ट्युनिसियामा पहिलो महिला प्रधानमन्त्री नियुक्त- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्युनिसियामा पहिलो महिला प्रधानमन्त्री नियुक्त

एजेन्सी

ट्युनिसिया — ट्युनिसियाका राष्ट्रपति काइस सइदले नज्ला बौडेन रोमाधानेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । विश्व बैंकमा कार्यरत युवा ईन्जिनियरको रुपमा चिनिएकी नज्ला देशकै पहिलो
महिला प्रधानमन्त्री बन्ने मौका पाएकी छन्।

दुई महिनाअघि कु को आरोप लागेका राष्ट्रपति सइदले अघिल्लो प्रधानमन्त्रीलाई बर्खास्त गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दबाब आउन थालेपछि उनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

गत महिना उनले प्रधानमन्त्री बर्खास्त गर्दै संसद् समेत भंग गरेका थिए । यसबीचमा उनले संविधान परिवर्तन गरी आफ्नो शासनाधिकारको भूमिका समेत बढाएका छन् । सोही प्रावधान अनुरुप राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको रुपमा रोमाधानेको नाम घोषणा गरेका हुन् । राष्ट्रपति सइदले रोमाधानेको नियुक्तिलाई ऐतिहासिक निर्णयको रुपमा व्याख्या गरेका छन् ।

रोमाधाने ट्युनिसियाको दसौं प्रधानमन्त्री हुनुका साथै पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर पाएकी हुन् । यहाँ लामो समयदेखि शासन गरेका तानाशाह जिने एल अबिदिने बेन अलीलाई २०११ मा विद्रोहमार्फत् हटाएपछि लोकतान्त्रिक अभ्यास सुरु भएको हो । तर पछिल्लो समय नयाँ राष्ट्रपति सइदको गतिविधिलाई लिएर फेरि राष्ट्रिय संकट सुरु भएको टिप्पणी हुने गरेको छ । ट्युनिसिया पछिल्लो समय आर्थिक र राजनीतिक संकटसँग जुधिरहेको बताइन्छ ।

प्रकाशित : आश्विन १३, २०७८ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्

अनेरास्ववियू क्रान्तिकारी : सशक्त संगठनको खाँचो 

माओवादी नेतृत्व र आन्दोलन अर्कालाई प्रधानमन्त्री बनाउनुपर्ने र काँध थापिदिनुपर्ने अवस्थामा पुगेको छ । यसलाई बदल्न सकेनौँ र यसैमा रमाइरह्यौँ भने हामी डुब्नेछौँ ।
रञ्जित तामाङ

प्रतिगमनविरोधी आन्दोलनको सफलतापछि अनेरास्ववियू (क्रान्तिकारी) को असोज १४–१६ सम्म २२ औँ राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा देशैभरिका अखिल क्रान्तिकारीका साथीहरू कलम र तारा अंकित झन्डा बोकेर गोलबद्ध भएका छन् ।

कुनै बेला हामीले अनेरास्ववियू (क्रान्तिकारी) लाई विघटन/स्थगित गरेर अनेरास्ववियू बनायौं । त्यतिबेला क्रान्तिकारी विद्यार्थी बनाउने एउटा लामबद्ध अभियानमा लाग्दै गर्दा एउटा पट्यारलाग्दो समयको ‘ब्ल्याकहोल’ भित्र छिर्न पुगियो । अहिले एमालेनिकट अनेरास्ववियुलाई छाडेर फेरि हामी अनेरास्ववियू (क्रान्तिकारी) को झन्डा र नाम बोकेर त्यो कालो छिद्रबाट उम्किएका छौँ । आफ्नै खुट्टा, आफ्नै विरासतमा उभिएर जनतामाझ पुग्ने स्वर्णिम अभियानमा छौँ ।

