विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानद्वारा पत्रकारमाथि कुटपिट- विश्व - कान्तिपुर समाचार

विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानद्वारा पत्रकारमाथि कुटपिट

कान्तिपुर संवाददाता

काठमाडौँ — विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । 

कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर ताकी दरयाबी र फोटोपत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले कुटपिट गरेका हुन् । उनीहरूले बुधबार काबुलमा भएको महिलाहरूको विरोध प्रदर्शनको रिपोर्टिङ गरेका थिए । उनीहरूलाई तालिबानले प्रदर्शनस्थलबाटै नियन्त्रणमा लिएर प्रहरी चौकीमा लगेका थिए । चौकीमै उनीहरूलाई लट्ठी, बिजुलीका तार र कोर्राले हिर्काइएको थियो । केही घण्टापछि कुनै जानकारीबिना उनीहरूलाई छाडिएको थियो ।

दरयाबीले बीबीसी संवाददाता सिकन्दर किरमानीसँगको कुराकानीमा आफूलाई कोठामा लगेर हात बाँधेर कुटिएको जानकारी दिएका छन् । उनले भने, ‘मलाई अर्को कोठामा लगेर पछाडि हात बाँधेर कुटे । मैले प्रतिवाद गरिनँ किनभने त्यसो गरेको भए उनीहरूले मलाई अझ कुट्थे ।’ तालिबानको आठ जनाको समूहले उनीहरूलाई कुटपिट गरेको थियो ।

त्यस्तै नेमतुल्लाह नकदीले विरोध प्रदर्शनकारीको तस्बिर खिचिरहेका बेला तालिबान लडाकुले आफ्नो क्यामेरा खोसेको बताएका छन् । उनीहरूले आफ्नो टाउको खुट्टाले कुल्चिएको पनि उनले बताए । अन्तर्राष्ट्रिय गैरसकारी संस्था सीपेजीका अनुसार पछिल्लो दुई दिनमा तालिबानले १४ जना पत्रकारलाई नियन्त्रणमा लिएर छाडेको छ ।

प्रकाशित : भाद्र २५, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्

शुक्रबार पनि एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै  शुक्रबारको बैठक पनि अवरुद्ध पारेका छन् । बैठक सुरु हुनेबित्तिकै सभामुखको डायसअघि भेला भएर नाराबाजी गरेका छन् । यसअघि गत बुधबार पनि एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरुद्ध पारेका थिए । 

सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी दल एमालेले उठाएको विषयमा संसदमा छलफल हुनसक्ने बताएका छन् । दोस्रो बैठक सुरु हुनेबित्तिकै नाराबाजीमा उत्रिएका एमालेले पार्टी अनुशासनविपरीत गएको भन्दै कारबाही गरिएका सांसदरुलाई सांसद पदबाट हटाउनु पर्ने माग गर्दै आएको छ । 'संविधानको धारा १०५ ले अदालतमा विचाराधीन रहेको मुद्दाको न्याय निरुपण गर्नलाई प्रभावित गर्ने विषयमा बहस छलफल गर्न गर्न बन्देज लगाएको छ,' सापकोटाले भने, 'यो विषय अदालतमा विचाराधीन रहेको छ । त्यसैले छलफल हुँदैन ।'

तस्बिरहरु : अंगद ढकाल/कान्तिपुर

एमालेका सांसदहरुलाई अवरोध अन्त्य गर्नका लागि आग्रह गर्दै सापकोटाले भने, 'बाढी पहिरोलगायत अन्य जल्दाबल्दा विषयमा अन्य माननीय सांसदहरुलाई सांसदमा उठाउन र छलफल गर्न चाहनु भएको छ ।' एमालेले विरोध जनाइरहेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

यसअघि बुधबारको बैठक एमालेले अवरोधका कारण दुई पटक स्थगित गरिएको थियो । तेस्रो बैठकामा गृहमन्त्री बालकृष्ण खाँणले अवरोधका बीच राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गरेका थिए । त्यसपछि सभामुखे शुक्रबारका लागि अर्को बैठक बोलाइएको जानकारी सभालाई गराएका थिए ।

एमालेले भदौ १ गते संसद् सचिवालयमा एमालेका १४ जना सांसदमाथि कारबाही गरेको जानकारी दिएपनि त्यसलाई अघि नबढाएर सभामुखले भेदभावपूर्ण निर्णय गरेको आरोप लगाउँदै आएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमवलीको नियम २१ को 'ख', 'ग' र 'घ' को पालना गर्न पनि आग्रह गरेका थिए ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग, र घ मा निम्नानुसारको व्यवस्था गरिएको छ ।

छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम :- बैठकमा हुने छलफलमा भाग लिने सदस्यले देहायका नियमको पालन गर्नु पर्नेछ :–

(क) सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्ने,

(ख) सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने,

(ग) सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको

आलोचना गर्न नहुने,

(घ) संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने,

(ङ) अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति,

जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न नहुने, र

(च) बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने ।

प्रकाशित : भाद्र २५, २०७८ १३:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×