१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अस्ट्रेलियाले क्रमिक रूपमा विदेशी विद्यार्थी भित्र्याउने

तत्काल नेपाली विद्यार्थी आउन पाउने सम्भावना न्यून
नारायण खड्का

अस्ट्रेलिया — करिब दुई वर्षपछि अस्ट्रेलियाले क्रमिक रुपमा विदेशी विद्यार्थीलाई भित्र्याउने योजना सार्वजनिक गरेको छ । न्यु साउथ वेल्स राज्यले यही डिसेम्बरको पहिलो सातादेखि सुरक्षित किसिमले विदेशी विद्यार्थीलाई उच्चशिक्षाका लागि ल्याइने योजना कार्यान्वयन गर्ने भएको छ । 

अस्ट्रेलियाले क्रमिक रूपमा विदेशी विद्यार्थी भित्र्याउने

न्यु साउथ वेल्स राज्यको शैक्षिक निकाय स्टडी एनएसडब्लूका अनुसार डिसेम्बरको पहिलो सातादेखि यो विदेशी विद्यार्थीलाई ल्याउन सुरु गरिनेछ । जसमा हरेक दुई सातामा २ सय ५० जनाका दरले विदेशी विद्यार्थीले अस्ट्रेलिया प्रवेश पाउनेछन् । तत्कालका लागि महिनाको ५ सयका दरले विद्यार्थी ल्याइने प्रारम्भिक योजना भए पनि भविष्यमा अवस्था हेरेर यसलाई बढाउँदै लैजान सकिने बताइएको छ ।

अस्ट्रेलियाको भिसा लागेर आफ्नै देशमा पर्खेर बसिरहेका दसौं हजार विद्यार्थी यसबाट लाभान्वित हुने भए पनि कोरोना खोपको दुवै मात्रा लगाइसकेकालाई मात्र प्रवेश अनुमति दिइनेछ । तत्कालका लागि यहाँ आउन चाहने विद्यार्थीले अस्ट्रेलियाली स्वास्थ्य निकायद्वारा अनुमति दिइएको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको दुवै डोज लगाएको हुनुपर्नेछ ।

अस्ट्रेलियास्थित थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, फाइजर र मोडर्ना खोपलाई मात्र अनुमति दिएको छ । न्यु साउथ वेल्स राज्यमा मात्र ३८ प्रतिशत विद्यार्थी अध्ययन गर्ने गरेको तथ्यांक छ । जसमा ९५ हजार फुलटाइम बराबरको जनशक्ति विदेशी विद्यार्थीले पूर्ति गर्दै आएका छन् । यसैगरी यस राज्यले सन २०२१ म मात्र ५ अर्ब डलर बराबरको अर्थतन्त्रमा घाटा बेहोर्नुपरेको तथ्यांक छ जुन सन् २०२२ सम्ममा ११ अर्ब पुग्नसक्ने अनुमान गरिएको छ । न्यु साउथ वेल्स राज्यका कार्यकारी प्रिमियर जोन बारिलारोले खोप लगाउने जनसंख्यामा वृद्धि भएसँगै यो कार्यक्रमसमेत बढ्ने बताएका छन् । सरकारले सुरु गरेको यो नमुना कार्यक्रमका बारेमा विद्यार्थीसमक्ष सही सूचना पुरयाउने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइटमा यस योजनाका बारेमा यथार्थ विवरणसमेत राखिदिएको छ ।

कसरी आउँछन् विद्यार्थी ?

सरकारको नयाँ योजनाअन्तर्गत आउन चाहने विद्यार्थी आफुखुसी आउन भने पाउनेछैनन् । उनीहरुलाई उनीहरु अध्ययनरत विश्वविद्यालय तथा शैक्षिक संस्थाले खबर गर्नेछ । त्यसपछि विद्यार्थीले हवाईयात्राका लागि आवश्यक रकम तिर्नुपर्नेछ भने शैक्षिकसंस्थाले उनीहरुको अन्य खर्च बेहोर्ने स्टडी एनएसडब्लूले उल्लेख गरेको छ । विद्यार्थी अध्ययनरत शैक्षिकसंस्थाले यस योजनाअन्तर्गत आउने विद्यार्थीलाई अपनाउने पर्ने सावधानी तथा नियमका बारेमा जानकारी दिनेछ । विद्यार्थी आइसकेपछि उनीहरुलाई क्वारेन्टाइनको सुविधाका लागि ६ सय ५० जनाको क्षमतासहितको स्थल सिड्नीस्थित रेडफर्नमा निर्माण गरिएको छ ।

सुरुवाति चरणमा सिंगापुर, हङ्गकङ्ग, मलेसिया, जापान थाइल्यान्डलगायतका देशबाट विद्यार्थी आउने स्थानीय समाचारमाध्यमले जनाएका छन् । स्थानीय समाचारसंस्था एबीसीका अनुसार विद्यावारिधि अध्ययन गरिरहेका, आफ्नो अध्ययन पूरा गर्न लागेका तथा मेडिसिन र स्वास्थ्यसम्बन्धी विषय अध्ययन गरिरहेकालाई प्राथमिकता दिइने उल्लेख गरेको छ । यसैगरी सरकारले यो योजनाअन्तर्गत अस्ट्रेलिया भित्रिने विदेशी विद्यार्थीलाई यहाँका नागरिकबाट उठाइएको करको रकम खर्च नगरिनेसमेत स्पष्ट पारेको छ ।

कहिले आउलान् त नेपाली विद्यार्थी ?

विद्यार्थी परामर्शको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका अर्जुन थपलिया न्यु साउथ वेल्स राज्य सरकारले सुरु गरेको यो योजनाअन्तर्गत नेपाली विद्यार्थी आउने सम्भावना नरहेको बताउँछन् । ‘सरकारले लगाएका प्रारम्भिक सर्त हेर्ने हो भने पनि नेपाली पहिलो चरणमै आउने सम्भावना न्यून छ,’ उनले कान्तिपुरसँग भने । नेपालमा अस्ट्रेलियाले स्वीकृति दिएकामध्येका खोपको त्यति प्रयोग नभएको र युवा तथा विद्यार्थीहरु प्राथमिकतामा नपरिसकेका कारण उनीहरु अहिल्यै अस्ट्रेलिया आउनसक्ने सम्भावना नरहेको उनी बताउँछन् ।

‘नेपाली विद्यार्थी तेस्रो ठूलो संख्या भएकाले समेत उनीहरुको आगमन निश्चित छ तर कहिलेदेखि उनीहरु आउन पाउँछन् अहिल्यै भन्न सकिने अवस्था भने छैन्,’ थपलियाले भने । अहिले पनि हजारौं भिसा लागेर आउने पर्खाइमा रहेका विद्यार्थीलाई यहाँका सरकारी निकाय तथा आधिकारिक संस्थाको सूचनालाई मात्र आधार मान्नसमेत उनी सुझाव दिन्छन् ।

प्रकाशित : आश्विन ९, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?