आसियान शिखर सम्मेलनमा म्यानमारका सेेना प्रमुखलाई सहभागी नगराइने

कान्तिपुर संवाददाता

काठमाडौँ — गत फेब्रुअरीमा म्यानमारको सत्ता हत्याएका सेना प्रमुख जेनेरल मिन आङ ह्लाइङलाई आसियान सम्मेलनमा सहभागी नगराइने भएको छ । दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान)ले म्यानमारका सेना प्रमुखलाई शिखर बैठकमा सहभागी नगराउने भएको हो ।

आसियान शिखर सम्मेलनमा म्यानमारका सेेना प्रमुखलाई सहभागी नगराइने

उनको सट्टामा अन्य गैर राजनीतिक प्रतिनिधि बोलाउन आसियानले सहमति गरेको छ ।

आगामी अक्टोबर २६ देखि २८ सम्म ब्रुनेईमा आसियान शिखर बैठक हुँदैछ । १० सदस्यीय राष्ट्र रहेको आसियानमा सदस्य राष्ट्रको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरेपनि यो निर्णयलाई अभूतपूर्व किसिमको बताइएको छ ।

आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो । द्वन्द्व अन्त्य गर्न सेनाले काम नगरेको आसियानले बताएको छ ।

गत अगस्टमा जेनरल ह्लाइङले आफैं प्रधानमन्त्री घोषणा गरेर देशमा संकटकाल लगाएका थिए । सेनाले सत्ता हत्याएपछि म्यानमारमा भएको प्रदर्शनका क्रममा हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँको सेनाले म्यानमारका नागरिकलाई दमन गर्दै आएको भन्दै विरोध भइरहेको छ ।

प्रकाशित : आश्विन ३१, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?