कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
शक्ति संघर्ष

ताइवानबाट के चाहन्छन् चीन र अमेरिका ?

रमन पौडेल

काठमाडौँ — चीनले पछिल्लो समय अनपेक्षित रुपमा ताइवानको आकाशमा लडाकु विमान उडाउने क्रम तीव्र बनायो । अक्टोबरसम्म मात्रै ६०० भन्दा बढी चिनियाँ विमान ताइवानको आकाशमा उडिसकेका थिए । जबकि, अघिल्लो एक वर्ष भरमा ३ सयभन्दा केही बढी विमान उडेका थिए । यस्तैमा चीनले ‘आवश्यक परेमा’ ताइवानलाई बलपूर्वक नियन्त्रणमा लिने प्रतिक्रिया दिइसकेको छ ।

ताइवानबाट के चाहन्छन् चीन र अमेरिका ?

अनपेक्षित रुपमा ताइवानको रक्षा क्षेत्रभित्र चीनले लडाकु विमान पठाइरहँदा ताइवानले निरन्तर विरोध गर्दै आएको छ । ताइवानका अधिकारीहरुले चीनसाग लड्न तयार रहेको चेतावनी दिएका छन् । ताइवानी अधिकारीहरुका अनुसार चीनसँगको सम्बन्ध ४० वर्षयता सबैभन्दा बिग्रिएको हो ।

अन्तर्राष्ट्रिय समुदायमा यस्तो पनि बहस हुँदैछ कि, चीनले ताइवानलाई कब्जामा लिन्छ वा लिँदैन भन्दा पनि चीनले ताइवानलाई कहिले नियन्त्रणमा लिन्छ भन्ने बहस सुरु हुन थालेको छ । ताइवान र चीनको लडाइामा यी दुई देशमात्रै छैनन् । यहाँ कुनै न कुनै रुपमा अमेरिका पनि जोडिएर आउँछ ।

विश्लेषकहरुका अनुसार चीनको बढ्दो सैन्य गतिविधिका बीच अब चीन र ताइवानबीच युद्ध नभएर ताइवानबारे चीन र अमेरिकाबीच युद्ध हुनसक्छ । यो त्रिपक्षीय जटिल सम्बन्धलाई हेर्दा एउटा यथार्थ खुल्दैछ । त्यो हो, दुई शक्तिशाली देशका रणनीतिक स्वार्थको चेपुवामा चाहेर वा नचाहेर ताइवान फस्दैछ ।

चीन र ताइवान

चीन ताइवानलाई आफ्नै भूभाग ठान्ने गर्छ । र यस क्षेत्रको सुरक्षा दायित्व चीनकै जिम्मेवारी भएको भन्दै चिनियाँ अधिकारीहरु भन्ने गर्छन् । त्यसो त, ताइवानले एक अलग राष्ट्रको रुपमा विश्व समुदायमा पहिचान नै बनाइसकेको छैन । अर्थात् चीनसँग ताइवानको ‘एक देश दुई प्रशासन’को सम्बन्ध रहिआएको छ ।

यसबीचमा ताइवानले स्वतन्त्रता अभ्यास गर्न खोजे पनि ताइवानकी राष्ट्रपति साइ इङ वेनले राष्ट्रपतिमा निर्वाचित बनेपछि चिनियाँ कानुनअनुसार नै शपथ ग्रहण गरेकी थिइन् । पछिल्लो पटक २०१६ मा साइ राष्ट्रपतिमा निर्वाचित भएपछि नै चीन र ताइवानबीच सम्बन्ध थप चिसिएको हो ।

साइ स्वतन्त्र ताइवानको वकालत गर्दैआएकी छन् । चिनियाँ नेताहरु भने त्यसको विपरीत ताइवानलाई चीनभित्रै गाभ्ने सपना देख्दैछन् । यही विपरीत एजेन्डाबीच चीन र ताइवान थप द्वन्द्वतिर उन्मुख छन् । चीनले पछिल्लो समय यति धेरै सैन्य लगानी बढाएको छ कि, जुन ताइवानको भन्दा १५ गुणा बढी हो ।

