कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पंजशीर उपत्यका कब्जा गरेको तालिबानको दाबी

एनआरएफ भन्छ : तालिबानले नै आत्मसमर्पण गर्दैछन्
इकान्तिपुर डेस्क

काठमाडौँ — तालिबानले पंजशीर उपत्यका पनि आफ्नो कब्जामा आएको दाबी गरेको छ । तर अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले भने उक्त दाबी झुटो भएको बताएका छन् । 

पंजशीर उपत्यका कब्जा गरेको तालिबानको दाबी

तालिबानले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग पंजशीर आफ्नो कब्जामा आएको दाबी गरेको हो । पंजशीरमा तालिबानको विरोध गरिरहेको नेसनल रेसिस्टेन्स फ्रन्ट(एनआरएफ) मा हालै सामेल भएका पूर्वउपराष्ट्रपति सालेहले भने अवस्था निकै कठिन भए पनि तालिबानले उपत्यकामा कब्जा नगरेको बताएका छन् । उनले आफू त्यहाँबाट भागेको भन्ने कुरालाई पनि नकारेका छन् ।

शुक्रबारदेखि पंजशीरमा तालिबान र एनआरएफबीच संघर्ष जारी रहेको र सयौं मानिसको मृत्यु भएको बताइएको छ । बीबीसीलाई पठाएको भिडियो सन्देशमा पूर्वउपराष्ट्रपति सालेहले दुवै पक्षका मानिस मारिएको र केही घाइते भएको बताएका छन् । उनले भिडियोमा भनेका छन्, ‘यसमा कुनै सन्देह छैन कि हामी कठिन अवस्थामा छौं । तालिबानले लगातार हामीमाथि आक्रमण गरिरहेका छन् ।’

उनले तालिबानसामु आफूहरुले आत्मसमपर्ण नगर्ने पनि बताएका छन् । ‘हामीले आत्मसमर्पण गर्दैनौँ । हामी अफगानिस्तानका लागि एक ठाउँमा उभिन्छौं,’ उनले भने । आफूले देश छाडेर भागेको भन्ने खबर झुटो भएको भन्दै उनले आफू पंजशीरमै रहेको पनि बताएका छन् ।

प‌ंजशीर उपत्यका । फाइल तस्बिर : विश्व बैंक

बीबीसीले भने उक्त भिडियो कहाँ पठाएको भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको जनाएको छ । एनआरएफका प्रवक्ता अली नजरीले बीबीसीसँगको कुराकानीमा विद्रोहीले तालिबानलाई धक्का दिएको बताएका छन् । उनले केही सयको संख्यामा रहेका तालिबान लडाकु फसिरहेको र उनीहरुसँग हतियार पनि कम रहेको बताएका छन् । त्यस्तै तालिबानले आत्मसमर्पणको सर्तका बारेमा पनि कुराकानी गरिरहेको पनि प्रवक्ता नजरीले दाबी गरिरहेका छन् ।

अहमद मसूद । फाइल तस्बिर : रोयटर्स

राजधानी काबुलबाट एक घण्टाको दूरीमा रहेको यो उपत्यका तालिबानको कब्जाबाहिर रहेको एक मात्र प्रान्त हो । सन् १९९६ देखि २००१ सम्म तालिबानले सरकार चलाउँदा पनि पंजशीर उनीहरुको नियन्त्रणबाहिर रहेको थियो । त्यतिबेला पनि पंजशीरमा नर्दन एलायन्सले तालिबानलाई कडा चुनौती दिएको थियो ।

पंजशीर अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो । यहाँ करिब २ लाख मानिसको बसोबास रहेको छ । उपत्यकाको बीचबाट पंजशीर नदी बग्दछ । चारैतर्फ ९ हजार ८ सय फीट उचाइका पहाडले घेरिएको छ पंजशीर । यहाँ सबैभन्दा बढी ताजिक मूलका मानिसको बसोबास रहेको छ । बाहिरका मानिसहरूसँग बहादुरीपूर्वक लडेका कारण उनीहरु सधैं चर्चामा रहँदै आएका छन् । विभिन्न रत्न र खानीका कारण उपत्यका पछिल्लो दुई दशकमा ठूलो लगानी भएको बताइन्छ ।

तस्बिर : एएफपी

तालिबानको विरोध गरिरहेको एनआरएफमा अफगानिस्तानको सुरक्षा फौजमा रहेका सुरक्षाकर्मी र स्थानीय लडाकु समावेश छन् । उक्त समूहको नेतृत्व स्थानीय आदिवासी नेता अहमद मसूदले गरेका छन् । उनका बुवा अहमद साह मसूद सन् १९८० को दशमा सोभियत संघ र सन् १९९०को दशकमा तालिबानविरुद्ध सशक्त रुपमा लडेका थिए ।

सन् २००१ को सेप्टेम्बर ११ को घटना हुनु दुई दिनअघि उनको हत्या भएको थियो । त्यसपछि पंजशीरमा उनका छोराले राम्रो समर्थन प्राप्त गर्दै आएका छन् । ३२ वर्षीय अहमदले किंग्स कलेज लन्डन र स्यान्डहर्स्ट मिलिटरी एकेडमीबाट उच्च शिक्षा हासिल गरेका छन् ।

-बीबीसी र विभिन्न एजेन्सीहरूको सहयोगमा

प्रकाशित : भाद्र १९, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?