पंजशीर उपत्यका पूर्ण रूपमा कब्जा गरेको तालिबानको घोषणा

एजेन्सी

काबुल — तालिबानले अफगानिस्तानमा पंजशीर उपत्यका कब्जामा आएको घोषणा गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पंजशीर उपत्यका पूर्ण रुपमा आफूहरूको कब्जामा आएको बताएका हुन् ।

पंजशीर उपत्यका पूर्ण रूपमा कब्जा गरेको तालिबानको घोषणा

राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मुजाहिदले पंजशीर पूर्ण रूपमा कब्जामा आएको बताएका हुन् । 'उपत्यका पूर्ण रुपमा हाम्रो नियन्त्रणमा आएको छ,' उनले भने ।

प‌ंजशीरमा तालिबानलाई रोक्न सैन्य गतिविधि सञ्चालन गर्दै आएको नेसनल रेसिस्टेन्स फोर्स(एनआरएफ) सँग वार्ताको प्रयास सफल नभएको उनले बताए । वार्ताका लागि आफूहरूले प्रयास गर्दा एनआरएफले नकारात्मक उत्तर दिएको उनको दाबी थियो ।

तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले मुलुक छाडेर भागेको दाबी गरेको छ । यसअघि केही दिनअघि पनि तालिबानले त्यही दाबी गरेको थियो । तर सालेहले उक्त दाबीको खण्डन गरेका थिए । सालेहले केही दिनदेखि पंजशीरमा एनआरएफलाई साथ दिँदै आएका थिए ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिद । तस्बिर : एएफपी

तालिबान प्रवक्ता मुजाहिदका अनुसार प‌ंजशीर कब्जाका क्रममा सर्वसाधारणको मृत्यु नभएको दाबी गरे । सोमबारदेखि उपत्यकामा बिजुली, इन्टरनेटलगायतका सेवा पुन: सुरु गरिने तालिबानले बताएको छ । यसअघि तालिबानले फोन, इन्टरनेट, बिजुलीको लाइन काटिदिएको थियो ।

राजधानी काबुलबाट एक घण्टाको दूरीमा रहेको यो उपत्यका तालिबानको कब्जाबाहिर रहेको एक मात्र प्रान्त थियो । सन् १९९६ देखि २००१ सम्म तालिबानले सरकार चलाउँदा पनि पंजशीर उनीहरुको नियन्त्रणबाहिर रहेको थियो । त्यतिबेला पनि पंजशीरमा नर्दन एलायन्सले तालिबानलाई कडा चुनौती दिएको थियो ।

पंजशीर अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो । यहाँ करिब २ लाख मानिसको बसोबास रहेको छ । उपत्यकाको बीचबाट पंजशीर नदी बग्दछ । चारैतर्फ ९ हजार ८ सय फीट उचाइका पहाडले घेरिएको छ पंजशीर । यहाँ सबैभन्दा बढी ताजिक मूलका मानिसको बसोबास रहेको छ । बाहिरका मानिसहरूसँग बहादुरीपूर्वक लडेका कारण उनीहरु सधैं चर्चामा रहँदै आएका छन् । विभिन्न रत्न र खानीका कारण उपत्यका पछिल्लो दुई दशकमा ठूलो लगानी भएको बताइन्छ ।

अहमद मसूद । फाइल तस्बिर : रोयटर्स

तालिबानको विरोध गरिरहेको एनआरएफमा अफगानिस्तानको सुरक्षा फौजमा रहेका सुरक्षाकर्मी र स्थानीय लडाकु समावेश छन् । उक्त समूहको नेतृत्व स्थानीय आदिवासी नेता अहमद मसूदले गरेका छन् । उनका बुवा अहमद साह मसूद सन् १९८० को दशमा सोभियत संघ र सन् १९९०को दशकमा तालिबानविरुद्ध सशक्त रुपमा लडेका थिए ।

सन् २००१ को सेप्टेम्बर ११ को घटना हुनु दुई दिनअघि उनको हत्या भएको थियो । त्यसपछि पंजशीरमा उनका छोराले राम्रो समर्थन प्राप्त गर्दै आएका छन् । ३२ वर्षीय अहमदले किंग्स कलेज लन्डन र स्यान्डहर्स्ट मिलिटरी एकेडमीबाट उच्च शिक्षा हासिल गरेका छन् ।

प्रकाशित : भाद्र २१, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?