चीनमा १९४० को दशकमा गृहयुद्ध हुँदा ताइवान विभाजित बनेको हो । १९४९ मा माओत्सेतुङका कम्युनिस्ट सैनिकहरुबाट कुटिएपछि च्याङ काई सेकका सैनिकहरु भगेर ताइवान पुगेका थिए । तिनै सैनिकहरुबाट ताइवानमा धेरै वर्ष शासन गर्न थाल्यो । तर पछि राष्ट्रपति ली तेङ हुईले ताइवानमा प्रजातन्त्र अभ्यास सुरु गराएका हुन् । प्रजातान्त्रिक व्यवस्थामा लगेकाले ली तेङ हुईलाई ताइवानका प्रजातन्त्रका पिता समेत भनिन्छ । ताइवानमा प्रजातन्त्रको अभ्यास परिपक्व हुँदै जाँदा चीनसँग स्वतन्त्रताको आवाज पनि बढ्न थालेको छ ।

यद्यपि स्वतन्त्र ताइवानभन्दा पनि यथास्थितिको ताइवान नै कायम राख्न खोज्नेहरुको समूह ठूलो छ । २०२० मा ताइवानको नेश्नल चेङसी विश्वविद्यालयले गराएको सर्वेक्षणअनुसार यथास्थितिको ताइवान चाहनेहरु भारी मतान्तरले बहुमतमा छन् ।

तर अति सानो समूह मात्रै स्वतन्त्रता चाहन्छ । त्यही स्वतन्त्रता यतिबेला चीनका लागि बोझिलो बन्दैछ । ताइवानमा स्वतन्त्रताको आवाज चर्को बनिरहँदा चीनले भने ताइवानमाथि आक्रमण गर्नसक्ने अड्कलबाजी भइरहेका छन् ।

पछिल्लो समय चीनले ताइवान कब्जा गर्छ वा गर्दैन भन्ने बहस भइरहेको छैन । बरु चीनले कहिले कब्जा गर्ला भन्ने चाहिँ बहसको विषय बन्दैछ । तर ताइवानमा गरिएका केही सर्वेक्षणले भने तत्कालै चीनले आक्रमण गर्ने सम्भावना नरहेको धेरैको बुझाइ थियो । चीनले ताइवानमाथि गर्दैआएको व्यवहारबारे जेजस्ता टीप्पणी र विश्लेषण भएका छन्, त्यस्तैगरी चीनले तत्कालै आक्रमण गर्नसक्ने कुनै सम्भावना छैन । चीन ताइवानमा आक्रमणमै उत्रियो भने त्यसले विश्वशक्ति बन्न द्रुतमार्गमा रहेको चीनलाई आक्रमणको निर्णयले थप जोखिमतिर धकेल्नेछ । फेरि ताइवानमा हमला गर्नु भनेको अमेरिका र अष्ट्रेलियालाई निम्त्याउनु पनि हो । यस्ता जोखिमबारे पनि चीन सचेत नै छ ।

अमेरिका र ताइवान

ताइवान अमेरिकाको नवौा ठूलो व्यापारिक साझेदार मुलुक हो भने ताइवानका लागि अमेरिका दोस्रो ठूलो व्यापारिक साझेदारी भएको देश । अमेरिकाले ताइवानलाई कुनै विकास सहायता नदिएर व्यापारिक सम्बन्ध स्थापित राखेको छ । जसअन्तर्गत अमेरिकाले १८ बिलियन डलरको हतियार ताइवानलाई बिक्री गर्‍यो । साथै ताइवानमा दूतावास समेत तयार भयो ।