आज अनेरास्ववियू क्रान्तिकारी बेनोज अधिकारी, पूर्ण पौडेललगायतका सहिदको सपना पूरा गर्न मैदानमा उत्रिएको छ । माओवादी आन्दोलन कमजोर हुँदा देश र जनतालाई हानी हुने निश्चित छ । त्यसैले हामीले माओवादी आन्दोलनलाई सुरक्षित गर्नु परेको छ । यतिबेला अनेरास्ववियू क्रान्तिकारी विकास र समृद्धिमा जुट्न तयार छ । यसका लागि माऊ पार्टीसँगै अघि बढ्ने संकल्प गर्दछ । कोरोना महामारीका बेला पनि क्रान्तिकारी विचार र अभियानलाई गाउँगाउँसम्म पुर्‍याउन अगाडि बढिरहेको छ ।

देशभर हुने स्ववियु चुनावमा क्रान्तिकारीले वर्चश्व कायम गर्न अघि बढ्नेछ । निकट भविष्यमा हुने संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा हामी केन्द्रित हुनु परेको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले साढे तीन वर्षमा जनतालाई झुक्याएर समृद्धिको गुलियो ललिपपमात्र देखाएका विषयहरूलाई जनतामाझ पुर्‍याउन सके मात्र माओवादीले सुविधाजनक बहुमत ल्याउन सक्छ । त्यसका निम्ति रातदिन नभनी जनजनका घरआँगनसम्म पुग्न हामी कटिबद्ध छौँ ।

क्रान्तिकारी खराब तथा जनविरोधी शासकलाई परास्त गर्न सम्झौताहीन आन्दोलनको मैदानमा हुनेछ । क्रान्तिकारीको सम्मेलन पदपूर्ति गर्नका लागि मात्र हुने छैन । यो सम्मेलनले ‘जनताका छोराछोरी, सबै अखिल क्रान्तिकारी’ भन्ने मूल अभियानलाई सिद्ध गर्नेछ । विगतमा जनमुक्ति सेनाले जसरी जनतासँग जोडिएर काम गरेको थियो त्यसैगरी क्रान्तिकारीले जनतासितै जोडिएर काम गर्नेछ ।

जनमतबाट पनि प्रतिगमन आउनसक्ने उदाहरण पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देखाए । त्यसैले जुनसुकै बेला आउनसक्ने प्रतिगमन र प्रतिगामी कदमलाई परास्त गर्न हामी एउटा हातमा कलम र तारा अंकित झन्डा र अर्को हातमा मसाल बोकेर मैदानमा गणतन्त्रको रक्षार्थ उभिने छौँ ।

अनेरास्ववियू (क्रान्तिकारी) लाई विद्यार्थी आन्दोलनको आशा र भरोसाको केन्द्रबिन्दु बनाउने छौँ । लामो समयदेखि हामीले जनवादी शिक्षा, वैज्ञानिक शिक्षाको कुरा उठायौँ । साथै, ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत अप्राविधिक शिक्षाका लागि २० प्रतिशतभन्दा बढी बजेट विनियोजन गर्ने भन्यौँ । यसअनुसार काम भएन । शिक्षाक्षेत्र व्यवस्थित हुन सकेन । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनलाई ओलीले थन्क्याएर राखे । त्यो आजसम्म पनि कानुनको रूपमा आउन सकेको छैन । यसलेगर्दा लामो समयदेखि शिक्षाका व्यापारी दलालहरूलाई निस्तेज गर्न र शिक्षामा २० प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेर शिक्षाको पुनर्संरचना र पुनर्निर्माण गर्न निकै कठीन भएको छ । अब हामी यसमा ध्यान दिने छौँ ।

भारतको नयाँदिल्लीमा अरविन्द केजरीवालको पार्टीले जस्तै शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, सुरक्षालगायत विषयमा जनताको मन जित्नेगरी काम गर्नेछौँ । यसअघि पनि हामीले केजरीवालको जस्तै योजना बनायौँ तर काम केपी ओली जस्ताको उखानटुक्कामा पुगेर अलपत्र पर्‍यो । अब अखिल क्रान्तिकारी शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका मौलिक हक कार्यान्वयन गर्न संघर्षरत छ । आवश्यक पर्दा आफ्नै पार्टी नेतृत्वलाई सडकबाट औँला ठड्याएर खबरदारी गर्न समेत पछि पर्ने छैन । यसमा पनि हामी सचेत छौँ ।

