

प्रकाशित : कार्तिक ६, २०७८ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?