हाल ताइवान अमेरिकासाग अनपेक्षित रुपमा निकट देखिए पनि यी दुई देशबीच औपचारिक सम्बन्ध भने छैन । अमेरिकाले ताइवानसाग अनौपचारिक सम्बन्धका लागि नै मित्रता अघि बढाएको हो । यसैलाई ‘विशेष अनौपचारिक सम्बन्ध’ भनिएको छ । त्यसो त, १९९६ मा चीनसँग ताइवानको सम्बन्ध बिग्रिँदा त्यहाँ अमेरिकाले नै लडाकु विमान पठाएर चीनलाई रोकेको थियो । यद्यपि अमेरिका एक चीन नीतिकै पक्षमा रहँदैआएको छ ।

दुई देशबीचको अर्को सम्बन्ध भनेको अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्दै आएको छ । अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति बनेपछि ताइवानसँग अमेरिकाले गहिरो सम्बन्ध स्थापित गरे ।

ट्रम्पले आफ्नो कार्यकालमा ताइवानकी राष्ट्रपति साई इङ वेनसँग टेलिफोनमार्फत कुराकानी गरेका थिए । जुन कुराकानीलाई दुई पक्षबीच १९७९ पछि भएको ‘उच्चतम स्तरको संवाद’ भनिएको छ ।

ताइवानसँग ट्रम्पले सुरु गरेको सम्बन्धलाई जो बाइडेनले पनि निरन्तरता दिए । बाइडेन त्यस्ता राष्ट्रपति हुन् जसले उद्घाटन समारोहमा पहिलोपटक ताइवानीलाई प्रवेश गराए । अर्कोतर्फ ताइवानमा ३० हजार अमेरिकी सैनिक तैनाथ छन् भन्ने कुराले चर्चा पाउने गर्छ । अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले समेत गत महिना ताइवानमा ३० हजार अमेरिकी सैनिक रहेको प्रतिक्रिया दिएका थिए । ताइवानले भने यस्तो कुरालाई सार्वजनिक रुपमा स्वीकार गरेको छैन । न त ताइवानले यसबारे स्पष्ट धारणा नै राखेको छ ।

अमेरिकासँग ताइवानको सम्बन्धलाई लिएर चीन भने सधैं सशंकित हुनेगर्छ । ताइवानकै विषयलाई लिएर चीन र अमेरिकाबीच युद्ध भड्किनसक्ने विशेषज्ञहरुको तर्क रहँदै आएको छ । अमेरिकी रक्षा विभागले २०२० मा सार्वजनिक गरेको एक रिपोर्टअनुसार चिनियाँ सेना तथा जनमुक्ति सेना ताइवानलाई गाभ्ने तयारी गरिरहेका छन् । अर्थात्, यसको अर्थ, चीनले ताइवानमाथि कब्जा वा हमलाको तयारी गरिरहेको कुरा अमेरिकाले नै स्वीकार गरिरहेको छ । तर चीनले १० वर्षभन्दा अघि नै ताइवानमाथि आक्रमण गर्नेमा धेरैजसो विशेषज्ञहरु सहमत देखिँदैनन् । यदी चीन र अमेरिकाबीच युद्ध भएमा त्यहाँ दुई वा तीन देशमात्रै नभएर अष्ट्रेलियासहित अरु थुप्रै देश प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामेल हुनसक्ने देखिन्छ ।

जसले सिंगो विश्वलाई नै प्रभावित पार्ने निश्चित छ । चीन, अमेरिका र ताइवानबीचको सम्बन्ध वा शक्ति संघर्ष कसरी अगाडि बढ्ला भन्ने कुरा ताइवानले आन्तरिक स्वतन्त्रताको आन्दोलन र अमेरिकासागको सम्बन्ध कति सन्तुलित बनाउादै लैजानेछ भन्ने कुराले पनि निर्धारण गर्नेछ । यहाा चीन र अमेरिकाको शक्ति संघर्षमात्रै नभएर ताइवानको भूमिका पनि महत्वपूर्ण मानिन्छ । ताइवान सानो र कमजोर देश भए पनि अमेरिका र चीनसाँगको सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने उसको दायित्व हो ।

(एजेन्सीहरुको सहयोगमा)


प्रकाशित : आश्विन २८, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?