कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशमा अब कोइला ऊर्जा केन्द्र नबनाउने चिनियाँ राष्ट्रपति सीको घोषणा

काठमाडौँ — चीनले विदेशमा अब कोइला ऊर्जा केन्द्र नबनाउने घोषणा गरेको छ । मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेशमा नयाँ कोइला ऊर्जा योजना नबनाउने बताएका हुन् । 

विदेशमा अब कोइला ऊर्जा केन्द्र नबनाउने चिनियाँ राष्ट्रपति सीको घोषणा

कोइला ऊर्जा केन्द्रले कार्बन उत्सर्जनको मात्रा बढाइरहेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला चिनियाँ राष्ट्रपति सीले महत्त्पूर्ण घोषणा गरेका हुन् । यद्यपि उक्त नीतिबारे पूर्ण जानकारी भने राष्ट्रपति सीले उपलब्ध गराएका छैनन् । पछिल्लो समय कार्बन उत्सर्जनको मात्रा घटाउनका लागि चीनलाई कूटनीतिक दबाब दिइएको थियो । यसअघि गत वर्ष दक्षिण कोरिया र जापानले पनि कोइला ऊर्जा केन्द्र बन्द गर्ने घोषणा गरेका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र जलवायु परिवर्तनसम्बन्धी विशेष दूत जोन केरीले पनि चीनलाई कार्बन उत्सजर्न कम गर्नका लागि आग्रह गरेका थिए । ‘ विकासशील देशहरूमा कम कार्बन उत्सर्जन र हरित ऊर्जा विकासका लागि चीनले सहयोग गर्नेछ र विदेशमा नयाँ कोइला ऊर्जा योजना बनाइनेछैन,’ सीले सम्बोधनका क्रममा भने । राष्ट्रपति सीले चीनले शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनेमा जोड दिने पनि बताए ।

अमेरिकाका पूर्वविदेशमन्त्रीसमेत रहेका केरीले चिनियाँ राष्टपतिको घोषणाको स्वागत गरेका छन् । यसले कार्बन उत्सजर्न कम गर्ने योजनामा ‘ठूलो योगदान पुर्‍याउने पनि उनको भनाइ छ । यही अक्टोबर ३१ देखि नोभेम्बर १२ मा स्कटल्यान्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन(कोप–२६) आयोजना हुँदैछ । कोप–२६ का प्रमुख आलोक शर्माले पनि राष्ट्रपति सीको घोषणाको प्रशंसा गरेका छन् । उनले आफू चीन भ्रमणमा जाँदा गरेका छलफलका विषय नै राष्ट्रपति सीबाट सम्बोधित भएको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले सन् २०३० सम्म उल्लेख्य परिणाममा कार्बन उत्सर्जन कम गर्ने सन् २०६० सम्म कार्बन तटस्थताको उद्धेश्य हासिल गर्नेमा जोड दिए । विश्वमै सबैभन्दा बढी ‘ग्रीनहाउस ग्यास’ उत्सर्जन गर्ने चीन घरेलु ऊर्जामा भने कोइलामा बढी निर्भर रहेको छ । राष्ट्रपति सीको घोषणाको राष्ट्रसंघका महासचिव गुटेरसले समेत स्वागत गरेका छन् ।

प्रकाशित : आश्विन ७, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?