दाह्री नकाट्न नाऊहरूलाई तालिबानको उर्दी

एजेन्सी

काबुल — अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री खौरने र छोटो बनाउने काममा रोक लगाएको हो । उक्त आदेश उल्लंघन गर्नेलाई सजाय दिइने पनि तालिबानको धार्मिक प्रहरीले जनाएको छ ।

दाह्री नकाट्न नाऊहरूलाई तालिबानको उर्दी

राजधानी काबुलका केही नाऊहरूलाई पनि यस्तै आदेश दिइएको बीबीसीले जनाएको छ । तालिबानको उक्त आदेशबाट फेरि पनि अफगानिस्तानमा कट्टरपन्थी शासन फर्किने संकेत गरेको छ । तालिबानले पटक–पटक नागरिकको स्वतन्त्रतालाई स्थान दिइने दाबी गरे पनि उनीहरूको कदम भने त्यसतर्फ लक्षित देखिन्न ।

तालिबानका पछिल्ला कदमबाट पनि उनीहरूको धार्मिक कट्टरपन्थतर्फ गएको बुझ्न सकिन्छ । गत महिना मात्रै सत्तामा आएको तालिबानले आफ्ना विरोधीलाई कडा सजाय दिएको छ । शनिबार आएको रिपोर्टमा तालिबान लडाकुले अपहरणमा मामिलामा ‘चार अभियुक्त’लाई गोली हानेर मारेको छ । त्यसपछि उनीहरूको शव हेरात प्रान्तको सडकमा झुन्ड्याइएको थियो ।

हेलमन्ड प्रान्तका सैलुनबाहिर टाँसिएको सूचनामा नाऊहरूलाई शरिया कानुन पालना गर्दै दाह्री काट्न निर्देशन दिइएको छ । उक्त सूचनामा ‘कसैलाई पनि गुनासो गर्ने अधिकार नभएको’ उल्लेख छ । काबुलका एक नाऊले तालिबान लडाकुहरू आएर आफूलाई दाह्री नकाट्न उर्दी आदेश दिएको बताएका छन् । त्यस्तै अर्का नाऊले आफूलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी निरीक्षक आउन सक्ने बताउँछन् । त्यस्तै केही नाऊलाई ‘अमेरिकी शैलीको पालना रोक्न’ भनिएको छ । तालिबानले सैलुनमा संगीत बजाउन पनि रोक लगाएको छ ।

सन् १९९६ देखि २००१ को बीचमा पनि तालिबानले अफगानिस्तानमा आधुनिक शैलीमा कपाल र दाह्री काट्न रोक लगाएको थियो । तालिबानले सबैलाई दाह्री पाल्न दबाब दिएको थियो । तालिबान शासनको अन्त्यसँगै अफगानिस्तानमा कपाल र दाह्रीमा पुन: फेसन सुरु भएको थियो ।

प्रकाशित : आश्विन ११, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?