१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

क्यानडाको मध्यावधि चुनावमा ट्रुडोले पाएनन् बहुमत

ठूलो पार्टीका रूपमा ट्रुडोको लिबरल पार्टी सत्तामा भने रहने

काठमाडौँ — क्यानडामा सोमबार भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले जित हात पारेको छ ।समयअगावै ट्रुडोले मध्यावधि निर्वाचन गराए पनि उनको पार्टीले बहुमत हासिल भने गर्न सकेन ।  सन् २०१५ देखि सत्तामा रहेका ट्रुडोको पार्टी पुन: ठूलो पार्टीका रूपमा आएको छ ।

क्यानडाको मध्यावधि चुनावमा ट्रुडोले पाएनन् बहुमत

कोरोना महामारी नियन्त्रण, महामारीका बीच व्यावसायिक प्रतिष्ठान र नागरिकलाई गरेको सहयोगका बलमा बहुमत प्राप्त गर्ने उद्धेश्यसहित मध्यावधि निर्वाचनमा गए पनि ट्रुडो सफल भएनन् । लिबरल पार्टीलाई टक्कर दिँदै इरिन ओ टुलको कन्जरभेटिभ पार्टी दोस्रो स्थानमा रहने भएको छ ।

क्यानडेली सञ्चारमाध्यम सीबीसी र सीटीभीका अनुसार तल्लो सदन हाउस अफ कमन्समा लिबरल पार्टीले १५६ सिटमा जित हात पार्ने भएको छ । ट्रुडोको पार्टीले सदनमा अन्य दलको समर्थनमा सरकार बनाउनुपर्नेछ । ३३८ सिट रहेको हाउस अफ कमन्समा सरकार बनाउनका लागि १७० सिट आवश्यक पर्छ । कन्जरभेटिभले भने १२२ सिटमा जित हात पार्ने देखिएको क्यानडेली सञ्चारमाध्यमले जनाएक छन् ।

न्यु डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंह । तस्बिर : रोयटर्स

त्यस्तै वामपन्थी दल न्यु डेमोक्रेटिक पार्टीले २९ सिटमा जित हात पार्ने देखिएको छ । सत्ता गठबन्धनमा रहेको जगमीत सिंहको पार्टीले गत चुनावमा भन्दा ५ सिट बढी जित्ने भएको हो । डेमोक्रेटिक पार्टीले ट्रुडोलाई नै समथर्न गर्ने भएकाले सरकार भने परिवर्तन हुने छैन ।

४९ वर्षीय ट्रुडो क्यानडेली जनतामाझ निकै लोकप्रिय रहेका छन् । उनी पूर्वप्रधानमन्त्री पिएरे ट्रुडोमा छोरासमेत हुन् । कोरोना महामारीले प्रभावित अर्थतन्त्र उकास्न नयाँ आर्थिक नीतिसहित अगाडि बढ्ने वाचासहित ट्रुडोले मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।

प्रकाशित : आश्विन ५, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?