कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

डब्लूटीएम लन्डन : रातो सूचीका कारण नेपाललाई सहभागिता गुम्ने चिन्ता

नवीन पोखरेल

लन्डन — नोभेम्बर पहिलो साता लन्डनमा हुने पर्यटन क्षेत्रको कुम्भमेला वर्ल्ड ट्राभल मार्ट (डब्लूटीएम) मा नेपाल यसपटक सहभागिताबाट वञ्चित हुने देखिएको छ । बेलायत सरकारले बाहिर देशबाट आउने यात्रुबाट कोभिड-१९ भेरियन्ट फैलन नपाओस् भनेर लागू गरेको यात्रा प्रतिबन्ध (रेड लिस्ट) का कारण नेपालबाट यस पटक पर्यटन बोर्डलगायत अन्य ट्राभल कम्पनीहरु सहभागी हुन नपाउने सम्भावना बढेको हो । 

डब्लूटीएम लन्डन : रातो सूचीका कारण नेपाललाई सहभागिता गुम्ने चिन्ता

अहिले रेड लिस्टमा रहेका देशबाट ब्रिटिस राहदानीवाहक, बेलायतको आवासीय भिसा भएका र विद्यार्थी बेलायत आउन पाए पनि उनीहरु अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्छ । तर, घुम्ने प्रयोजन (भिजिट भिसा) मा बेलायत आउन प्रतिबन्ध नै छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बेलायतको रेड लिष्टका कारण कोभिडपछि पर्यटन पुनरुत्थानका लागि एउटा महत्त्वपूर्ण अवसर गुम्ने अवस्था आएको बताए । ‘कोभिडले गर्दा डेढ वर्षदेखि हाम्रो पर्यटन प्रवर्द्धन हुन पाएको छैन । हामीले यही फोरमबाट धेरै लाभ लिन सक्थ्यौं तर रेड लिस्टले अन्योल भएको छ’, रेग्मीले कान्तिपुरसँग भने । यसपटक बोर्डसहित १५ निजी कम्पनीका २० जना ‘डब्लुटीएम’ मा आउने योजना छ ।

रेग्मीले नेपालमा पर्यटकीय गन्तव्य रहेका हिमाली क्षेत्रमा शतप्रतिशत र समग्रमा २० प्रतिशत जनसंख्याले कोभिडको डबल डोज खोप लगाइसकेकाले नेपाललाई रेड लिस्टबाट हटाउन कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए । ‘रेड लिस्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टाइन बस्दा एक कोठाको प्रतिव्यक्ति २२८५ पाउन्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रतिव्यक्ति १,४३० पाउन्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्८ तिर्नुपर्नेछ । पाँच वर्षमुनिकालाई नि:शुल्क छ । होटल क्वारेन्टाइन नियम उल्लंघन गरे १० हजार पाउन्डसम्म जरिवाना र जेल सजाय छ । यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोश्रो र आठौं दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ रिजल्ट पेस गर्नुपर्नेछ ।

आउँदो नोभेम्बर १ देखि ३ तारिखसम्म लन्डनको एक्सेल एक्जिबिसिन सेन्टरमा हुन गइरहेको प्रत्यक्ष वर्ल्ड ट्राभल मार्टमा विश्वभरबाट झन्डै ५० हजार बढी सहभागी हुन्छन् । कम्तीमा ७० देशका पर्यटनमन्त्री र तीन हजार बढी अन्तर्राष्ट्रिय मिडियाहरुको पनि सहभागिता रहन्छ । यसपटक करिब २० युरोपेली मुलुकले पनि भाग लिने तय छ ।

वर्ल्ड ट्राभल मार्ट आईटीबी बर्लिनपछि पर्यटन व्यवसायीहरुको दोस्रो ठूलो विश्व मेला मानिन्छ । यहाँ संसारभरिका टुर अपरेटर, ट्राभल एजेन्टहरु, डेस्टिनेसन म्यानेजमेन्ट कम्पनी, प्रविधि पार्टनर, विमानसेवा, विभिन्न देशका पर्यटन निकायलगायतले भाग लिन्छन् । ‘डब्लूटीएम’ मा सहभागी भएर आफ्ना ग्राहकहरुसंग सम्बन्ध सुदृढ गर्ने र नयां ग्राहक खोज्ने सरकारी तथा निजी क्षेत्रका सहभागीहरुको उद्धेश्य हुन्छ । सो मार्टमा भाग लिन नेपालबाट पर्यटन बोर्ड र निजी क्षेत्रका विभिन्न नेपाली कम्पनीहरुले बर्सेनि भाग लिँदै आएका थिए । गत वर्ष भने कोभिड महामारीका कारण मेला भएन ।

कोभिड-१९ महामारी अघिसम्म बेलायतबाट बर्सेनि ६० हजार बढी बेलायती पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०१८ मा ६३ हजार ४ सय ६६, सन् २०१९ मा ६१ हजार १ सय ४४, सन् २०२० मा ११ हजार ७६२ र सन् २०२१ को अगस्टसम्म २ हजार ५७४ बेलायती पर्यटक नेपाल पुगेका छन् ।

दक्षिण एसियामा नेपालमात्र 'रेड लिस्ट' मा

दक्षिण एसियाली मुलुकमा नेपालमात्र बेलायतको रेड लिस्टमा छ भने कुल देशको संख्या ५४ छ । तर, नेपालमा संक्रमणदर घटिरहेको, खोप वितरण तीव्र, नयाँ भेरियन्ट नदेखिएको अवस्थामा पनि नेपाल रेड लिस्टमा पर्नु विडम्बना मान्छन् बेलायतको हडर्सफिल्ड युनिभर्सिटीमा ग्लोबल हेल्थका प्राध्यापक तथा एसोसिएसट डिन डा. पदम सिम्खडा । नेपालमा कुल जनसंख्याको झन्डै १९ प्रतिशतले खोप लगाइसकेका छन् जबकि बंगलादेशमा झन्डै ९ प्रतिशत र पाकिस्तानमा ११ प्रतिशतले मात्र खोप लगाएका छन्। नेपालबाट आएका हरेक १०० जना यात्रुमध्ये २ प्रतिशत भन्दा कममा कोरोना भाइरस संक्रमण पाइयो जबकि बंगलादेश र श्रीलंकामा यो २.६ प्रतिशत भन्दा बढी छ।

त्यस्तै नेपालमा देखिएको डेल्टा भेरियन्ट दक्षिण एसियाका अरु मुलुकहरुमा जस्तै छ। तर दक्षिण एसियाली मुलुकमध्ये नेपाल मात्रै ब्रिटेनको 'रेड लिस्ट' मा छ। 'डेटाको आधारमा हेर्दा पनि नेपाललाई 'रेड लिस्ट' मा राखी राख्ने कुनै भरपर्दो कारण देखिँदैन, त्यसैले जति सक्दो चाँडो कूटनीतिक माध्यमबाट ब्रिटेनसँग पहल गर्नु पर्छ,' प्राध्यापक सिम्खडाले भने।

यस्तै गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेमगाहा मगरले कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि रातो सूचीमा राख्नु अव्यावहारिक भएको बताए । उनले नेपाललाई कोभिड–१९ को रेड लिस्टबाट हटाउन ब्रिटिस यातायात मन्त्रीलाई पत्र पठाएको पनि जानकारी दिए ।

प्रकाशित : आश्विन ७, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?