विदेशमा गएर दुःखजिलो गरेर हाम्रा दाजुभाइ तथा दिदीबहिनीले कमाएको पैसा सन्तानको शिक्षा, स्वास्थ्य र विलाशितामा खर्चिएको पाइन्छ । शिक्षालाई सम्पूर्ण रूपले राज्यले दायित्व लिने हो भने खुनपसिना बगाएर विदेशमा कमाएर पठाएको पैसा स्वदेशमै उत्पादन गरी थप रोजगारी सिर्जना गर्न सकिन्छ । स्वास्थ्यक्षेत्र व्यवस्थित गर्ने र आयमूलक रोजगारीका अवसरहरू सिर्जना गर्न राज्यले ध्यान दिने हो भने विदेशमा भएका एक तिहाइभन्दा बढी नेपाली तुरून्तै स्वदेश फर्किन्छन् । त्यसबाट बचेको पैसाले स्वरोजगारीमा लाग्नेछन् । यसमा अनेरास्ववियू क्रान्तिकारीसँगै हुनेछ ।

‘नो एमसीसी’ अभियान चलेको छ । देशका सीमाहरू मिचिएका छन् । विदेशी हस्तक्षेपहरू बढेका छन् । क्रान्तिकारीहरू सङ्कल्प गर्छन्– एमसीसी रोक्नु पर्छ । विदेशी हस्तक्षेप बन्द गरिनु पर्छ ।

अनेरास्ववियू क्रान्तिकारीमा काम गर्ने जोसुकै क्रियाशील सदस्यलाई उचित मूल्याङ्कन गरी जिम्मेवारी दिइनेछ । नेताको परिक्रमा गरेर नेतृत्व दाबी गर्नेलाई परास्त गरी अहोरात्र खट्नेलाई जिम्मेवारी दिइनेछ । २१ औँ सम्मेलनमा निर्वाचन गर्‍यौँ । निर्वाचन गर्नुपर्ने केही वाध्यताहरू थिए । किनभने त्यसबेला एकता, ध्रुवीकरणलगायतका कारण संगठन भुत्ते भएको थियो ।

केन्द्रीय कमिटी ९९९ सदस्यीय थियो । विद्यार्थी संगठनमा यति ठूलो केन्द्रीय कमिटी संसारमा कहीँ पनि थिएन । यस ‘जम्बो टिम’लाई सानो बनाएर चुस्तदुरूस्त बनाउनु फलामको चिउरा चपाउनुजस्तै थियो । त्यसबेला क्रियाशील सदस्यको योग्यता र क्षमता नाप्ने कुनै यन्त्र थिएन । त्यसैले निर्वाचनमा जानु अपरिहार्य बनेको थियो । चुनावले रहरलाग्दो, भरलाग्दो र लोभलाग्दो कमिटी चयन गर्‍यो । हारेका साथीलाई पनि सम्मान गर्‍यौँ र जितेका साथीहरू पनि निरङ्कुश बनेनौँ । मिलेर संगठनलाई अब्बल सावित गर्‍यौँ । निर्वाचनका कारण गुटबन्दीहरू भए ।

आज माओवादी आन्दोलन खुम्चिएर मरिचजस्तो भएको छ । माओवादी नेतृत्व र आन्दोलन अर्कालाई प्रधानमन्त्री बनाउनुपर्ने र काँध थापिदिनुपर्ने अवस्थामा पुगेको छ । यसलाई बदल्न नसक्ने र यसैमा रमाउने हो भने हाम्रो अवस्था फेरिने छैन र हामी डुब्नेछौँ ।

अब हामी क्रान्तिकारी विद्यार्थीहरूको नेतृत्व नयाँपुस्ताका साथीहरूलाई सुम्पिन तयार छौँ । यसै भावनाअनुसार हामीले देशभर सम्मेलन गरेर सर्वसम्मत कमिटीहरू निर्माण गरेका छौँ । राष्ट्रिय सम्मेलनले पनि एकताबद्ध भएर सर्वसम्मत गर्ने अभियानमा जुटिरहेका छौँ ।

लेखक अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हुन् ।

प्रकाशित : आश्विन १३, २०७८ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×