कन्हैया कुमार कंग्रेसमा प्रवेश गर्ने तयारी- विश्व - कान्तिपुर समाचार

कन्हैया कुमार कंग्रेसमा प्रवेश गर्ने तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का प्रभावशाली युवा नेता कन्हैया कुमार र दलित नेता जिग्नेश मेभानी कंग्रेस पार्टीमा प्रवेश गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यम ईन्डिया टुडेले स्रोतको हवाला दिँदै यसबारे समाचार बनाएको छ ।

ईन्डिया टुडेका अनुसार यसै महिनाको सुरुमा युवा नेता कन्हैया कुमारले कंग्रेसका नेता राहुल गान्धीसँग भेट गरेका थिए । जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्वविद्यार्थी नेता कन्हैया कुमार र जिग्नेश आगामी मंगलबार, सेप्टेम्बर २८ मा औपचारिक रुपमा कंग्रेसमा प्रवेश गर्ने ईन्डिया टुडेले जनाएको छ ।

यसअघि सेप्टेम्बर २७ मा सहिद भगत सिंहको जन्मदिनको अवसर पारेर पार्टी प्रवेश गर्ने तयारी भए पनि त्यस दिन कंग्रेसको देशव्यापी आन्दोलन घोषणा गरिएकाले सेप्टेम्बर २८ मा औपचारिक कार्यक्रमका बीच प्रवेश गर्ने तयारी गरेको बताइएको छ । कार्यक्रममा राहुल गान्धी, युवा नेता हार्दिक पटेल लगायतका नेताले सम्बोधन गर्ने ईन्डिया टुडेले उल्लेख गरेको छ ।

सीपीआईका युवा नेता कन्हैया कुमार धारा प्रवाह भाषण गर्ने युवा नेताको रुपमा चिनिन्छन् । २०१९ को लोकसभा निर्वाचनमा बिहारको बेगुसरायमा भारतीय जनता पार्टीका नेता गिरिराज सिंहसँग कन्हैया पराजित भएका थिए । कन्हैया कुमारको कंग्रेस प्रवेश तयारीलाई बिहारमा कंग्रेसलाई पुनर्जीवन दिने पार्टी नेतृत्वको रणनीतिका रुपमा समेत हेरिएको छ ।

यस्तै जिग्नेश मेभानी भारतमा दलित आन्दोलनका नेताको रुपमा चिनिन्छन् । साथै उनले गुजरातको बदगामबाट एमएलएका लागि उम्मेदवारी दिँदा त्यहाँ भाजपालाई ठूलो धक्का परेको थियो ।

प्रकाशित : आश्विन ९, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस अधिवेशन : गोरखाका ६ गाउँपालिकामा सर्वसम्मत सभापति

हरिराम उप्रेती

काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जारी पालिका अधिवेशनमा गोरखाका ६ पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । ११ स्थानीय तह रहेको गोरखाका बाँकी पाँच पालिकामा भने निर्वाचन प्रक्रिया चलिरहेको छ ।

चुमनुव्री गाउँपालिकामा सूर्यबहादुर गुरुङ, सहिद लखन गाउँपालिकामा काशीनाथ अम्गाइ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ, अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ र गण्डकी गाउँपालिकामा होमबहादुर राना सर्वसम्मत सभापति चयन भएका छन् ।

चुमनुव्री र धार्चे गाउँपालिकामा सभापतिसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भइसकेका छन् । सभापति सर्वसम्मत भएका अन्य पालिकामा पदाधिकारी र सदस्य चयनका लागि भने सर्वसम्मत बनाउने प्रयास भइरहेको बताइएको छ ।

नगर सभापतिमा सर्वसम्मतको प्रयास असफल भएपछि गोरखा र पालुङटार नगरपालिकामा भने चुनावी प्रक्रिया सुरु भएको छ । गोरखा नगरसभापतिका लागि चन्दनबाबु खत्री र डिलबहादुर थापाले उम्मेदवारी दिएका छन् ।

यस्तै गोरखा नगरपालिकामा मतदान प्रक्रिया जारी छ । पालुङटार नगरपालिकामा अमर धिताल र विमल ढकालको उम्मेदवारी परेको छ । पालुङटार नगरपालिकामा पनि निर्वाचन प्रक्रिया चलिरहेको छ । भिमसेन थापा गाउँपालिकामा नारायणप्रसाद भट्टराई र दिनेश नरालबीच सभापतिमा प्रतिस्पर्धा भएको छ । बारपाक सुलिकोट गाउँपालिकामा जीतबहादुर घले र केशरी ढकालले सभापतिका लागि दावी गरेका छन् ।

सिरानचोक गाउँपालिकामा ज्ञानेन्द्र गुरुङ, वीरबहादुर थापा, जयकृष्ण ढकाल, भक्त गुरुङ गरी चार जनाको पालिका सभापतिका लागि दाबी परेको छ । सिरानचोकमा सर्वसम्मतको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाट पालिका सभापति छनोटको तयारी थालिएको छ ।

११ वटै स्थानीय तहमा शनिबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले बताए । पालिका अधिवेशनबाट एक जना सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचित हुनेछन् ।

प्रकाशित : आश्विन ९, २०७८ १८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×