प्यान्डोरा पेपर्स : विश्वका नेताहरूको गोप्य धन र लेनदेनबारे ठूलो खुलासा

क्रिकेटर सचिन तेन्दुलकरदेखि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसम्मको ‘अफसोर लगानी’ भेटियो
कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल(आईसीआईजे) ले विश्वका नेता, राजनीतिज्ञ र अर्बपतिका गोप्य धन र लेनदेनको खुलासा गरेको छ । विगतमा पानामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्स सार्वजनिक गरेको आईसीआईजेले यसपटकको रिपोर्टिङलाई ‘प्यान्डोरा पेपर्स’ भन्ने नाम दिएको छ । र, यसलाई ‘अफसोर लगानी’ तर्फ ‘हालसम्मकै सबैभन्दा ठूलो खुलासा’ भनिएको छ ।

प्यान्डोरा पेपर्स : विश्वका नेताहरूको गोप्य धन र लेनदेनबारे ठूलो खुलासा

११७ देशका ६५० भन्दा बढी पत्रकारको सहभागितामा यो खुलासा भएको हो । ९० देशका ३३० भन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, ‘सेलेब्रेटी’ र अपराधमा संलग्नहरूले समेत अफसोर खाता र सेल कम्पनीमार्फत अवैध रकम लुकाएको र छाया अर्थतन्त्र चलाइरहेको दाबी प्यान्डोरा पेपर्समा गरिएको छ ।

यो सूचीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ । तर, नेपालका राजनीतिज्ञ, सरकारी अधिकारी, सेलेब्रिटी र अपराधमा संलग्न व्यक्तिहरूको लगानी भने नभेटिएको रिपोर्टले जनाएको छ ।

प्यान्डोरा पेपर्समा जोर्डनका राजा अब्दुल्लाहले बेलायत र अमेरिकामा गोप्य रूपमा ७० मिलियन पाउन्डबराबरको सम्पत्ति जोडेको बताइएको छ । त्यस्तै बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लयेर उनकी पत्नीले लन्डनमा कार्यालय खोल्दा करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको कुरा पनि आईसीआईजीको अनुसन्धानमा खुलेको छ ।

त्यस्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि मोनाकोमा गोप्य रूपमा सम्पत्ति जोडेको खुलासा भएको छ । त्यस्तै चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रेज बाबिजले फ्रान्समा १२ मिलियन पाउन्डबराबरको दुइटा महल किनेका छन् ।

‘ट्याक्स हेभन’मा १६ नेपालीका लगानी

त्यसैगरी केन्याका राष्ट्रपति उहुरु केन्याताको परिवारको पनि १३ अफसोर कम्पनीमा लगानी देखिएको छ । पनामा, ब्रिटिज भर्जिन आइल्यान्ड र अन्य ट्याक्स ह्याभन मुलुकमा केन्याताको परिवारको २२ मिलियन पाउन्ड बराबरको सम्पत्ति देखिएको हो ।

त्यस्तै अजरबेजानका सत्तारुढ अलियेभ परिवारको पनि बेलायत र अन्य अफसोर कम्पनीमा लगानी देखिएको छ । अजरबैजानका राष्ट्रपतिका ११ वर्षीय छोरा हैदर अलियेभको नाममा लन्डनमा ३३ मिलियन पाउन्ड बराबरको महल रहेको छ । सन् २००९ मा उक्त भवन राष्ट्रपतिका साथीको नाममा किनिएको र पछि छोराका नाममा सारिएको छ ।

त्यस्तै भारतीय अर्बपति अनिल आम्बानी, क्रिकेटर सचिन तेन्दुलकर, निरव मोदीकी बहिनी र बलिउड अभिनेता ज्याकी श्रफलगायतका ३०० जना भारतीय नागरिकको पनि ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएका अफसोर कम्पनीमा लगानी रहेको देखिएको छ ।

प्यान्डोरा पेपर्ससम्बन्धी केही रोचक तथ्य

स्रोत : १४

फाइल : ११,९०३,६७६

डेटा : २.९४ टेराबाइट

कागजात : ६,४०६,११९

तस्बिर : २,९३७,५१३

इमेल : १,२०५,७१६

स्प्रिडसिट्स : ४६७,४०५

अन्य : ८८६,९२३

प्रकाशित : आश्विन १८, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?