१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

उडान पुन: सञ्‍चालन गर्न भारतलाई तालिबानले पठायो पत्र

एजेन्सी

नयाँदिल्ली — तालिबान सरकारले भारतसँग व्यावसायिक उडान पुन: सञ्चालन गर्न भन्दै भारतलाई पत्र पठाएको एक रिपोर्टले जनाएको छ । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार तालिबानले भारतीय नागरिक उड्डयन निर्देशनालयलाई उक्त पत्र पठाएको हो । तालिबानले पठाएको उक्त पत्र भारतको नागरिक उड्डयन मन्त्रालयले प्राप्त गरिसकेको र त्यसको समीक्षा गरिरहेको एएनआईको रिपोर्टमा उल्लेख छ ।

उडान पुन: सञ्‍चालन गर्न भारतलाई तालिबानले पठायो पत्र

अफगानिस्तानमा तालिबानले १५ अगस्टमा सत्ता कब्जा गरेपछि भारत सरकारले अफगानसँगका आफ्ना सबै व्यावसायिक उडान बन्द गरेको छ । गत साता तालिबानले अरु देशका एयरलाइन्सलाई पनि विमानस्थलका समस्या समाधान भइसकेकाले उडान पुन: सुरु गर्न आग्रह गरेको थियो ।

विगतमा खस्किएको अर्थतन्त्र उकास्न संघर्षरत तालिबान सरकारले अन्तर्राष्ट्रिय समर्थनका लागि प्रयास स्वरुप उडानलाई निरन्तरता दिन खोजेको बताइन्छ ।

तालिबान प्रवक्ता अब्दुल कहार बाल्खीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएपछि विभिन्न देशमा अफगान नागरिकहरु अलपत्र परेको र धेरै मानिस काम वा अध्ययनका लागि यात्रा गर्नबाट रोकिएका छन् । साथै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको समस्या पूर्ण रुपमा समाधान भएको र आन्तरिक र वाह्य उडानका लागि विमानस्थल पूर्ण रुपमा तयार रहेको बाल्खीको भनाइ छ ।

यसअघि सेप्टेम्बर १३ मा पाकिस्तानी विमानले काबुल विमानस्थलमा अगस्ट १५ पछि पहिलोपटक व्यावसायिक उडान भरेको थियो । अरु केही विमानले पनि आंशिक रुपमा उडान भरेका छन् । तालिबानको सत्ता कब्जापछि दसौँ हजार अफगान र विदेशी नागरिक वाह्य उडानका लागि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएका थिए ।

प्रकाशित : आश्विन १३, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?