२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चीनकी प्रथम महिला फङ लीयुआन भन्छिन्, ‘महामारीमा गुणस्तरीय अनलाइन शिक्षा’

लक्ष्मी लम्साल

बेइजिङ — चीनकी प्रथम महिला फङ लीयुआनले कोरोना महामारी फैलिरहेको वर्तमान विश्वमा बालिका तथा महिलाको गुणस्तरीय शिक्षाका लागि दुई वटा सुझाव प्रस्तुत गरेकी छन्।

चीनकी प्रथम महिला फङ लीयुआन भन्छिन्, ‘महामारीमा गुणस्तरीय अनलाइन शिक्षा’

युनेस्कोका लागि बालिका तथा महिला शिक्षा प्रवर्द्धन विशेष दूत रहेकी चिनियाँ राष्ट्रपति सी चिन फिङकी श्रीमती फङले शुक्रबार बेइजिङबाट सन् २०२१ संयुक्त राष्ट्रसंघ युनेस्को बालिका तथा महिला शिक्षा पुरस्कार वितरण समारोहलाई भिडियोमार्फत् सम्बोधन गर्दै कोभिड-१९ महामारीको यो अफ्ठ्यारो अवधिलाई पार लगाउन अझ धेरै शक्ति, अझ धेरै सावधानीका साथ बालिकाको निष्पक्ष तथा गुणस्तरीय शिक्षाका लागि अग्रसर हुनुपर्ने बताएकी हुन्।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार प्रथम महिला फङले दुई वटा सुझाव महत्वका साथ प्रस्तुत गरेकी हुन्।

पहिलो, डिजिटल टेक्नोलोजीको पूर्ण प्रयोगमार्फत् उच्च गुणस्तरीय अनलाइन शिक्षाका लागि श्रोत, गरिबीग्रस्त क्षेत्रका महिला तथा बालिकाका लागि शैक्षिक सहयोग, गरिबीग्रस्त परिवारका लागि प्राविधिक सहयोगले उनीहरूको डिजिटल युगको प्रत्याभूति दिनुपर्छ।

दोस्रो, बालिका र महिलाको स्वास्थ्य शिक्षामा जोड दिँदै तिनका परिवारलाई स्वास्थ्य सचेतनामा सुधार र रोग नियन्त्रण तथा रोकथाम, शारीरिक तथा मानसिक स्वास्थ्यको संरक्षण गर्नुपर्छ।

युनेस्कोका लागि बालिका तथा महिला शिक्षा प्रवर्द्धन विशेष दूत फङले ब्राजिल र मोजाम्बिकका बिजेतालाई बधाई दिइन्। उनले भनिन्, ‘सन् २०१५ मा चीन र युनेस्कोको सहकार्यमा यो बालिका तथा महिला शिक्षा पुरस्कारको स्थापनापछि सकारात्मक सन्देशका साथ बालिका र महिला शिक्षाको अभियानमा संलग्न हुन अझ बढी मानिसलाई उत्प्रेरित गरेको छ।’

हजारौं बालिका र महिलाले ज्ञान र प्रविधि सिकेर आफ्नो भाग्य आफैँ बदल्ने सपना साकार तुल्याउने क्षमता र आत्मविश्वास बटुलेको पनि उनले सुनाइन्।

अन्तर्राष्ट्रिय समाजले बालिका र महिला शिक्षामा अझ बढी नजर पुर्‍याउँदै संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास लक्ष्यलाई साकार तुल्याउनका लागि नयाँ योगदान गर्नुपर्ने प्रथम महिला फङले बताइन्।

विश्लेषकका अनुसार लोकगायिका समेत रहेकी चिनियाँ राष्ट्रपति सी चिनफिङकी धर्मपत्नी फङ लीयुआन बालबालिका तथा महिला सेवाका क्षेत्रमा आफूलाई अग्रसर बनाएकी छन्। युनेस्कोसँग मिलेर चीनले स्थापना गरेको यो पुरस्कारले शिक्षामा लैङ्गिक समानता तथा विश्वव्यापी लैङ्गिकताका मुद्धालाई प्राथमिकता दिन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्दछ।

प्रकाशित : आश्विन ३०, २०७८ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?