खाद्यान्‍न अभावपछि श्रीलंकामा संकटकाल

इकान्तिपुर डेस्क

काठमाडौँ — श्रीलंकामा खाद्यान्‍न अभाव र मूल्य उकासिएपछि त्यहाँ राष्ट्रपति गोतबया राजपक्षेले लगाएको संकटकाल संसद्‌ले अनुमोदन गरेको छ । 

खाद्यान्‍न अभावपछि श्रीलंकामा संकटकाल

राष्ट्रपति राजपक्षेले खाद्यान्‍नको अभाव हुन नदिन र आपूर्ति सहज बनाउनुपर्ने भन्दै अगस्ट ३०मा मुलुकभर संकटकाल घोषणा गरेका थिए । उनले खाद्यान्‍नको मूल्य निर्धारण गर्नुपर्ने र अवस्था सहज बनाउनभन्दै संकटकाल घोषणा गरेका थिए ।

त्यहाँका प्रतिपक्ष सांसदहरुले अन्य कानुन लगाएर भएपनि आपूर्ति सहज बनाउने सकिने अवस्था हुँदाहुँदै संकटकाल लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

श्रीलंकाको संविधान अनुसार संकटकाल घोषणा भएको १४ दिनभित्र संसद्बाट अनुमोदन गराउनुपर्छ । २२५ सदस्य रहेको त्यहाँको संसद्मा राष्ट्रपतिले लगाएको संकटकालको पक्षमा १३२ मत र विपक्षमा ५१ मत खसेको अलजजिराले जनाएको छ ।

केही हप्तायता श्रीलंकामा ग्यास, चिनी, दूध पाउडरलगायतका खाद्यान्‍न तथा अन्य सामग्रीहरु अभाव हुँदै आएको छ । सरकारले आवश्यकताभन्दा बढी खाद्यन्न खपत बढेपछि अभाव भएको बताउँदै आएको छ ।

संकटकाल घोषणापछि सरकारले जोकोहीले सोधपुछ गर्न, वारेन्ट जारी गर्न, सम्पत्तिमा अधिग्रहण, खानतलासीलगायतका कार्यहरु गर्न अदालतको अनुमति लिइराख्नु पर्दैन । संकटकालका बेला गरिने त्यस्ता काममा अदालतले समेत प्रश्न नगर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पर्यटन उद्योग र निर्यातमा कमी आएसँगै श्रीलंकाको वैदेशिक मुद्रा सटहीमा कमी आएको छ । विदेशी ऋणको मारमा समेत श्रीलंका परेको छ ।

प्रकाशित : भाद्र २२, २०७८ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?