दुई दिनदेखि घना जंगलमा बेपत्ता बालिका यसरी भेटिइन्- विश्व - कान्तिपुर समाचार

दुई दिनदेखि घना जंगलमा बेपत्ता बालिका यसरी भेटिइन्

एजेन्सी

बर्लिन — जर्मनी र चेक रिपब्लिकको सीमा क्षेत्रस्थित जंगलभित्र दुई दिनसम्म हराइरहेकी ८ वर्षीया जर्मन बालिका मंगलबार भेटिएकी छन् । सयौँ उद्वारकर्मीहरुको खोजीपछि उनी फेला परेकी हुन् ।

प्रहरीका अनुसार जुलिया स्लिगर्स नाम गरेकी ती बालिका हाइपोथेर्मियाको रोगबाट पीडित छिन् । उद्वार टोलीले बालिका उद्वार गरेपछि स्थानीय प्रहरीले यसबारे विज्ञप्ति सार्वजनिक गर्दै घटनाबारे जानकारी दिएको छ ।

जुलिया परिवारकै दुई सदस्यहरुसँग बोहेमियन जंगलमा हाइकिङ गर्ने क्रममा आइतबार बर्लिनबाट बेपत्ता भएकी थिइन् । दाइहरुसँग हाइकिङ गरिरहँदा केही बेर विश्राम लिने क्रममा उनी छुटेकी थिइन् ।

अरु दुई बालकलाई भने आइतबार साँझ वाल्डमुएन्चेनस्थित बेभारियन जंगल नजिकै रहेको भेटिएको थियो । तर बालिका भने चिसो र घना जंगल क्षेत्रबाट हराएकी थिइन् । बालिकाको खोजीका लागि सयौँ जर्मन र चेक प्रहरी अधिकृत खटाइएको थियो । साथै ४० जना अग्नि नियन्त्रक, हेलिकोप्टर र तालिमप्राप्त कुकुर समेत खटाइएको थियो । बोहेमियन जंगल यति घना र ठूलो छ कि जहाँ प्रहरी अधिकारीहरुले स्वयंसेवकहरुलाई खोजीको क्रममै हराउनसक्ने डरले खोजी कार्यमा संलग्न नहुन आग्रह गरेका थिए ।

प्रकाशित : आश्विन २६, २०७८ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्

मुगु बस दुर्घटना : चालकसहित ३२ को मृत्यु [अपडेट]

रासस

काठमाडौँ — मुगुमा मंगलबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, ४ जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी ४ जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।

नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिए ।

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगन्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगन्ज पुर्‍याइएको थियो । घाइतेको बाँकेको कोहलपुर र नेपालगन्ज मेडिकल कलेज उपचार भइरहेको छ । सामान्य घाइते छ वर्षीया एक बालिकाको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ । दुर्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए । प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दुर्घटनाको खबर आउने बित्तिकै उद्धार गरेर उपचारका लागि पठाइएको बताए । उनका अनुसार हाल १३ जना उपचाररत छन् ।

प्रकाशित : आश्विन २६, २०७८ २०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×