तीन वर्षदेखि चीनले बन्धक बनाएका दुई क्यानेडियन नागरिक रिहा

काठमाडौँ — चीन सरकारले १००० दिन अर्थात् झण्डै तीन वर्षदेखि हिरासतमा राखेका दुई क्यानेडियन नागरिक रिहा भएका छन् । उनीहरु शनिबार बिहानै क्यानडा पुग्ने क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले सञ्चारमाध्यमसमक्ष बताएका छन् ।

तीन वर्षदेखि चीनले बन्धक बनाएका दुई क्यानेडियन नागरिक रिहा

क्यानेडियन नागरिकद्वय माइकल कोभ्रिग र माइकल स्पाभोरलाई २०१८ को डिसेम्बरदेखि चीनले नियन्त्रणमा राखेको थियो । चिनियाँ कम्पनी हुवावे टेक्नोलीजीजका प्रमुख मेङ वाङझोउलाई क्यानडामा पक्राउ गरेलगत्तै चीनले क्यानेडियन दुई नागरिकलाई बेइजिङमा पक्राउ गरेको हो ।

'माइकल कोभ्रिग र माइकल स्पाभोर केहीबेरअघि आफ्नो घर फिर्तीका लागि चीन छाडे,' क्यानेडियन प्रधानमन्त्री ट्रुडोले मिडियासमक्ष भनेका छन् । ती दुई नागरिकले चीनमा कठिन समयको सामना गर्नुपरेको ट्रुडोले पत्रकारहरुसँग भनेका छन् । तर उनीहरुले आफ्ना परिवारलाई भेट्न पाउनु आफूहरुका लागि खुसीको समाचार भएको ट्रुडोको प्रतिक्रिया छ ।

अन्तर्राष्ट्रिय समुदाय र सहयोगी राष्ट्रहरुले दुई नागरिकको रिहाइका लागि साथ दिएकोमा ट्रुडोले धन्यवादसमेत व्यक्त गरेका छन् । यसअघि उनले आफ्ना नागरिकलाई चीनले बन्धक बनाएकोमा आपत्ति जनाउँदै आएका थिए ।

प्रकाशित : आश्विन ९, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?