कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

छिट्टै नै छात्राहरूलाई विद्यालय जाने अनुमति दिन्छौँ : तालिबान

काठमाडौँ — अफगानिस्तानमा तालिबानले छात्राहरूलाई जतिसक्दो चाँडो विद्यालय जाने व्यवस्था मिलाउने बताएको छ । मंगलबार राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले छिट्टनै छात्राहरूलाई विद्यालय जान अनुमति दिइने बताएका हुन् ।

छिट्टै नै छात्राहरूलाई विद्यालय जाने अनुमति दिन्छौँ : तालिबान

पत्रकार सम्मेलनमा उनले भने, 'हामी यसलाई अन्तिम रूप दिइरहेका छौँ । जति चाँडो हुन्छ हामीले यसको प्रबन्ध मिलाउनेछौँ ।' तालिबान सरकारको शिक्षा मन्त्रालयले माध्यमिक विद्यालयका शिक्षक र छात्रलाई विद्यालय आउन निर्देशन दिएको छ । तर छात्रा र महिला शिक्षकका बारेमा भने तालिबानले केही निर्णय गरेको छैन ।

त्यस्तै तालिबानले केही रिक्त मन्त्रालयमा पनि जिम्मेवारी दिइएको बताएको छ । यसअघि अन्तरिम मन्त्रिपरिषद् घोषणा गर्दा पनि महिलालाई समावेश नगरेको तालिबानले यस पटक पनि कुनै महिला अनुहार समेट्न सकेन ।

गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । मुलुकलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो । तालिबानी सरकारका सदस्य सबै पुरुष छन् । त्यस्तै मन्त्रीमण्डलमा विश्वका विभिन्न देशले आतंककारीको सूचीमा राखेको हक्कानी नेटवर्कका सदस्यसमेत रहेका छन् ।

त्यस्तै सरकारी कर्मचारीलाई तलब दिनका लागि आफूहरूसँग बजेट रहेको पनि प्रवक्ता मुजाहिदले बताएका छन् । केही दिनमा कर्मचारीलाई तलब दिइने व्यवस्था मिलाइएको पनि उनको दाबी छ ।

प्रकाशित : आश्विन ५, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?