७२औं राष्ट्रिय दिवस मनाउँदै चीन, पर्यटनको ‘स्वर्ण सप्ताह’

लक्ष्मी लम्साल

बेइजिङ — चीनका प्रधानमन्त्री ली खछ्याङले नयाँ चीन स्थापना भएको ७२ वर्षमा चीनले उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेका छन्। ग्रेट हल अफ द पिपुल्समा अक्टोबर १ को पूर्वसन्ध्यामा आयोजित समारोहमा प्रधानमन्त्री लीले भने, ‘निर्धारित समयमै चौतर्फी सम्पन्न समाजको निर्माणको प्रथम शतवार्षिकी विकास लक्ष्यलगायत समाजवादी आधुनिक मुलुकको अभियानमा चीनले नयाँ यात्रा सुरू गरेको छ।’

७२औं राष्ट्रिय दिवस मनाउँदै चीन, पर्यटनको ‘स्वर्ण सप्ताह’

७२औं राष्ट्रिय दिवसको स्वागत समारोहमा राष्ट्रपति सी चिनफिङ लगायत चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रिय नेताहरूसहित ५०० भन्दा बढी चिनियाँ र विदेशीहरू सहभागी भएको चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन्।

प्रधानमन्त्री लीले ‘एक देश, दुई व्यवस्था’को नीतिमा अडिग रहेर खुलापन तथा सुधारको आधारभूत राष्ट्रिय नीतिलाई कायम राखिने बताए। उनले चीनको विकासको मूल शक्ति मानिने सुधार र खुलापनको नीति अख्तियार गर्दै जाने संकेत गरे। सम्बोधनका क्रममा प्रधानमन्त्री लीले हङकङ, ताइवान र मकाउको स्वशासन नीतिमा मुख्यभूमिको दृढ अडान रहने बताए।

चिनियाँ पर्यटन क्षेत्र चलायमान

चीनको राष्ट्रिय दिवस विश्व पर्यटनको ‘गोल्डेन विक’ मानिए पनि कोरोनाको दोश्रो वर्ष चीनबाहिरको पर्यटन क्षेत्र पुरानै लयमा फर्किन अझै सकेको छैन। चिनियाँ पर्यटकका लागि घरेलु आकर्षक पर्यटकीय गन्तव्यहरूकै चर्चा गरिएबाट महामारीका कारण समुद्रपारको यात्रा यस वर्ष पनि उति उत्साहजनक भएन। चिनियाँ पर्यटक विश्व पर्यटन उद्योगका सबैभन्दा ठूला श्रोत मानिन्छन्।

शरद ऋतुको आगमनसँगै चीनको राष्ट्रिय दिवसमा सप्ताह लामो छुट्टीलाई लक्षित गर्दै विदेशी पर्यटकीय क्षेत्रले पनि भव्य तयारी गरेर चिनियाँहरूलाई पर्खिबसेका हुन्थे। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार गत वर्ष २०२० मा घरेलु पर्यटक ६३७ मिलियनले यात्रा गरेका थिए। थोङछङ ट्राभल एजेन्सीले जारी गरेको भविष्यवाणी प्रतिवेदनअनुसार यस वर्ष २०२१को गोल्डेन सप्ताहमा ६५० मिलियनले घरेलु पर्यटन गर्नेछन्, जुन कोरोनाअघि सन् २०१९ को तुलनामा ८० प्रतिशत बढी हुनेछ।

चीनको नयाँ वर्ष जस्तै राष्ट्रिय दिवसको साप्ताहिक बिदामा पनि आउजाउ निकै बाक्लो हुने अवधि हो। यसपटक सेप्टेम्बर ३० देखि अक्टुबर ७ सम्म यो क्रम चल्नेछ।

प्रकाशित : आश्विन १५, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?