१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ : बाइडेन

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि चीनले आक्रमण गरे त्यसको प्रतिरक्षामा उभिने बताएका छन् । राष्ट्रपति बाइडेनले ताइवानबारे अमेरिकी नीतिभन्दा अलग टिप्पणी गरेका हुन् । ताइवानमाथि चीनले आक्रमण गरेमा अमेरिकाले के गर्छ भन्ने पत्रकारको प्रश्नमा राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया आएको हो ।

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ : बाइडेन

उनले भने, ‘हो हामी यसमा प्रतिबद्ध छौं ।’ तर त्यसको केही समयपछि ह्वाइट हाउसका प्रवक्ताले भने अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीमा बाइडेनको अभिव्यक्तिले ताइवान नीतिमा परिवर्तन नहुने स्पष्ट पारेका थिए ।

ताइवानको रक्षाका बारेमा अमेरिकाले लामो समयदेखि ‘रणनैतिक अस्पष्टता’ को नीति अँगाल्दै आएइको छ । यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकी कदम कस्तो हुन्छ भन्ने स्पष्ट नीति नै छैन । अमेरिकाले ताइवानलाई विभिन्न प्रकारका प्रतिरक्षात्मक हतियार भने उपलब्ध गराउँदै आएको छ ।

अमेरिकाले ताइवान रिलेसन्स एक्टअन्तर्गत रहेर ताइवानसँग रक्षा सम्बन्ध कायम गर्दै आएको छ । बाइडेनले चीन, रुसलगायतका मुलुकले सैन्य शक्ति बढाउँदै गएकोमा पनि आफू चिन्तित नरहेको बताएका छन् । ‘चीन, रुस र बाँकी विश्वलाई हामीसँग इतिहासकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति छ भन्ने कुरा थाहा छ,’ उनले भने, ‘त्यसैले उनीहरू शक्तिशाली बन्दैछन् भन्ने कुरामा चिन्ता लिनुपर्दैन ।’

‘एक चीन’ नीति अन्तर्गत अमेरिकाले ताइवानमाथि चिनियाँ सम्प्रभुताको दाबीलाई स्वीकार गर्दै आएको छ । पछिल्ला दिनमा चीनले ताइवानको आकाशमा युद्धविमान उडाएको थियो । त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि ताइवानसँगको एकीकरण अपरिहार्य रहेको बताएका थिए ।

ताइवानका बारेमा जान्नैपर्ने केही कुरा

  • चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भएका थिए । चीनले ताइवान कुनै न कुनै रूपमा मेनल्यान्डका रूपमा आओस् भन्ने चाहन्छ ।
  • चीनमा गृहयुद्धका क्रममा चियाङ काई शेकका सैनिक माओ त्से तुङका कम्युनिस्ट सैनिकबाट कुटिएका थिए । चियाङ र उनको कुमिन्ताङ सरकार बाँकी रहेका अधिकारीहरू सन् १९४९ मा भागेर ताइवान पुगेका थिए । धेरै समयसम्म ताइवानमा यही समूहको दबदबा रहेको थियो । स्थानीय नागरिकले सरकार तानाशाही भएकोमा व्यापक विरोध गरेपछि चियाङका छोरा चियाङ चिङ कुओले प्रजातान्त्रीकरणको अभ्यास गरेका थिए ।
  • पछि राष्ट्रपति ली तेङ हुईले संवैधानिक परिवर्तन गर्दै प्रजातान्त्रिक राजनीतिक व्यवस्थातर्फ मुलुकलाई लगेका थिए । उनलाई ताइवानको ‘प्रजातन्त्रका पिता’ पनि भनिन्छ ।
  • ताइवानको आफ्नै संविधान रहेको छ । ताइवानमा प्रजातान्त्रिक तरिकाबाट नेताहरू चुनिन्छन् । ताइवानसँग झन्डै ३ लाख सक्रिय सैनिक रहेका छन् ।
  • ताइवानलाई थोरै मुलुकले मात्रै स्वतन्त्र देशका रूपमा मान्यता दिएका छन् । विश्वका धेरै मुलुकले चिनियाँ सरकारलाई नै मान्यता दिएका छन् । अमेरिका र ताइवानसँग आधिकारिक रूपमा सम्बन्ध स्थापित छैन । तर अमेरिकाले ताइवानले आफ्नो रक्षा गर्न पाउने विषयसँग सम्बन्धित कानुन भने बनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?