लडाकु विमान उडाएपछि ताइवानद्वारा चीनलाई चेतावनी

‘चिनियाँ गतिविधि गैरजिम्मेवार र उक्साहटपूर्ण’
एजेन्सी

ताइपेई — चीनले ताइवानको क्षेत्रभित्र लगातार लडाकु विमान उडाएपछि दुई देशबीचको तनाव चर्केको छ । ताइवानका रक्षामन्त्रीले चीनसँगको तनाव ‘४० वर्षयताकै खराब भएको बताउँदै दुर्घटनापूर्ण हमला हुन सक्ने चेतावनी’ दिएका छन् । ।

लडाकु विमान उडाएपछि ताइवानद्वारा चीनलाई चेतावनी

चीनले लगातार चौथो दिन ताइवानको हवाई क्षेत्रमा लडाकु जेट उडाएपछि चिउ कुओ–चेङले प्रतिक्रिया दिएका हुन् । चिनियाँ जेट पूर्णरूपमा ताइवानको क्षेत्रभित्र नउडेका भए पनि चिउले ‘भूलवश गोली प्रहार हुन सक्ने’ चेतावनी दिएका बीबीसीले उल्लेख गरेको छ ।

सोमबार मात्रै चीनले एकै दिन ५६ वटा विमान ताइवानको क्षेत्रमा उडाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ताइवानले एक विज्ञप्ति जारी गर्दै चिनियाँ हवाई गतिविधिलाई ‘गैरजिम्मेवार र उक्साहटपूर्ण’ को संज्ञा दिएको छ । साथै, यस्ता गतिविधि तत्काल नरोके स्थिति भयावह हुन सक्ने उसको चेतावनी छ

सन् २०२५ सम्ममा चीनले ताइवानलाई अतिक्रमण गर्नका लागि दबाब दिइरहेको चिउको दाबी छ । क्षेप्यास्त्र र युद्धक विमानहरू निर्माण गर्न अर्बौं खर्च जुटाउने रक्षा विधयेकका विषयमा संसदीय समितिमा बुधबार बोल्दै चिउले ताइवानलाई आफ्नो मूलभूमिमा समाहित गर्न चीनले योजना बनाइरहेको र आगामी केही वर्षमा त्यसका लागि सफल हुने बताए । यद्यपि, उनले त्यसबारे विस्तृत विवरण सार्वजनिक नगरेका बीबीसीले जनाएको छ ।

पछिल्लो समय ताइवानलाई औपचारिक रूपमा स्वतन्त्र राज्य घोषणा गर्ने तयारी गरिएपछि बेइजिङले त्यसप्रति बढी चासो देखाएको हो । उक्त कदम रोक्ने नियतले चीनले केही दिनयता ताइवानका राष्ट्रपति साइ इङ–वेनलाई दबाब सिर्जना गरिरहेको विश्लेषकहरूको दाबी छ । ताइवानको पक्षमा रहेका कतिपय पश्चिमा राष्ट्रहरूले चीनले पछिल्लो समय अनावश्यक रूपमा सैनिक शक्ति प्रदर्शन गरेको भन्दै चासो व्यक्त गरेका छन् ।

यद्यपि, अमेरिकी राष्ट्रपति जो बाइडेनले उनका चिनियाँ समकक्षी सी चिनफिङसँग अमेरिका ‘ताइवान सम्झौता’ को पक्षमा रहेको बताएका बीबीसीले जनाएको छ । उनको प्रतिक्रियालाई बाइडेन नेतृत्वको अमेरिका ‘एक चीन नीति’ को पक्षमा रहेको रूपमा अर्थ्याइएको छ । तर यो सम्झौताले वासिङ्टनले ताइवानसँग ‘बलियो अनौपचारिक’ सम्बन्ध कायम राख्न सक्छ । ताइवानले आफूलाई प्रतिरक्षा गर्न पाउने प्रावधानसहितको एक ऐनअनुसार अमेरिकाले ताइवानलाई हतियार उपलब्ध गराउँदै आएको छ ।

ताइवानले आफूलाई सार्वभौम देश बताउने गर्छ । तर ताइवानलाई अलग्गिएको प्रान्तका रूपमा हेर्ने चीनले त्यस क्षेत्रको सुरक्षा जिम्मेवारी आफ्नो भएको बताउने गरेको छ । पछिल्लो समय चीनले ताइवानको आकाशमा सयौं लडाकु विमानहरू उडाइसकेको छ । ताइवानलाई अमेरिकाले उक्साउने गरेको चिनियाँ अधिकारीहरूको आरोप छ ।

गत वर्ष मात्रै चीनले ३ सय ८० वटा सैन्य विमान ताइवानको हवाई क्षेत्रमा पठाएको थियो । तर यस वर्ष अक्टोबरको सुरुसम्ममै ६ सयभन्दा बढी चिनियाँ विमान ताइवान प्रवेश गरिसकेका जनाइएको छ । चीन र ताइवान सन् १९४० को दशकको गृहयुद्धका समयमा विभाजित भएका हुन् ।

चीनले आफ्नो रहेको दाबी गर्दै आएको भए पनि ताइवानमा आफ्नै संविधान, लोकतान्त्रिक रूपमा निर्वाचित नेता र करिब ३ लाख सेना छन् । विश्वका निकै कम देशले मात्र ताइवानलाई छुट्टै राष्ट्रका रूपमा मान्यता दिएका छन् । ताइवानसँग कुनै आधिकारिक सम्बन्ध नरहेको भएपनि अमेरिकाको एक कानुनमा ताइवानले आफ्नो प्रतिरक्षा गर्न पाउने प्रावधान समेटिएको छ ।

प्रकाशित : आश्विन २१, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?