कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

सुहेल साहिन संयुक्त राष्ट्रसंघका लागि तालिबानका ‘नयाँ राजदूत’

महासभामा सम्बोधन गर्ने व्यवस्था मिलाइदिन महासचिवसँग तालिबानको माग

काठमाडौँ — तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनको व्यवस्था मिलाउन महासचिव एन्टोनियो गुटेरसलाई पत्र पठाएको छ । सोमबार महासचिव गुटेरसलाई पत्र पठाएर विश्वका प्रमुख नेताहरूका सामु आफ्ना कुरा राख्ने अवसर मिलाइदिन तालिबानले आग्रह गरेको हो । त्यस्तै तालिबानले संयुक्त राष्ट्रसंघका लागि अफगानिस्तानको राजदूतमा सुहेल साहिनलाई मनोनीत गरेको पनि जनाएको छ ।

सुहेल साहिन संयुक्त राष्ट्रसंघका लागि तालिबानका ‘नयाँ राजदूत’

सुहेल खान दोहामा बसेर तालिबानको प्रवक्ताको भूमिका निर्वाह गरिरहेका छन् । तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले महासचिव गुटेरसलाई पत्र लेखेर महासभामा सम्बोधन गर्न चाहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार गुटेरसका प्रवक्ता फरहान हकले मुत्ताकीले पत्र पठाएको पुष्टि गरेका छन् । अहिले गुलाम इसाक्जई संयुक्त राष्ट्रसंघका लागि अफगानिस्तानका राजदूतका रूपमा रहेका छन् । तालिबानको पत्रमा भनिएको छ, ‘इसाक्जईको मिसन पूरा भएको छ । अब उनले अफगानिस्तानको प्रतिनिधित्व गर्ने छैनन् । ’

किन रद्द भयो सार्क परराष्ट्रमन्त्रीस्तरीय 'साइडलाइन' बैठक ?

अफगानिस्तानको पत्र अमेरिका, रुस र चीनसमेत रहेको ९ सदस्यीय प्रमाणीकरण समितिलाई पठाइएको हकले जानकारी दिएको छ । यस विषयमा समितिले तत्काल निर्णय गर्ने अवस्था नदेखिएकाले तालिबानले विश्वमञ्चमा सम्बोधन गर्ने अवसर पाउने देखिँदैन ।

समितिले निर्णय नगरेमा इसाक्जइले नै महासभाको अन्तिम दिन सेप्टेम्बर २७ मा सम्बोधन गर्ने सम्भावना रहेको छ । तालिबानको पत्रका बारेमा सदस्य राष्ट्रहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । उक्त समितिका अन्य सदस्यमा बहमास, भुटान, चिली, नामिबिया, सियरा लियोन र स्विडेन रहेका छन् ।

संयुक्त राष्ट्रसंघका लागि नयाँ राजदूत मनोनीत गरेर कट्टरपन्थी मानिने तालिबानले अन्तर्राष्ट्रिय मान्यता पाउनका लागि कदम चालेको छ । लामो समयदेखि युद्धले ग्रस्त अफगानिस्तानको अर्थतन्त्र उकास्नका लागि पनि अन्तर्राष्ट्रिय सहायता आवश्यक रहेको छ ।

यसअघि सन् १९९६ देखि २००१ सम्म तालिबान सरकार रहेका बेला राष्ट्रसंघको महासभासम्बन्धी प्रमाणीकरण समितिले मान्यता नदिएका कारण पुरानै सरकारका राजदूतहरू कायम रहेका थिए ।

- यसअघिको समाचारमा सुहेल साहिन हुनेपर्नेमा सुहेल खान हुन गएकाले सच्याइएको छ ।

प्रकाशित : आश्विन ६, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?