१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तालिबानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

एएफपी

काबुल — अफगानिस्तानमा तालिबानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिबानको  सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिबन्ध लगाउने आशंकाकाबीच उनीहरुले विश्वविद्यालय जान दिने बताएका हुन् ।

तालिबानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

तर एउटै कोठामा छात्रा र छात्रलाई सँगै राख्न भने नपाइने तालिबान सरकारका उच्च अधिकारीहरुले जनाएका छन् । विश्वविद्यालयहरुमा महिलालाई पुरुषहरुभन्दा छुट्टै राख्न तालिवान सरकारका नयाँ शिक्षा मन्त्रीले निर्देशन दिएका छन् । विश्वविद्यालयमा छात्रालाई पनि जान दिने निर्णयलाई तालिबानको यसअघि सन् १९९६ देखि २००१ सम्मको शासन व्यवस्थाभन्दा लचक हुने संकेतका रुपमा लिइएको छ ।

अघिल्लो शासनकालमा अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइएको थियो । विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा पोसाकसम्बन्धी नयाँ नियम लागू पनि गरिने तालिबानले जनाएको छ ।

उच्च शिक्षासम्बन्धी मन्त्री अब्दुल बाकी हक्कानीले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि जानकारी दिए । तालिबानले महिलाहरूलाई शिक्षा र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । तर गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म स्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न निर्देशन दिएको छ ।

तालिबानको अघिल्लो पटकको आफ्नै शासनकालमा भन्दा केही लचक भए पनि निवर्तमान सरकारभन्दा अहिलेको सरकार कठोर देखिएको छ । तालिबानले झन्डै एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । प्रदेश राजधानीहरु कब्जा गर्दै केन्द्रीय राजधानी कब्जा गर्न लागेपछि तत्कालिन राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेपछि सत्ता तालिबानको हातमा आएको हो ।

उनीहरुले अहिले कामचलाउ सरकार बनाएका छन् भने अरु धेरै कामहरुमा अन्यौल देखिएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?