७ महिनापछि अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच कुराकानी

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन कुराकानी भएको छ । दुई जनाबीच ७ महिनापछि कुराकानी भएको हो ।

७ महिनापछि अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच कुराकानी

ह्वाइट हाउसबाट जारी एक वक्तव्यका अनुसार ‘आपसी हित र रणनीतिक साझेदारी’ विषयमा दुई राष्ट्रपतिबीच छलफल भएको थियो । बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि सीसँग कुरा गरेको यो दोस्रो पटक हो ।

पछिल्लो समय दुई देशबीच कोरोना महामारी, व्यापार र जासुसीका विषयलाई लिएर सम्बन्ध बिग्रिएको छ । कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले दुई देशबीच विभिन्न क्षेत्रमा रहेको प्रतिस्पर्धालाई व्यवस्थित ढंगले अगाडि बढाउने बताएका थिए । ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने सुनिश्चितताका लागि जिम्मेवार ढंगले अगाडि बढ्ने दुई नेताबीच कुराकानी भएको छ ।’

यसै वर्षको सुरुमा अमेरिकी र चिनियाँ अधिकारीबीचको भेटवार्ता सुमधुर हुन सकेको थिएन । दुवैले एकअर्कालाई आरोप लगाएका थिए । चीनले अमेरिकामाथि ‘चीनमाथि आक्रमण’ का लागि विभिन्न देशलाई उक्साएको आरोप लगाएको थियो । त्यस्तै अमेरिकाले अन्य देशको ध्यान आफूतर्फ तान्न उक्त आरोप लगाएको बताएको थियो ।

प्रकाशित : भाद्र २५, २०७८ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?