कृषि कानुनको विरोधमा भारत बन्द- विश्व - कान्तिपुर समाचार

कृषि कानुनको विरोधमा भारत बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरूले सोमबार भारत बन्दको आह्वान गरेका छन् ।  एक वर्ष अगाडि सरकारले ल्याएको कृषि कानुनको विरोधमा भारतका ४० भन्दा बढी संगठनले भारत बन्दको आह्वान गरेका हुन् ।

बिहान ६ बजेदेखि सुरु भएको बन्द बेलुका चार बजेसम्म जारी रहने पनि किसान संगठनले जनाएका छन् । संयुक्त किसान मोर्चाले सबै सामाजिक संगठन र ट्रेड युनियनलाई भारत बन्दमा समर्थन जनाउन अपिल गरेको छ । त्यस्तै भारतका विभिन्न प्रतिपक्षी दलले पनि बन्दको समर्थन गरेका छन् ।

भारत बन्दको प्रभाव उत्तर भारतको पञ्जाब, हरियाणादेखि लिएर दक्षिण भारतको केरलसम्म देखिएको बीबीसी हिन्दीले जनाएको छ । केरलमा एलडीएफ र यूडीएफसँग सम्बद्ध ट्रेड युनियनले बन्दको समर्थन गरेका छन् । विभिन्न स्थानमा रेलवे लिकमै प्रदर्शन गरिएको छ । किसान नेता राकेश टिकैटले एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधनलाई भने बन्दमा नरोकिएको बताएका छन् ।

दिल्लीमा किसानहरूले गरेको बन्दमा गरेको प्रदर्शन ।

तमिलनाडुमा बन्दका क्रममा प्रहरीको ब्यारिकेड तोडेको आरोपमा केही किसानलाई नियन्त्रणमा लिइएको जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार प्रहरी र प्रदर्शनमा उत्रिएका किसानबीच केहीबेर झडपसमेत भएको छ ।

मोदी सरकारले ल्याएका किसानसम्बन्धी विभिन्न तीन वटा कानुनको विरोधमा एक वर्षदेखि किसानहरु आन्दोलित भएका हुन् । किसान नयाँ कानुन लागू भएको खण्डमा कृषि क्षेत्रमा कर्पोरेट क्षेत्रको बर्चस्व स्थापित हुने, किसानहरुले आफ्ना उत्पादनको न्यूनतम समर्थन मूल्य(एमएसपी) पनि नपाउने भन्दै चर्को विरोध गरेका छन् ।

नयाँ कानुनले कृषकहरुले दर्ता भएका मण्डीबाहिर पनि आफूखुशी बेच्न पाउनुपर्ने व्यवस्था गरेको छ । त्यसले राज्यभित्र र राज्यबाहिर पनि किसानको उत्पादन बिक्रीको बाटो खुला गर्नेछ । यसले कृषकहरुका लागि लागत घटाउने र राम्रो मूल्य पाउने सम्भावना रहन्छ ।

प्रकाशित : आश्विन ११, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्

कतारकी राजकुमारी आस्मासहितको टोली मनास्लु चुचुरोमा

हरिराम उप्रेती

गोरखा — कतारकी राजकुमारी शेख आस्मा अल थानीसहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । 

आस्मा सोमबार बिहान साढे १० बजे ८,१६३ मिटर उचाइको मनास्लुको चुचुरोमा पुगेको इलाइट हिमाल एडभेन्चरका कुशल बुढाथोकीले बताए । चुचुरोमा पुगेर आस्मासहितको टोलि बेसक्याम्पतिर फर्कने क्रममा रहेको उनले जानकारी दिए । ‘थप इन्फर्मेसन आउँदै छ, उहाँसहितको टोलीले सफल आरोहण गरेर आधारशिविर फर्कने क्रममा हुनुहुन्छ,’ उनले भने ।

मनास्लु हिमालको चुचुरोसम्म डोरी टाँगेर बाटो तयार भएसँगै बेसक्याम्पमा रहेका आरोहीले आरोहण थालेका छन् । पर्यटन विभागका अनुसार मनास्लु हिमाल आरोहणका लागि १७ आरोहण दलबाट २० देशका १ सय ७१ जनाले अनुमति लिएका छन् । तिनमा १ सय ३३ पुरुष र ३८ महिला छन् ।

प्रकाशित : आश्विन ११, २०७८ १२:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×