१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘तालिबान सरकारमा चुलियो विवाद, उपप्रधानमन्त्री बरादरले छाडे काबुल’

काठमाडौँ — अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ । बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एक जना मन्त्रीबीच भनाभन भएको छ । केही दिनदेखि बरादर सार्वजनिक रूपमा देखिएका पनि छैनन् ।

‘तालिबान सरकारमा चुलियो विवाद, उपप्रधानमन्त्री बरादरले छाडे काबुल’

त्यसैले पनि तालिबानमा नेतृत्वलाई लिएर व्यापक असहमति रहेको कुरा सतहमा आएको छ । तर तालिबानले भने नेतृत्वबीच कुनै विवाद नभएको दाबी गरेको छ ।

गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । मुलुकलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो । तालिबानी सरकारका सदस्य सबै पुरुष छन् । त्यस्तै मन्त्रीमण्डलमा विश्वका विभिन्न देशले आतंककारीको सूचीमा राखेको हक्कानी नेटवर्कका सदस्यसमेत रहेका छन् ।

तालिबान सूत्रले बीबीसीको पश्तो सेवालाई दिएको जानकारीअनुसार केही दिनअघि बरादर र खलील उर रहमानबीच भनाभन भएको थियो । दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकापसमा भिडेका थिए । खलील उर रहमान आतंकवादी संगठन हक्कानी नेटवर्कका नेता हुन् । उनलाई सरकारमा शरणार्थी मामिलासम्बन्धी मन्त्रीको जिम्मेवारी दिइएको छ ।

उक्त वादविवाद प्रत्यक्ष देखेका तालिबानका एक शीर्ष नेताले बीबीसीलाई घटनाबारे जानकारी दिएका हुन् । बरादर तालिबान सरकारको संरचनालाई लिएर खुसी नभएको बताइएको छ । उनलाई अन्तरिम सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अफगानिस्तानमा मुल्लाह मोहम्मद हसन अखुंदलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको छ ।

अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुंद ।

अफगानिस्तानमा तालिबानको जितको श्रेय कसले लिने भन्नेबारेमा शीर्ष नेताबीच होडबाजी चलेको छ । बरादरले आफ्नो कूटनीति र रणनीतिका कारण नै सत्ता कब्जा सफल भएको मान्दै आएका छन् । त्यस्तै हक्कानी नेटवर्कले भने आफ्नो बलबुतामा सत्ता हात परेको दाबी गर्दै आएको छ । हक्कानी नेटर्वकले तालिबानी शीर्ष नेताको मातहतमा नै आफ्ना गतिविधि गर्दै आएको छ ।

सन् २०२० मा बरादर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुरा गर्ने पहिलो तालीबानी नेता हुन् । त्यसअघि अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताबारेको दोहा सम्झौतामा उनले तालिबानका तर्फबाट हस्ताक्षर गरेका थिए ।

अर्कोतर्फ पछिल्ला केही वर्षयता अफगानिस्तानमा अमेरिकी नेतृत्वको विदेशी सैन्य दस्तामाथि आक्रमण गर्दै हक्कानी नेटवर्कले आफ्नो प्रभाव देखिएको थियो । अमेरिकाले उक्त समूहलाई आतंकवादी संगठनको सूचीमा समेत राखेको छ । यस समूहका नेता सिराजुद्धीन हक्कानीलाई नयाँ सरकारमा गृहमन्त्रीको समेत जिम्मेवारी दिइएको छ ।

अफगानिस्तानमा तालिबान सरकारको नेतृत्व नै गर्ने सम्भावना रहेका भनिएका बरादर सार्वजनिक रूपमा नदेखिएपछि आन्तरिक विवादबारे चर्चा भएको हो ।सामाजिक सञ्जालमा त उनको मृत्यु भएको हल्लासमेत फैलाइयो । बीबीसीले तालिबानी उच्च स्रोतलाई उद्धृत गर्दै बरादरले राजधानी काबुल छाडिसकेको बताएको छ । उनी काबुलबाट कन्दाहार गएको पनि बीबीसीले जनाएको छ । सोमबार बरादरको नाममा सार्वजनिक एक अडियो टेपमा उनी यात्राका क्रममा राजधानीबाहिर रहेको र सकुशल रहेको बताइएको छ ।

तालिबानका एक जना प्रवक्ताले भने शीर्ष नेतासँगको भेटघाटका लागि बरादर कन्दाहार गएको दाबी गरेका छन् । तालिबानका सर्वोच्च नेता हिब्तुल्लाह अंखुदजादा कन्दाहारमा रहेको बताइएको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?